१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राँको सल्काएर भुवा

बझाङ — भुवा पर्वको रौनकले बझाङलाई छपक्कै छोपेको छ । बाँजागाजासहित नाचिने भुवा नाच हेर्नेको घुइँचो छ । युद्धको सम्झनामा नाचिने यो पर्व प्रत्येक वर्षको पुस औँसीका दिन मसाल (राँको) सल्काएर सुरु हुन्छ ।

राँको सल्काएर भुवा

जिल्लाका विभिन्न स्थानीय तहका ८० भन्दा बढी गाउँमा पर्व मनाइन्छ । ढाल तरबारसहित युद्धकला प्रदर्शन गर्दै नाचिने यो पर्व मनाउन जिल्लाबाहिर तथा विदेशमा भएकाहरू घर फिरेका छन् ।


औँसीको दिन गाउँका प्रत्येक घरबाट आगो बाल्नका लागि मुढा मागिन्छ । राती भुवाखाडा (भुवा नाच्ने चौर) मा आगो दन्काएर प्रत्येक व्यक्तिले हातमा राँको सल्काई भुवा नाचको सुरुआत गरिन्छ । राँको नबाली यसको विधिवत् सुरुआत भएको मानिंदैन । बाजाको तालमा खुकुरी, तरबार र ढालसहित पुरुषहरूले प्रदर्शन गरेको युद्धकला हेर्नका लागि टाढाटाढाबाट मानिस ओइरिन्छन् ।


छिमेकी गाउँमा भुवाको रमिता हेर्न भीडभाड बढेको छबिस पाथिभेरा गाउँपालिकाका जीवन रावलले बताए । गाउँमा जुठो परेको अवस्थामा भने भुवाको राँको नहाल्ने परम्परा छ ।

महाभारत कालमा कौरव र पाण्डवबीच भएको युद्धको कथालाई एक समुहले नाच्दै लयात्मक शैलीमा भट्याउने र अर्काे समुहले हात र खुट्टाको चालमा नाच्ने र ‘भस्सो’ भन्ने चलन छ ।


कुरुक्षेत्रको युद्ध भन्दा पहिले पाण्डवहरू वनबास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहाँ विकास निर्माणका काम गर्नका लागि स्थानीयको सहभागीता जुटाएको कथाहरू भुवोमा माँडा हाल्दै (भट्याउँदै) गाउने गरिन्छ ।


तत्कालीन समयमा कौरबसँग युद्ध गर्नका लागि पाण्डवहरूले नै विभिन्न गाउँमा भुवा पर्वको आयोजना गरी युद्ध अभ्यास गराएको कथा पनि नाचमा प्रस्तुत गरिन्छ । भुवाको विशेष आकर्षणको रूपमा चाली नाच, ठाडो भस्सो भारी खेलजस्ता नाच र गायन पर्छन् ।


भुवा पर्वलाई बझाङमा गाउँगाउँबीचको सदभाव आदानप्रदान गर्ने पर्वका रूपमा पनि लिने गरिन्छ । यो अवधिमा एउटा गाउँका मानिस बाजागाजासहित नाच्दै अर्काे छिमेकी गाउँमा पुग्छन । त्यहाँ पुगेर गाउँदै सबैको मंगल कामनासहित टीकोटालो गरिन्छ ।


‘भुवा पर्व हाम्रो संस्कृति मात्र नभएर सदभाव कायम राख्ने पर्व पनि हो,’ जयपृथ्वी नगरपालिकाको कैलास गाउँका महलबहादुर सिंहले भने, ‘वर्षभरिमा केही मनमुटाव भएको भए भुवाको बेलामा पञ्च भलाद्मी बसेर दुई पक्षबीच मेलमिलाप गराइन्छ ।’ उनले पञ्च पाण्डवलाई साक्षी राखेर गरिएको मेलमिलाप दिगो हुने गरेको अनुभव सुनाए ।


भुवा पर्व सुरु भएको दुई दिन (औंँसीको द्वितीया) लाई दुयो भनिन्छ । यो दिन घरमा बटुक र चुकानीलगायत परम्परागत परिकार पकाउने र इष्टमित्र तथा आफन्तहरूलाई टीको पिठाया (टीका–टालो) लगाई शुभकामना आदानप्रदान गरिन्छ । पुस शुक्ल पूर्णिमाअगावै भुवा पर्वको

विधिवत् समापन गर्ने चलन छ ।


भुवा पर्वको अवसरमा प्रत्येक घरमा चिउरा कुट्ने र भुवा नाच्ने चौर (भुवाखाडा) मा बोकाबली दिने गरिन्छ । पछिल्लो समय विभिन्न कारणले पुरुषहरू देशबाहिर रोजगारीका लागि जाने भएकाले कतिपय गाउँहरूमा भने भुवा पर्वको महत्त्व बिस्तारै हराउन थालेको स्थानीयको भनाइ छ ।


प्रकाशित : पुस २५, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?