कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिममा जहिल्यै स्वास्थ्यकर्मी अभाव

प्रदेश ब्युरो

धनगढी — सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थामा दरबन्दी अनुरूपको पदपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । 

सुदूरपश्चिममा जहिल्यै स्वास्थ्यकर्मी अभाव

स्थापनाकालदेखि नै धनगढीस्थित सेती अञ्चल अस्पतालमा मुटुरोग विशेषज्ञको दरबन्दी रिक्त छ । माग गर्दागर्दै ८० वर्ष बित्यो तर मुटुरोग विशेषज्ञ कहिल्यै आएनन् । सुदूरपश्चिम प्रदेशमा मुटुरोगका बिरामीको संख्या बढ्दै गएको एक तथ्यांकमा उल्लेख छ ।


यो अस्पतालले मानसिक रोग विशेषज्ञ पनि कहिल्यै पाएन । नाक, कान, घाँटी रोगको विशेषज्ञ चिकित्सक पनि रित्तै छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार अहिले पनि गाइनो, बालरोग र फिजिसियन लगायतका ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी पदपूर्ति भएको छैन ।


उनका अनुसार सेती अस्पतालमा २१ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । हाल १० विशेषज्ञ चिकित्सक मात्रै कार्यरत छन् । ‘यो पनि पछिल्लो समयमा मात्रै अस्पतालले १० विशेषज्ञ चिकित्सक पाएको हो’ उनले भने, ‘एक दशक अघिसम्ममा सेती अस्पतालमा स्थानीय घर भएका ४/५ जना विशेषज्ञ हुन्थे ।’ स्टाफ नर्सलगायत अन्य कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति पनि कहिल्यै हुन नसकेको श्रेष्ठ बताउँछन् । अहिले पनि ९ जना स्टाफ नर्सको दरबन्दी रिक्त छ ।


दरबन्दी १९ विशेषज्ञ कार्यरत २ मात्रै

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा १९ विशेषज्ञसहित २८ जना डाक्टरको दरबन्दी छ । तर अहिले २ विशेषज्ञ मात्रै छन् । मेडिकल अधिकृत पनि दरबन्दीमा एकजना छैनन् ।


तत्कालीन अस्पताल विकास समिति र करारका गरी ८ जना कार्यरत छन् । महेन्द्रनगरमा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि अस्पतालमा डाक्टर अभावको विषय उठ्न थालेको पनि वर्षाैं भइसक्यो । स्थानीय स्तरदेखि केन्द्रसम्म पहल पनि भएको होइन ।


विभागदेखि मन्त्रालयसम्म पनि यो विषयमा पटक पटक कुरा भएको छ । तर यहांँ दरबन्दीका भन्दा पनि न्यूनतम आवश्यकताका डाक्टर पनि आउँदैनन् । ‘अहिले अस्पतालमा २ जना मात्रै विशेषज्ञ डाक्टर छन्,’ महाकाली अञ्चल अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले भने, ‘मेडिकल अधिकृत पनि दरबन्दीका एक जना छैनन् ।’ केही दिनअघि सम्म हाडजोर्नीसहित तीन जना विशेषज्ञ डाक्टर थिए । हाडजोर्नी विशेषज्ञ डा. रोजन ताम्राकार सरुवा भएपछि अहिले उक्त सेवा पनि प्रभावित भएको छ ।


दुर्गम पहाडी जिल्लामा अनमी र अहेबसमेत छैनन्

प्रदेशको अस्थायी राजधानी भएको सहर धनगढीमा रहेको एक मात्र सुविधायुक्त ठूलो मानिएको सेती अञ्चल अस्पताल प्रदेशकै रेफरल सेन्टर पनि हो । प्रदेशका ९ वटै जिल्लाका बिरामीले जटिल प्रकारको स्वास्थ्य सेवा यही अस्पतालबाट लिनुपर्ने बाध्यता छ ।


‘सुगमको सेती अस्पतालमा त दरबन्दीका चिकित्सक आउन मान्दैनन्, भने दुरदराजमा जान मान्ने कुरै भएन,’ प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘सुदूरका पहाडी स्थास्थ्य केन्द्रमा अनमी र अहेब पनि छैनन् ।’


