कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विकट गाउँमा स्वास्थ्य इकाई

मनोज बडू

दार्चुला — स्थानीय बासिन्दालाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले व्यास गाउँपालिका–२ को दुम्लिङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ ।

स्वास्थ्य संस्था सञ्चालन गरिएपछि स्थानीय बासिन्दाले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन् ।


सामान्य टाउको दुख्दा पनि यहाँका बासिन्दाले महाकाली नदी तरेर औषधि किन्न भारत पुग्नुपर्ने बाध्यता थियो । स्वास्थ्य संस्था स्थापनापछि यो बाध्यताबाट स्थानीय मुक्त भएका छन् । व्यास गाउँपालिकाको केन्द्र सुन्सेराबाट ११ घण्टाको पैदल दूरीमा रहेको दुम्लिङबाट साबिकको राप्ला स्वास्थ्य चौकी पुग्न ४ घण्टा लाग्छ ।


यहाँका स्थानीयलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा सहज पुर्‍याउने उद्देश्यले दुम्लिङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए । ‘जनताको माग र आवश्यकताको आधारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र सञ्चालनमा ल्याइएको हो,’ उनले भने ।


संविधानले स्वास्थ्य सेवालाई मौलिक अधिकारमा राख्दै कुनै पनि नेपाली नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगराउने कानुनी व्यवस्था गरेको छ । त्यसैको आधारमा स्वास्थ्य सेवालाई दुर्गम गाउँहरूमा विस्तार गर्न लागेको उनको भनाइ छ ।

गाउँमै स्वास्थ्य संस्था स्थापना भएपछि सहज भएको स्थानीय प्रभात बुढाथोकीले बताए । उपचारका लागि टाढा जानुपर्दा खर्चिलो र समय धेरै लाग्ने गरेको र अब गाउँमै स्थापना भएपछि सहज भएको उनी बताउँछन् । ‘औषधि अभाव र स्वास्थ्यकर्मीको नियमित उपस्थिति नहुने समस्या यहाँ हुनुभएन,’ प्रभातले भने ।


गाउँपालिकाका ६ वटै वडाहरूमध्ये साबिक गाविसका स्वास्थ्य चौकीबाट टाढा रहेका बस्तीहरूमा वडा नम्बर १ को तिंकरगाउँ, २ को दुम्लिङ, ४ को डोकट, ५ को तिग्रम र वडा नम्बर ६ को बडुगाउँ हो । ती सबैमध्ये २ को दुम्लिङबाट स्वास्थ्य संस्थामा पुग्न कठिन थियो । यही कारण दुम्लिङमा सस्था स्थापना पहिलो प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।


उक्त सामुदायिक स्वास्थ्य केन्द्रलाई गाउँपालिकाले भवन, औषधि, स्वास्थ्य उपकरणसहित अनमी र अहेव गरी २ जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको गाउँपालिकाको स्वास्थ्य शाखा उपप्रमुख दरपानसिंह कुँवरले जानकारी दिए ।


यहाँबाट चाँडै प्रसूति सेवा सञ्चालनमा ल्याइने कुँवरले बताए । उक्त सामुदायिक स्वास्थ्य इकाई केन्द्रको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको थियो ।

प्रकाशित : पुस २४, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?