१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

माघीको तयारी : सिँगारियो  थारू बस्ती

गणेश चौधरी

टीकापुर — पश्चिम नेपालका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । माघीका लागि दुनाटपरी, जाँडरक्सी तथा मासुको जोहो गर्नेदेखि माघी मेलाको तयारी भइरहेको छ ।

माघीका लागि गाउँ नजिकका नदी/खोलामा बडघरको अगुवाइमा नुहाउन घाट सरसफाइको काम र कतिपय स्थानीय तहले माघी मेलाको तयारी गरेका छन् ।


लम्कीचुहा नगरपालिकाको सहयोगमा माघी मिलन तथा सांस्कृतिक कार्यक्रमको तयारी चलिरहेको लम्कीचुहा नगरपालिका–४ बलियाका पर्शुराम चौधरीले बताए । उनले भने, ‘थारूको संस्कृति परम्परा हराउँदै गएको छ । यसलाई जोगाउनका लागि माघी मिलनको कार्यक्रम बनाएका छौं । माघी मिलनमा थारूका खानपान र सांस्कृतिक कार्यक्रम हुनेछ ।’


थारू समुदायको चाडपर्वमा मुख्य परिकारका रूपमा रहेको ढिकरी बनाउन चामलको पीठो पिसाउने, घर लिपपोत गर्ने, आफन्त साथीभाइलाई माघीमा आमन्त्रण गर्ने क्रम चलिरहेको टीकापुर नगरपालिका–१ का छपीलाल चौधरीले बताए । उनले भने, ‘कामका सिलसिलामा टाढा गएकाहरू पनि आउने क्रम चलेको छ । साथीभाइ आफन्तसितको भेटघाट, आफूभन्दा ठूलाबडाको आशिष लिने र मीठो मसिनो खाएर माघी मनाउने भएका छौं ।’


माघी पर्वमा आफन्त तथा साथीभाइलाई थारू जातिको पकवान्न ढिकरी तथा सुँगुर/बंगुरको मासु खाने/खुवाउने चलन छ । गाउँभरिका थारूले एकै ठाउँमा सुँगुर/बंगुर काट्ने हुँदा आफ्नो परिवारलाई चाहिने मासुको जोहो भइसकेको उनीहरूले बताएका छन् । पछिल्लो समय माघीमा नुहाउने घाटमा मेला लगाउने चलन बढ्दै गएको छ । कैलालीका घोडाघोडी ताल, पथरैया नदी तथा कर्णाली नदीका विभिन्न घाटमा माघी मेला लाग्छ ।


माघी पर्वलाई थारू जातिले नयाँ वर्षका रूपमा पनि लिने भएकाले यो पर्वपछि वर्षभरिको योजना बनाउने काम पनि थारू गाउँमा हुने गर्छ । माघी पर्व ३ दिनसम्म धुमधामसाथ मान्ने र नयाँ योजना अनुसार वर्षभरिका लागि सबै आ–आफ्ना काममा लाग्ने चलन थारू समुदायमा छ ।


थारू गाउँका लागि चाहिने बडघर, चौकीदार र गुरुवा छान्ने काम पनि यो बेला हुन्छ । कमैया मुक्तिको घोषणापूर्व कमैया राख्नका लागि हुने खोज्नीबोज्नीको परम्परा भने अहिले हटेको छ । कमैया प्रथा हटेपछि किसानका जग्गा गरिब किसानले जोत्ने भएकाले त्यो जग्गा अधियाँमा जोत्ने/नजोत्ने छिनोफानो भने यही बेला हुने गरेको छ ।

प्रकाशित : पुस २६, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?