कैलालीको अर्काे मालाखेती अस्पतालमा पनि दरबन्दीअनुसार पदपूर्ति भएको छैन । मालाखेती अस्पतालमा ३ चिकित्सकको दरबन्दी हो । हालसम्म १ भन्दा बढी चिकित्सक दरबन्दीमा हाजिर भएका छैनन् । जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रहरूले समेत नर्स, अनमी, अहेब लगायत प्राविधिक कर्मचारी र चिकित्सक पाउन सकेको छैन ।


पछिल्लो समयमा स्वास्थ्य विभागबाट भएको व्यापक सरुवाले समेत धेरै ठाउँका अस्पताल ,स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दरबन्दी रिक्त भएको बताउँछन्, क्षेत्रीय निर्देशक अवस्थी । ‘स्वास्थ्य क्षेत्रमा ८० प्रतिशत कर्मचारी प्रदेश बाहिरका थिए’ उनले भने, ‘यो सरुवाले कर्मचारीलाई आफ्नो घर पायक क्षेत्रमा फर्कने अवसर दिएपछि यहाँका स्वास्थ्य संस्थाको दरबन्दी खाली भयो ।’ यसले स्वास्थ्य सेवा प्रभावित भएको उनले बताए ।


डा. अवस्थीका अनुसार खोप लगायतका कार्यक्रमसमेत प्रभावित भएका छन् । बैतडीको कोटेला र शर्माली स्वास्थ्य चौकी कर्मचारी विहीन नै भएको उनले बताए । सरुवा भई जाने ठाउँमा अर्काेको पठाउने भन्ने योजना नभएर हचुवा तालमा सरुवा भएकोले समस्या सिर्जना भएको उनले जानकारी दिए ।


कैलालीको पूर्वी क्षेत्र र बर्दियाको राजापुर क्षेत्रका करिब ८ लाख जनसंख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने बाध्यता रहेको कैलालीको टीकापुर अस्पतालमा पनि स्वास्थ्यकर्मी अभावले सेवा चुस्त हुन सकेको छैन । अस्पतालमा बिरामीको चाप अत्यधिक छ । स्वास्थ्यकर्मी भने थोरै छन् । दिनहुँ करिब ६ सय बिरामी उपचारका लागि आउने भए पनि अस्पतालमा ५ डाक्टर मात्र कार्यरत छन् ।


स्वास्थ्यकर्मीको अभाव खेपिरहेको महाकाली अञ्चल अस्पताल ।


दरबन्दी छ पदपूर्ति भएन

अस्पताल प्रशासनका अनुसार अस्पतालमा ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि २९ रिक्त छन् । करिब ३ वर्षअघि ५१ शैयाको अस्पताल घोषणा गरी विशेषज्ञ डाक्टरको दरबन्दी सिर्जना गरिए पनि विशेषज्ञ डाक्टर र नर्सिङ स्टाफको पदपूर्ति नहुँदा सर्वसाधारणले स्वास्थ्य सेवा पाउन सकेका छैनन् । विशेषज्ञ डाक्टर अभावमा अधिकांश बिरामी रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालमा कार्यरत डाक्टरहरू बताउँछन् ।


बालरोग, स्त्रीरोग, हाडजोर्नी, साइकियाट्रिक, फिजिसियन, कन्सल्टेन्ट सर्जन, एनेस्थेसियालोजिस्ट लगायतका विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि पदपूर्ति नभएको अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नरेन्द्रकुमार खनालले भने, ‘दरबन्दी अनुसार पदपूर्तिका लागि पटक पटक सम्बन्धित निकायमा अनुरोध गरे पनि व्यवस्था भएको छैन ।’


गत भदौमा एक हाडजोर्नी रोग विशेषज्ञ डाक्टर कार्यरत रहे पनि औजार तथा उपकरण अभावमा शल्यक्रिया सेवा सञ्चालन गर्न नसकिएको डा. नरेन्द्र खनालले बताए । उनले भने, ‘हाडजोर्नी विशेषज्ञ डाक्टर ओपीडीमा सीमित हुनुपरेको छ ।’


