अदुवाले मूल्य पाउँदा खुसी

मोहन शाही

डोटी — अदुवाले आकर्षक मूल्य पाउँदा डोटीका किसान खुसी छन् । गत वर्ष मूल्य नपाउँदा सुकाएर बेच्न बाध्य किसानले अहिले राहत महसुस गरेका छन् । 

सूदुरपश्चिमको कैलाली र डोटीको चुरे क्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र मानिन्छ । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा बिक्री गरिसकेको बताए । ‘गत वर्ष जम्मा १५ हजार जति मात्र कमाइ भयो,’ उनले भने, ‘१५ क्विन्टल फलाएको भए पनि मूल्य घटेकाले व्यापारीहरूले किन्न पनि मानेनन् ।’

उनले गत वर्ष बीपीनगर बजारमा आफैं अदुवाको भारी बोकेर बेच्न लग्नुपरेको पीडा सुनाए । तर यस वर्ष व्यापारी तथा अदुवा कम्पनीहरू घरघरमै आएर अदुवा लैजान लागेका छन् ।

गत वर्ष किसानहरूले मुस्किलले अधिकतम २० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेका थिए । यो वर्ष भने अदुवाको न्यूनतम मूल्य किसानले ३५ रुपैयाँ पाएको बलबहादुर बुढामगरले बताए । गत वर्ष अदुवाबाट ३० हजार मात्र कमाएका उनले यो वर्ष एक लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन् ।

मूल्य नपाउँदा गत वर्ष अधिकांश किसानहरूले अदुवा सुठो बनाएर बिक्री गरेका थिए । डोटीमा भारतका व्यापारीहरू स्थानीय व्यापारीसँग सहकार्य गरी अदुवा संकलनका लागि गाउँ छिर्ने गर्छन् । डोटीको बीपीनगर, निरौली, बर्छैन, मान्नाकापडी, घाङ्गल, लाना, चवराचौतारा, केदारअखडा, सिमचौर लगायतका गाउँमा अदुवा अत्यधिक उत्पादन हुने गर्छ ।

डोटीमा मात्रै वार्षिक १० हजार मेट्रिक टन अदुवा उत्पादन हुने सुदूरपश्चिम प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको कृषि प्रवद्र्धन महाशाखा प्रमुख यज्ञराज जोशीले जानकारी दिए । पहाडको अदुवामा तेल बढी हुने, सुगन्धित र स्वास्थ्यका लागि हितकारी हुने भएकाले पनि बजारमा माग बढ्दै गएको बताए ।

पछिल्लो समय नेपालको अदुवालाई स्तरीकरण गरेर बाहिरी मुलुक निर्यात गर्ने गरेका कारण किसानहरूले राम्रो मूल्य पाउने गरेको जोशीको दाबी छ । ‘अहिले नेपालमै अदुवा प्रशोधन गरेर पनि बाहिर निर्यात हुने गरेको छ,’ उनले भने, ‘यसअघि किसानले खेतबाट खनेर बोरामा हालेर बाहिर पठाउँदा मूल्य दिन अन्तर्राष्ट्रिय व्यापारीहरूले मानेका थिएनन् ।’

डोटी र कैलालीका किसानहरूले उत्पादन गर्ने अदुवालाई लक्षित गरी कैलालीको चुरे क्षेत्र सहजपुरमा अदुवा प्रशोधन गर्ने ओएमसी नामक कम्पनी स्थापना गरिएको छ । ग्रामीण पहुँच विकास केन्द्र तेस्रो चरणको सहयोग र समन्वय स्थापना गरिएको सो कम्पनीले डोटीको अदुवा प्रशोधन गरेर जर्मन लगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरेको ग्रामीण पहुँच विकास केन्द्र तेस्रो चरणका जिल्ला प्रबन्धक राजेन्द्र गिरीले बताए ।

प्रकाशित : पुस २६, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तहले बुझाएनन् प्रतिवेदन

हरि गौतम

रुकुम पश्चिम — दोस्रो चौमासिकको निकासा लिएर स्थानीय तहले धमाधम काम गर्नुपर्ने बेलासम्म पनि उनीहरूले पहिलो चौमासिककै प्रतिवेदन बुझाउन सकेका छैनन् ।

रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाको कार्यालय । तस्बिर : हरि/कान्तिपुर

जिल्लाका कुनै पनि स्थानीय तहले पहिलो चौमासिकबापत निकासा लिएको रकम र त्यसबाट भएको वित्तीय तथा अन्य प्रगति विवरण बुझाउन नसकेका हुन् ।

पहिलो चौमासिकको प्रतिवेदन बुझाउन नसकेपछि दोस्रो चौमासिकको रकम पनि स्थानीय तहमा गएको छैन । ‘पहिलो चौमासिकको प्रतिवेदन प्राप्त नभए सम्म दोस्रो चौमासिकको रकम निकासा गर्न मिल्दैन,’ कोष तथा लेखा नियन्त्रक ईश्वरीप्रसाद ढकालले भने, ‘हालसम्म पनि जिल्लाका कुनै स्थानीय तहले पहिलो चौमासिकको प्रतिवेदन बुझाएका छैनन् ।’

चाँडोमा मंसिर १ वा ढिलोमा मंसिर १५ भित्र पहिलो चौमासिकको प्रतिवेदन कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि स्थानीय तहले पुसको अन्तिम सम्ममा समेत पहिलो किस्ताको वित्तीय प्रतिवेदन कोलेनिकामा पुर्‍याउन सकेका छैनन् ।

साउन, भदौ, असोज र कात्तिक महिनामा कुन–कुन योजनाको लागि कति बजेट खर्च भयो । कति बजेट खर्च हुन बाँकी छ । कति बजेट खर्च हुने चरणमा छ जस्ता कुरा उल्लेख भएको विवरण सहितको प्रतिवेदन तयार पारेर दोस्रो चौमासिकको रकममाग गर्नुपर्नेमा स्थानीय तहले पहिलो चौमासिककै विवरण बुझाउन नसकेका हुन् ।

पहिलो चौमासिकको आर्थिक प्रतिवेदन नभई दोस्रो चौमासिकको निकासा नदिनु भनेर महालेखा नियन्त्रकको कार्यालयले जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई परिपत्र नै गरेको छ ।

स्थानीय तहले खर्च भएको र खर्च हुन बाँकी रहेको विवरण मात्रै दिए पनि दोस्रो चौमासिकनिकासा गर्न सजिलो हुने कोष नियन्त्रक ढकालले बताए । जिल्लाका सबै स्थानीय तहका लागि कोलेनिकाले पहिलो चौमासिकमा ३३ प्रतिशतरकम निकासा गरिदिएको थियो ।

प्रकाशित : पुस २६, २०७५ ०९:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT