१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

व्यक्तिका नाममा सिंगो बस्ती

गणेश चौधरी

टीकापुर — घोडाघोडी नगरपालिका–३ को भोजपुर गाउँ व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । यहाँ ३५ वर्षदेखि थारू समुदायको बसोबास रहे पनि सिंगो बस्तीको जग्गा अनिपाल भण्डाराको नाममा छ । 

व्यक्तिका नाममा सिंगो बस्ती

सुकुम्बासी समस्या समाधान आयोग कैलालीले ०५५ मा महालक्ष्मी सामुदायिक वनको छेउमा बस्दै आएका सुखराम चौधरी, पञ्चराम चौधरी, धनीराम चौधरी, नेत्रराम चौधरी लगायत ८ परिवारको जग्गा अनिपालको नाममा दर्ता गरिदिएको पञ्चराम चौधरीले बताए । ‘हामी पढेलेखेका भएनौं । पहुँच पनि भएन । हामी बस्दै आएको जग्गा कसरी अनिपालको नाममा गयो, थाहै भएन ।


अहिले अनिपालले मेरो जग्गा हो भनी दाबी गरेपछि मात्र थाहा पायौं,’ उनले भने । ८ परिवारको घर रहेको कित्ता नम्बर १११३ को १० कठ्ठा जग्गा अनिपाल भण्डाराको नाममा दर्ता भए पनि ती परिवारले घर हटाएका छैनन् । थारू परिवार नहटेपछि अनिपालले ‘जग्गा खिचोला मेटाई चलन चलाइपाऊँ’ भनी जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरेका थिए । जिल्ला अदालत कैलालीले ०७१ सालमा अनिपालको पक्षमा फैसला गर्‍यो । पीडित परिवारले सर्वोच्चमा गरेको पुनरावेदनमा पनि सर्वोच्च अदालतले जिल्ला अदालत कैलालीकै फैसलालाई सदर गरेको छ ।


‘हाम्रो बस्ती आफ्नो नाममा दर्ता गरेका अनिपालले मलाई ४ लाख रुपैयाँ दिन्छु, बस्ती उठाइदे भनेका थिए, तर मैले मानिनँ,’ पञ्चरामले भने । भण्डाराले आफ्नो नाममा स्रेस्ता कायम रहेको जग्गा विपक्षीहरूले कब्जा गरी बसेको दाबी गरी मुद्दा लडेका थिए । विपक्षी परिवारसित भने कागजी प्रमाण केही छैन ।


स्थानीय तथा घोडाघोडी नगरपालिका–३ का वडाध्यक्ष कमल थारूले त्यहा रोपेका बोटविरुवाको आकारले पनि यो बस्ती पुरानै रहेको पुष्टि गर्ने बताए । उनले भने, ‘निरक्षर रहेका थारू परिवारले आफू बसेको जग्गा अरूको नाममा गएको थाहै पाएनन् । उनीहरूको पहँुच पनि भएन । सुकुम्बासी आयोगले उनीहरूको जग्गा अर्कैको नाममा दर्ता गरिदियो ।’ वर्षौंदेखि बस्दै आएको जग्गा अरूकै नाममा भएपछि उनीहरू अप्ठ्यारोमा छन् ।


७० वर्षीया धिम्नी थारूले भनिन्, ‘म जवानै थिएँ । बालबच्चा भएकै थिएनन् । त्यति बेलादेखि बसेका हौं ।’ ०४० सालमा आएको ठूलो बाढीले आक्रान्त भएपछि अग्लो ठाउँ छानेर आफुहरू यहाँ बसेको उनले सुनाइन् । धिम्नीले भनिन्, ‘मेरा नातिनातिना जवान भइसके । म वृद्धभत्ता खाने भइसकें । हाम्रो जग्गा कसरी अरूको नाममा भयो थाहै भएन ।’ जग्गा धनी भण्डारा बस व्यवसायी हुन् । उनीसित जग्गाबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित : पुस २४, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?