कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अदुवाले मूल्य पाउँदा खुसी

मोहन शाही

डोटी — अदुवाले आकर्षक मूल्य पाउँदा डोटीका किसान खुसी छन् । गत वर्ष मूल्य नपाउँदा सुकाएर बेच्न बाध्य किसानले अहिले राहत महसुस गरेका छन् । 

सूदुरपश्चिमको कैलाली र डोटीको चुरे क्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र मानिन्छ । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा बिक्री गरिसकेको बताए । ‘गत वर्ष जम्मा १५ हजार जति मात्र कमाइ भयो,’ उनले भने, ‘१५ क्विन्टल फलाएको भए पनि मूल्य घटेकाले व्यापारीहरूले किन्न पनि मानेनन् ।’


उनले गत वर्ष बीपीनगर बजारमा आफैं अदुवाको भारी बोकेर बेच्न लग्नुपरेको पीडा सुनाए । तर यस वर्ष व्यापारी तथा अदुवा कम्पनीहरू घरघरमै आएर अदुवा लैजान लागेका छन् ।


गत वर्ष किसानहरूले मुस्किलले अधिकतम २० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेका थिए । यो वर्ष भने अदुवाको न्यूनतम मूल्य किसानले ३५ रुपैयाँ पाएको बलबहादुर बुढामगरले बताए । गत वर्ष अदुवाबाट ३० हजार मात्र कमाएका उनले यो वर्ष एक लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन् ।


मूल्य नपाउँदा गत वर्ष अधिकांश किसानहरूले अदुवा सुठो बनाएर बिक्री गरेका थिए । डोटीमा भारतका व्यापारीहरू स्थानीय व्यापारीसँग सहकार्य गरी अदुवा संकलनका लागि गाउँ छिर्ने गर्छन् । डोटीको बीपीनगर, निरौली, बर्छैन, मान्नाकापडी, घाङ्गल, लाना, चवराचौतारा, केदारअखडा, सिमचौर लगायतका गाउँमा अदुवा अत्यधिक उत्पादन हुने गर्छ ।


डोटीमा मात्रै वार्षिक १० हजार मेट्रिक टन अदुवा उत्पादन हुने सुदूरपश्चिम प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको कृषि प्रवद्र्धन महाशाखा प्रमुख यज्ञराज जोशीले जानकारी दिए । पहाडको अदुवामा तेल बढी हुने, सुगन्धित र स्वास्थ्यका लागि हितकारी हुने भएकाले पनि बजारमा माग बढ्दै गएको बताए ।


पछिल्लो समय नेपालको अदुवालाई स्तरीकरण गरेर बाहिरी मुलुक निर्यात गर्ने गरेका कारण किसानहरूले राम्रो मूल्य पाउने गरेको जोशीको दाबी छ । ‘अहिले नेपालमै अदुवा प्रशोधन गरेर पनि बाहिर निर्यात हुने गरेको छ,’ उनले भने, ‘यसअघि किसानले खेतबाट खनेर बोरामा हालेर बाहिर पठाउँदा मूल्य दिन अन्तर्राष्ट्रिय व्यापारीहरूले मानेका थिएनन् ।’


डोटी र कैलालीका किसानहरूले उत्पादन गर्ने अदुवालाई लक्षित गरी कैलालीको चुरे क्षेत्र सहजपुरमा अदुवा प्रशोधन गर्ने ओएमसी नामक कम्पनी स्थापना गरिएको छ । ग्रामीण पहुँच विकास केन्द्र तेस्रो चरणको सहयोग र समन्वय स्थापना गरिएको सो कम्पनीले डोटीको अदुवा प्रशोधन गरेर जर्मन लगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरेको ग्रामीण पहुँच विकास केन्द्र तेस्रो चरणका जिल्ला प्रबन्धक राजेन्द्र गिरीले बताए ।

प्रकाशित : पुस २६, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?