उनले भने, ‘कोरियन सहयोग नियोग (कोइका) को सहयोगमा अस्पताल भवन निर्माण गरिएको भए पनि जनशक्ति अभावमा बिरामीलाई सेवा दिन सकिएको छैन ।’ सरकारी दरबन्दीअनुसार कर्मचारीको व्यवस्था नहुँदा अस्पतालले केही आन्तरिक स्रोतबाट कर्मचारी व्यवस्थापन गरी सेवा दिंदै आएको जनाएको छ ।


टीकापुर अस्पतालमा डाक्टर निवाससहित १२ भवन छन् । विशेषज्ञ डाक्टर अभावले यहाँका बिरामीले नेपालगञ्ज तथा भारतका विभिन्न सहरमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको डा. खनाल बताउँछन् । उनले भने, ‘अस्पतालमा प्रसूति सेवा, ओपीडी, आकस्मिक सेवा र वार्ड तथा अप्रेसनका लागि छुट्टै भवन बनेको छ । दरबन्दी अनुसार डाक्टरको व्यवस्था भए धेरै सेवा दिन सकिन्छ ।गत वर्ष यो अस्पतालबाट करिब ७० हजार बिरामीले सेवा लिएको तथ्यांक छ । अस्पतालमा प्रशस्त भौतिक पूर्वाधार हुँदाहुँदै विशेषज्ञ डाक्टरको अभावमा केस रेफर गर्नुपर्ने बाध्यता रहेको डा. खनालले बताए ।


खटिएका डाक्टर बाटोबाटै फर्कन्छन्

महाकाली अञ्चल अस्पतालमा डाक्टरको सरुवा नभएको होइन । तर यहाँ सरुवा भएका डाक्टर बीच बाटोबाटै अन्त सरुवा मिलाएर जाने गरेका छन् ।


‘डाक्टरको पदपूर्ति त के नभई नहुने सेवाका लागि समेत डाक्टर नपाइने भयो’ अस्पताल सुधारका लागि गठित दबाब समूहका संयोजक डा. गणेश भट्टले भने, ‘डाक्टरहरूको टिम बनाउनै नसकिने भयो, जति दबाब दिए पनि विशेषज्ञ डाक्टर आउनै मान्दैनन् ।’


अहिले अञ्चल अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. हरि श्रेष्ठ र सर्जन डा. श्रीकृष्ण भट्ट मात्रै दरबन्दीमा कार्यरत छन् । एक वर्षअघि स्त्रीरोग विशेषज्ञ समेत नहुँदा यहाँ प्रसूति सेवा समेत ठप्प भएको थियो ।


अहिले यहाँका महिलाहरूले सामान्य प्रसूति सेवाका लागि भारत धाउनुपर्ने बाध्यता हटेको छ । उसो त अस्पतालमा आईसीयु सेवा सञ्चालनका लागि २ वर्षअघि नै उपकरणहरू जडान भइसकेका छन् । तर जनशक्तिकै अभावमा उक्त सेवा सुचारु हुन सकेको छैन । जडान गरिएका उपकरणहरू प्रयोगमा नआएरै बिग्रिने अवस्था आएको छ ।


एक वर्षअघि अञ्चल अस्पतालले डाक्टर ओपीडी सेवासमेत बन्द गर्नुपर्ने अवस्था आयो । इमरजेन्सीमा समेत एकै डाक्टरले २४ घण्टा डिउटी गर्नुपर्ने बाध्यता थियो । समिति र करारका मेडिकल अधिकृतहरू थपिएपछि ओपीडी सञ्चालनमा भने सहजता आएको छ ।


अञ्चल अस्पतालमा मात्रै होइन जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरूमा पनि डाक्टरको दरबन्दी भएका ठाउँमा एचए र अहेबले काम चलाएका छन् । कतिपय ठाउँमा त स्थापना भएदेखि नै डाक्टर आएका छैनन् ।


