२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

धार्मिक सर्किटमा जोडिँदै परशुराम धाम

मोहन बुढाऐर

धनगढी — डडेलधुराको परशुराम धाम क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक करिडोरका रूपमा विकास गर्न स्थानीय स्तरबाट पहल सुरु भएको छ ।

धार्मिक सर्किटमा जोडिँदै परशुराम धाम

स्थानीय तहले भारतको उत्तराखण्डमा पर्ने चार धाम र सुदूरपश्चिमका शक्तिपीठलाई जोड्ने ‘धार्मिक सर्किट’ को अवधारणाअनुसार काम अगाडि बढाएको हो ।


उत्तराखण्ड र सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक करिडोरको रूपमा परशुराम धाम क्षेत्रलाई विकास गर्ने योजनामा काम भइरहेका परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले बताए । हिन्दुहरूका दस अवतारमध्येका परशुराम भगवान्को विश्वमा एक मात्र तिर्थस्थल परशुराम नगरपालिका–५ परिगाउँस्थित महाकाली तटलाई मानिन्छ ।


परशुरामधामबाट पश्चिम २० किलोमिटरको दूरीमा भारतको उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने प्रसिद्ध पूर्णागिरी धार्मिक पर्यटकीय क्षेत्र पर्छ । जहाँ भारतका विभिन्न ठाउँबाट पूर्णागिरी माताको दर्शन गर्न वर्षमा ५० लाखभन्दा बढी भक्तजन आउने गर्छन् ।


'पूर्णागिरी माताको दर्शनपछि फर्कने धार्मिक पर्यटकलाई परशुरामधामसम्म ल्याउन सकिन्छ,’ नगरपालिका प्रमुख साउदले भने, ‘यहाँबाट सुदूरका अन्य धार्मिक पर्यटकीय स्थलसम्म घुमाउन सकिने गरी यो क्षेत्रको विकास गर्ने योजना छ ।’ उनले यो क्षेत्रलाई धार्मिक पर्यटकका लागि एक अन्तर्राष्ट्रिय करिडोरको रूपमा विकास गर्न सकिने बताए ।


पूर्णागिरी पर्वतको फेद भएर महाकाली तट हुँदै ३ घण्टा पैदलयात्रामा परशुराम धाम पुगिन्छ । अहिले भारत सरकारले मोटरबाटोसमेत निर्माण गरिसकेको छ । पूर्णागिरी धामको दर्शन गर्न आउने दस प्रतिशत भक्तजन मात्रै परशुराम पुर्‍याउन सकिने योजनामा छन्, नगर प्रमुख साउद ।


उनी भन्छन, ‘गुरुयोजना तयार पारी धामको विकास र प्रचारप्रसारमा काम थालेका छौं ।’ उनले माघे संक्रान्तिको दिनबाट ८ गते सम्म परशुराम धाममा धार्मिक महोत्सव आयोजना गरिने जानकारी दिए ।


पुराणहरूमा परशुराममा जमदग्नी ऋषिका पुत्र भगवान् परशुरामले तपस्या गरेको उल्लेख छ । ‘विश्वमा कतै पनि भगवान् परशुरामको नाममा तीर्थस्थल छैन,’ प्रमुख साउदले भने, ‘हिन्दु धार्मिक पर्यटकका माझ धामलाई विश्वव्यापी रूपमा लैजान आवश्यक छ ।’


प्राकृतिक तथा पुरातात्त्विक महत्त्व बोकेका सुदूरका धार्मिक स्थानलाई भारतको उत्तराखण्डका चार धामसँग जोडिने रुट निर्माण गर्न सकिने सम्भावना रहेको पर्यटन विकास बोर्डका सदस्य कृष्णबहादुर महराले बताए । भने, ‘त्यसका लागि प्रदेश र स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ ।’


उनले सुदूरपश्चिम प्रदेशसँग जोडिएको भारतको उत्तराखण्डमा आउने धार्मिक पर्यटकलाई मध्यनजर गरेर प्रदेश सरकारले एक धार्मिक सर्किट तयार पर्न सक्ने बताए ।


उनले सर्किट निर्माणमा केन्द्र, प्रदेश र स्थानीय तहका सरकारको थोरै लगानी र इच्छाशक्तिमा पूरा हुने बताउँछन । ‘परशुराम धाम भारतको पूर्णागिरी नजिक पर्ने भएकाले धार्मिक पर्यटकको एक प्रमुख द्वार हुन सक्छ,’ उनले भने ।


यसको धार्मिक विकासमा पहलकदमी लिंदै आएका स्थानीय वीरबहादुर धामी तीनवटा धार्मिक सर्किट बनाउन सक्ने बताउँछन् । उनका अनुसार छोटो यात्राका धार्मिक पर्यटकलाई पूर्णागिरी, बह्मदेव, मलास, लिंगा हुँदै जोगबुढाको परशुराम धामबाट पुन: भारत फर्कन सकिने रुट तयार गर्न सकिन्छ ।

अर्काे पूर्णागिरीबाट सिधै पशुराम धामबाट सुदूरको पहाडी जिल्लाका प्रसिद्ध मन्दिर तथा शक्तिपीठ डडेलधुराको उग्रतारा, डोटीको शैलेश्वरी, बैतडीको मेलौली, देहमाडौं, त्रिपुरा सुन्दरी हुँदै पिथौरागड उत्तराखण्ड फर्काउन सकिने धामी बताउँछन् ।


लामो धार्मिक पदयात्रा गर्नेलाई बाजुराको बडिमालिका, खप्तड हुँदै दार्चुलाको मालिकार्जुनको दर्शन गराई धार्चुला रुट बनाउन सकिने उनको धारणा छ । उनले गोदावारी, वन बहेडा, घोडाघोडी, चिसापानी, टीकापुरलगायत क्षेत्रको तराई मात्रको अर्को रुट तयार पार्न सकिने बताए । डडेलधुरा हुँदै मानसरोवरको यात्रा तय गराउनें रुटसमेत तयार गर्न सकिने उनको भनाइ छ ।


धामीका अनुसार भारतमा प्रत्येक दिन एक लाखभन्दा बढी व्यक्ति धार्मिक यात्रामा निस्किरहेका हुन्छन्, जसअनुसार भारतमा वर्षभरिमा ३ करोडभन्दा बढी धार्मिक यात्रामा निस्कछन् । तीमध्ये १० प्रतिशत मात्रैलाई सुदूरपश्चिमका मन्दिर जुनसुकै मौसममा पनि भ्रमण गराउन सकिने उनको भनाइ छ ।

प्रकाशित : पुस २२, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?