जनावर धपाउन जाग्राम
अछाम — जंगली जनावरले हिउँदेबाली सखाप पार्न थालेपछि अछामका किसान जाग्राम बस्न थालेका छन् । मुख्य खाद्य बालीका रूपमा रहेको गहुँ, आलु र अन्य तरकारी खेती नष्ट गर्न थालेपछि किसान जाग्राम बस्न बाध्य भएका हुन् ।
तरकारी फल्नै लागेका बेला बँदेल, दुम्सी र बाँदरले नष्ट गर्न थालेपछि समस्यामा परेको मंगलसैन नगरपालिका–१० का कृषक रमेश रावलले बताए ।
‘जनावर धपाउन रातभर जाग्राम बसेर पनि बाली जोगाउन मुस्किल भएको छ,’ उनले भने, ‘पुस महिनाको कठ्यांग्रिँदो चिसोमा पनि टहरा बनाएर रातभर पहरा दिने गरेका छौं ।’
घरभरीका नयाँ–पुराना लुगा खेतबारीमा लगेर मान्छेको आकारमा बुख्याँचा बनाउँदा पनि जंगली जनावरले सताउन नछोडेको मंगलसैन–५ का खगेन्द्र ढुंगानाले बताए । ‘कति दिन बारी मै बसियो । कति दिन भोकै बसियो । जंगली जनावरलाई मार्न पनि पाइँदैन । घरभरिका जम्मै लुगा बारीमा छन्,’ उनले भने ।
वर्षभरि मिहिनेत गरेर फलाएको बाली जंगली जनावरले एकै रातमा सखाप पार्न थालेपछि सारै चित्त दुखेको उनी बताउँछन् । जंगली जनावरले क्षति नगरोस् भनेर कतिपयले तारबारले घेरेका छन् । केही परिवारले खेतको भित्तामा कपडाको पर्खाल नै लगाएका छन् । तर, जंगली जनावरको आतंक रोकिएको छैन ।
‘बुख्याँचा देख्यो भने भाग्छ भन्ने सुनेको थिएँ । त्यसै गरे । त्यही उछिनेर बाली सखाप पार्यो,’ अर्का स्थानीय वेदराज सुवेदीले भने, ‘५/७ वर्षअघिसम्म भएको सबै जग्गामा बाली लगाउँथे । अहिले उत्पादन भएका कृषि उपज जंगली जनावरले खानै नदिएपछि खेती छोडेर भारतमा काम गर्न जानुपरेको छ ।’
उनका अनुसार जुन बाली लगाए पनि जंगली जनावरले क्षति गरेपछि अहिले सबै जग्गा बाँझै छाडेर विकल्पमा भारततिर लाग्नुपरेको छ । वेदराजजस्तै अर्का स्थानीय जंग विकले पनि जंगली जनावरले बालीमा क्षति पुर्याउन थालेसँगै कृषि पेसा परिवर्तन गरेका छन् । जंगली जनावरले कृषि बाली सबै नष्ट गरेपछि लेकको बसाइ छोडेर औलमा झरेका छन् ।
आफू कामका लागि भारत जान्छन् । ‘जंगली जनावरले सबै बाली खाएर नष्ट गर्न थालेपछि अहिले अधिकांश उर्वर जमिन सबै बाँझो भएको छ,’ उनले गुनासो पोखे, ‘आफ्नो सम्पत्ति भनेकै यही जग्गा थियो, त्यो पनि जंगली जनावरका कारण प्रयोगविहीन भएपछि हामी सबै किसान विकल्पमा अर्को पेसा आगाल्न बाध्य भएका छौं ।’ यही कारण मंगलसैनमा मात्रै करिब ३ हजार रोपनी जग्गा बाँझो रहेको स्थानीयवासी बताउँछन् ।
जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये अहिले ३ हजार हेक्टर जमिन बाँझो रहेको तथ्यांक छ । यहाँको खेतीबारी बाँझै रहनुमा बसाइसराईँ, सिंचाइको असुविधा र जंगली जनावर पनि रहेको जिल्ला कृषि ज्ञान केन्द्र अछामले जनाएको छ ।
समयमै वर्षा नहुँदा ढिला गरी गहुँ र अन्य तरबारी बाली लगाएका यहाँका किसानहरू अहिले जंगली जनावरले नष्ट गर्दा झनै चिन्ता थपिएको बताउँछन् ।
प्रकाशित : पुस २२, २०७५ १०:४३