१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

दुर्गमका विद्यालय : वर्षमा २ महिना मात्र पढाइ

अर्धवार्षिकपछि बन्द, वार्षिक परीक्षाका बेला खुल्छन् 

बझाङ — साइपाल गाउँपालिकाको धलौन माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने कविता धामी कात्तिकको १५ देखि नै फुर्सदमा छिन् । अर्धवार्षिक परीक्षा दिएर हिउँदे बिदा भएको उनको स्कुल एकै पटक फागुनको १६ गते मात्र खुल्नेछ । त्यसैले उनी लामो बिदा मनाउन सदरमुकाम झरेकी छन् । 

‘अर्धवार्षिक परीक्षा दिएपछि बिदा दिएका हुन्,’ उनले भनिन्, ‘अब वार्षिक परीक्षाको बेला मात्र स्कुल खुल्छ ।’ उनका अनुसार लामो समय स्कुल बन्द हुँदा पढाइ पूरा हुँदैन । ‘यो वर्ष मात्र होइन पढाइ त कहिल्यै पनि पूरा हँुदैन । प्रत्येक वर्ष यस्तै हो,’ उनले सुनाइन् ।


वैशाख पहिलो सातातिर किरा टिप्न लेकमा गएपछि भदौ पहिलो साता मात्र गाउँ फर्किने धुली आधारभूत विद्यालयमा ७ कक्षा अध्ययनरत डोल्मा लामा सुनाउँछिन् । ‘भदौदेखि दसैं बिदा नहुन्जेल पढाइ हुन्छ । दसैंतिहार बिदा पछि अर्धवार्षिक परीक्षा हुन्छ । अनि जाडो बिदा सुरु भइहाल्छ,’ उनले भनिन्, ‘हिउँदभर विद्यालय बन्द हुन्छन् । एकैचोटि चैतमा परीक्षा हुन्छ । वर्षदिनमा २ महिनाजति मात्र स्कुल खुल्छन् ।’


उनले साइपाल गाउँपालिकामा रहेका सबै ५ वटै विद्यालयमा अध्ययनरत ७ सय बढी विद्यार्थीले प्रत्येक वर्ष पढाइ पूरा नगरी वार्षिक परीक्षा दिइरहेको बताइन् ।


यसरी प्रत्येक वर्ष अर्धवार्षिक परीक्षा दिएपछि एकै पटक वार्षिक परीक्षामा मात्र विद्यालय टेक्ने बाध्यता साइपाल गाउँपालिकाका विद्यार्थीको मात्र भने होइन । जिल्लाको उत्तरी भेगका २ दर्जन बढी विद्यालयमा अध्ययनरत ३ हजार बढी विद्यार्थीले भोगिरहेको नियति हो यो ।


यार्सा संकलन हुने साबिकका गाविसहरू काँडा, सुर्मा, दौलिचौर, मेलविसौना, दहबगर र जयपृथ्वी नगरपालिकाको सुइल, मयाना, गजौन र बारिलका २४ बढी विद्यालयका विद्यार्थीहरू वैशाखदेखि साउनसम्म यार्सा टिप्न जाने भएका कारणले बन्द हुन्छन् । हिउँदमा चिसोले कात्तिक दोस्रो सातादेखि फागुनसम्म विद्यालय बन्द हुन्छन् ।


हिमाली क्षेत्रका बासिन्दा हिउँदयाममा केटाकेटीसहित औल झर्ने भएकाले विद्यालय खोले पनि पढ्न कोही नआउँदा बन्द गर्नुपरेको शिक्षकहरू बताउँछन् । ‘यहाँका मानिस हिउँद सुरु हुनासाथ केटाकेटी बोकेर बेंसी झरिहाल्छन् । शिक्षकहरू दिनभर स्कुलमा आगो तापेर बस्नुपर्छ । विद्यार्थी हुँदैनन्,’ सदरमुकाम चैनपुरमा भेटिएका धुली आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज जोशीले भने, ‘वैशाख नलाग्दै लेकतिर गइहाल्छन् । अनि पूरा पढाइ कसरी हुन्छ ?’


शिक्षकहरूले विद्यालय खुलेका बेला पनि राम्रोसँग नपढाउने गरेका कारण यहाँका आफूहरूको पढाइ कमजोर भएको विद्यार्थीको आरोप छ । ‘सरहरू वर्षमा दुई महिना मात्र स्कुल आउनुहुन्छ । आएको बेला पनि नपढाइकन रक्सी खाएर गाउँमै हल्लिएको देख्छौं,’ कक्षा ८ मा अध्ययनरत एक विद्यार्थीले भने, ‘खासमा यहाँ नपढेरै परीक्षा दिनुपर्छ भने पनि हुन्छ ।’


वर्षमा कम्तीमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा २ सय १० दिन कक्षा सञ्चालन भएको हुनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा छ । यहाँका विद्यार्थीले ६०/७० दिन मात्र कक्षा लिएको भरमा परीक्षा दिनुपर्ने अवस्था छ । २ मावि रहेको काँडामा यस वर्षको एसईई, परीक्षामा एउटा विद्यार्थी पनि उत्तीर्ण भएनन् । अघिल्लो वर्षको परीक्षामा अर्काे विद्यालय धलौन माविले शून्य नतिजा ल्याएको थियो ।


चैनपुरदेखि ९० किमि उत्तरमा पर्ने यो गाउँपालिका दुर्गम भएका कारणले यसअघि सघन निरीक्षण गर्न गाह्रो भएको र भौगोलिक विकटता, चिसो मौसम र यार्साका कारण विद्यार्थीको पढाइ बिग्रने गरेको जिल्ला शिक्षा एकाइ प्रमुख सुरेन्द्र कठायत बताउँछन् । ‘चिसोमा कक्षा सञ्चालन गर्न सकिँदैन, गर्मीमा यार्सा टिप्ने हुँदा विद्यार्थी रोक्न सकिँदैन’ उनले भने, ‘केटाकेटीका आँखा तेजिला हुने भएकाले बढी यार्सा भेट्टाउँदा रहेछन् । २/३ कक्षा पढने विद्यार्थीले ३ महिनामा एक/डेढ लाख कमाउँछन् । हामीले चाहेर पनि रोक्न सक्ने अवस्था छैन ।’ उनले अब विद्यालयलाई नियमन गर्ने सबै अधिकार स्थानीय तहमै गएको बताउँदै गाउँपालिकाले यस्तो समस्या समाधानका लागि सोच्नुपर्ने सुझाए ।


साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने शिक्षा शाखा प्रमुखका रूपमा जिल्ला शिक्षा एकाइले पठाएका स्रोत व्यक्ति प्रेम बुढा वर्षदिनदेखि सम्पर्कमा नआएका कारण यहाँको शैक्षिक अवस्था लथालिंग भएको बताए । उनका अनुसार यस विषयमा आफूहरूले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा इकाईमा जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन ।



प्रकाशित : पुस १८, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?