अछामको अवस्था पनि उस्तै छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा दरबन्दीअनुसार स्वास्थ्यकर्मीको पदपूर्ति नहुँदा बिरामीले स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् । दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएपछि दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा कार्यालय सहयोगीले बिरामी जाँच्ने र औषधी दिने गरेका छन् । केही स्वास्थ्य संस्था भने बन्द जस्तै अवस्थामा छन् । स्वास्थ्यकर्मी अभावमा स्थानीय बासिन्दाले उपचारका लागि धनगढी, नेपालगञ्ज, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता छ ।


जिल्लामा आएका स्वास्थ्यकर्मी लामो समय बस्न चाहँदैनन् । त्यसैमा दुर्गम क्षेत्रमा त जानै मान्दैनन् । अर्कोतिर दरबन्दीअनुसारका स्वास्थ्यकर्मीको पदपूर्ति नभएकाले जिल्लाको स्वास्थ्य क्षेत्रमा चुनौती थपिएको छ । दुर्गम भएकाले अछाममा कर्मचारी सरुवा भएर आउन मान्दैनन् । आए पनि धेरै समय नबस्ने स्थानीय बलदेव भाट बताउँछन् ।


दुर्गममा सरुवा भएका स्वास्थ्यकर्मी सुगममै जान खोज्छन्

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा रिक्त रहेका दरबन्दी पूर्ति हुन सकेको छैन । भएका कर्मचारीलाई सरुवा गरी बाहिरी जिल्लामा पठाइदिने तर सरुवा भएको स्थानमा पूर्ति नगरिदिँदा काममा समस्या भएको ढकारी गाउँपालिकाका स्वास्थ्य संयोजक देवेन्द्र यादवले बताए ।


स्वास्थ्य संस्थामा एक हेल्थ असिस्टेन्ट, दुई अहेब र दुई अनमीको दरबन्दी हुन्छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह गर्न कठिनाइ भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । जिल्ला अस्पताल अछाममा लामो समयदेखि मेडिकल सुपरिन्टेन्डेन रिक्त अवस्थामा रहेको र मेडिकल अफिसरसमेत सरुवा भएर गएपछि स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन ।


त्यस्तै दुर्गम मानिने चौरपाटी गाउँपालिकाका स्वास्थ्य चौकीमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएको र ९ जना अभाव भएको स्वास्थ्य शाखा संयोजक कमल साउदले बताए । ढकारी गाउँपालिकामा समेत ९ जना स्वास्थ्यकर्मीको अभाव छ । कमलबजार नगरपालिकाका ३ वटा स्वास्थ्य चौकीमा समेत दरबन्दीको पदपूर्ति छैन ।


अछामको साँफेबगर नगरपालिकाका १४ स्वास्थ्य चौकीमा १२ स्वास्थ्यकर्मी कम रहेको स्वास्थ्य शाखा संयोजक सुरत खड्का बताउँछन् । ‘दरबन्दी संख्या अनुसारका स्वास्थ्यकर्मी नहुँदा निकै अप्ठेरो छ । स्वास्थ्य संस्थाले दैनिक प्रवाह गर्नुपर्ने सेवा प्रदान गर्न सकिएको छैन,’ उनले भने, ‘स्थानीय तह गठन भएपछि स्वास्थ्य क्षेत्रमा झन् समस्या थपिएको छ । औषधी खरिद गर्नसमेत सहज छैन ।’ अछामका १६ वटा वडामा स्वास्थ्य चौकी नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ ।


प्रदेशमा स्वास्थ्य चौकी ३७६, प्राथमिक स्वास्थ्य केन्द्र १६, जिल्ला अस्पताल ४, अञ्चल, उप क्षेत्रीय अस्पताल ३ र प्रसूति सेवा केन्द्र ३७१ छन् । ती स्वास्थ्य संस्थामा कुल विशेषज्ञ चिकित्सक ७४, मेडिकल अफिसर ७१, जनस्वास्थ्य अधिकृत ६९, मेडिकल रेकर्डर ४, अहेब, अनमी ४१९, नर्स १३०, लगायत ३ हजार १ सय ७७ पद छन् जसमध्ये ६ सय ३२ पद रिक्त छन् ।


मोहन बुढाऐर (धनगढी), भवानी भट्ट (कञ्चनपुर) मेनुका ढुंगाना (अछाम) र गणेश चौधरी (टीकापुर)

प्रकाशित : पुस १९, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?