२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सामुदायिक काममा महिलाकै भर

बझाङ — थलारा गाउँपालिकाको खानी गाउँमा हालै बृहत् खानेपानी आयोजनाको निर्माण सम्पन्न भयो। १ किलोमिटर ८ सय मिटर लामो पाइप लाइनसहितको उक्त योजनाबाट वारिखानी, पारिखानी र भिटाखानी गरी ३ गाउँका २ सय ५० परिवार लाभान्वित भए।

सामुदायिक काममा महिलाकै भर

काजी खानेपानी आयोजना नाम दिइएको साबिक मालुमेला गाविसकै ठूलो उक्त योजनाको सबै काम महिलाहरूले नै पूरा गरे।


पुरुष नभएका ग्रामीण क्षेत्रमा सञ्चालन हुने विकास निर्माणका काममा महिला र बालबालिकाको सहभागिता बढ्दो छ। ‘गाउँका अधिकांश पुरुष भारत गएका छन्,’ मालुमेलाको काजी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति कोषाध्यक्ष लक्ष्मी सुनारले भनिन्, ‘गाउँमा आएको विकास फिर्ता गर्नु पनि भएन। महिला र केटाकेटीहरू सबै मिलेर खानेपानी योजना सफल बनायौं।’


सबै काम महिलाहरूले नै गर्नुपरेकाले दक्ष तथा अनुभवको अभावमा काम गर्न असजिलो भए पनि सिक्दै काम पूरा गरेको उनले सुनाइन्। जयपृथ्वी नगरपालिका–१ कैलाशको बर्थिङ सेन्टरको भवन निर्माण कार्य पनि महिलाहरूले नै गरे। ‘गाउँमा महिला र केटाकेटी मात्र छन्,’ भवन निर्माण समितिका अध्यक्ष रामबहादुर सिंहले भने, ‘काम गर्नलाई पुरुषहरू खोज्दा पनि भेट्ने अवस्था छैनरु। महिला, बालबालिकाले काम नगरी नहुने अवस्था छ।’


उनले बर्थिङ सेन्टरको भवन निर्माणमा ९५ प्रतिशत बढी महिला र बालबालिकाहरूले नै काम गरेको बताए।


गाउँका युवाहरू रोजगारीका लागि भारततर्फ लागेपछि बझाङका अधिकांश गाउँ पुरुषविहीन छन्। गाउँमा वयस्क पुरुषहरू नभएपछि विकास निर्माणका काममा महिला र बालबालिकाहरू खटिरहेका छन्।


विकास निर्माणका काममा लागेपछि दैनिक ज्याला पनि पाइने भएकाले स्कुले विद्यार्थीहरू पढाइ छोडेर पनि यस्ता काममा लाग्ने गरेका छन्। ‘गाउँमा लोग्ने मान्छेहरू छैनन् भन्दा पनि हुन्छ,’ स्थानीय शिक्षक तीर्थ रोकायाले भने, ‘पढाइ खर्च जुटाउन पनि विद्यार्थीहरू स्कुल छोडेर विकासका काममा जाने गर्दछन्।’


‘जुनसुकै योजना होस्, काम गर्नेहरूमा ८० प्रतिशतभन्दा बढी महिला नै हुन्छन्,’ वित्थड चीर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बोहराले भने, ‘गाउँमा कि अशक्त र वृद्धवृद्धा या त महिला र बालबालिका मात्रै छन्। युवाहरू कामको खोजीमा भारततिर पसेका छन्।’ उनले गाउँमा सञ्चालित विकास योजनामा भन्दा भारतमा मजदुरी गर्दा ज्यादा रकम पाइने भएकाले पुरुषहरू उतै आकर्षित हुने गरेको बताए।


पुरुषहरू गाउँमा नहुँदा कतिपय विकास निर्माणका काममा समस्यासमेत हुने गरेको जनप्रतिनिधिहरूको भनाइ छ। महिलाहरूमा सीप र दक्षताको अभाव छरु। छबिसपाथीभेरा गाउँपालिका ७ का वडाध्यक्ष मोहनलाल विकले भने, ‘भनेका बेला दक्ष जनशक्ति नपाउँदा समयमा काम हुँदैन। सिक्दै गरेको कामको गुणस्तर पनि भने जस्तो हुँदैन।’


गाउँमा पुरुषहरू नभएपछि महिला र बालबालिकाहरूलाई निर्माणका काममा लगाउनुको विकल्प नभएको उनले बताए।


गिट्टी कुटेर गुजारा

दार्चुला– शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरकी मुकुट बादी बिहानदेखि रात नपरुन्जेलसम्म खोला किनारमा गिट्टी कुटेर परिवारको गुजारा चलाउँछिन्। ‘गिट्टी कुटेर परिवारलाई साँझ–बिहान हातमुख जोर्न मुस्किल हुन्छ,’ उनले भनिन्, ‘हिउँदमा न्यानो लुगा किन्नका लागि खर्च नपुग्दा चिसो सहनुपरेको छ।’


गिट्टी कुटेर छोराछोरीलाई चाहिने लत्ताकपडादेखि नुनतेल जोहो गर्न उनलाई सकस छ। ‘गिट्टी कुटेर महिनामा बढीमा ३ हजारसम्म कमाइ हुन्छरु। श्रीमान् भारतमा मजदुरी गर्छन्। गिट्टी बिक्रीबाट कहिले कमाइ हुन्छ, कहिले हुँदैन। जे जस्तो भए पनि गुजारा चलाउन बाध्य छौं,’ उनले भनिन्, ‘४ छोराछोरीको पढाइ र औषधोपचार खर्च जुटाउनु हाम्रा लागि टाढाको कुरा भएको छरु।’ गोकुलेश्वरमा बसोबास गर्ने अधिकांश बादी समुदायका परिवारको मुख्य कमाइको आधार नै गिट्टी कुटाइ बनेको छ।


आम्दानीको वैकल्पिक स्रोत नभएकाले चौलानी नदी किनारमा बसोबास गर्ने करिब ३ दर्जन बढी बादी समुदायले गिट्टी कुटेकै भरमा परिवार पाल्दै आएका छन्।


चिसोको प्रवाह नगरी दैनिक गिट्टी कुट्ने गरेको स्थानीय गजी बादीले बताए। ‘नदी किनारमा चिसो भनेर हुँदैन। गिट्टी नकुटेको दिन छाक टर्दैन,’ गजीले भने, ‘एक मिटर गिट्टी कुट्न ७ दिन लाग्छ र त्यसबाट १ हजार ५ सय आम्दानी हुन्छ।’

प्रकाशित : पुस २३, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?