उहिले डर, अहिले भर

मोहन शाही

डोटी — कक्षा कोठामा झ्याल ढोका थिएनन् । सिलेटले छाएको छानाको मूल धुरी भाँच्चिएको थियो । पढ्ने बेला बादल लाग्ने बित्तिकै तामेश्वरी आधारभूत विद्यालय तोलेनीका विद्यार्थी डरले काप्थे । हावा चल्दा चिसोले कठ्यांग्रिन्थे ।

उहिले डर, अहिले भर

पढाइभन्दा जीउ ज्यानको सुरक्षाले विद्यार्थी–शिक्षकलाई सताउँथ्यो । विद्यालयकी प्रधानाध्यापक गोमा खाती रोकायाले भनिन्, ‘विद्यालयका तीनवटै भवन जीर्ण हुँदा पढ्दा पढ्दै काल आउँछ भन्ने पिरलो हुन्थ्यो ।’


केही दिनयता भने तामेश्वरीका विद्यार्थी शिक्षकहरू खुसी छन् । ०३६ सालमा स्थापना भएको तामेश्वरी आधारभूत विद्यालयका तीन वटा जीर्ण भवन अहिले प्रबलीकरण (रेक्ट्रोफिटिङ) विधिबाट सुविधासम्पन्न भएका छन् । ‘पानी चुहिने समस्या टरेको छ, हावाहुरी चल्ने ठाउँमा झ्यालढोका लगाइएका छन्,’ प्रअ रोकायाले भनिन्, ‘रंगरोगन गरेर जस्तोसुकै भूकम्प आउँदा पनि असर नपर्ने गरी जीर्ण भवनहरू नयाँझै बनेका छन् । अब जीउ ज्यानको होइन, पढाइको चिन्तामा जुटेका छौं ।’ राजनीतिक पहुँचको अभावमा दर्जनौं पटक भवन मर्मतका लागि आवेदन दिए पनि कतैबाट सहयोग नमिल्दा ज्यानै जोखिममा राखेर विद्यालय संचालन गर्नुपरेको घटना उनले सम्झिन् ।


तामेश्वरी विद्यालयझै अहिले जिल्लाका ९ सामुदायिक विद्यालयका २३ वटा जीर्ण भवनहरू रेक्टो फिटिङबाट मर्मत गरिएका छन् । जापान सरकारले डोटीमा वल्र्डभिजन इन्टरनेसनल र स्थानीय सामुदायिक विकास केन्द्रमार्फत भवनहरू प्रबलीकरण विधिबाट मर्मत गरेर विद्यालयहरूलाई हस्तान्तरण गरिसकेको छ ।


पुनर्निर्माण हुन सक्ने विद्यालयका भवनलाई प्रबलीकरण विधिबाट माटोको गारो लगाएर निर्माण गरिएको वर्ल्ड भिजन इन्टरनेसनलका सिभिल इन्जिनियर हिरालाल बुढाले बताए । ‘यो जापनिज प्रविधि हो, ७ रेक्टर स्केलसम्मको भूकम्प यसले सजिलै धान्छ,’ इन्जिनियर बुढाले भने, ‘कम खर्चमा विगतभन्दा बढी सुरक्षित हुने गरी काम गरेका छौं ।’


डोटीको सायल, आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाका ९ विद्यालयका २३ वटा भवनलाई प्रबलीकरण विधिबाट निर्माण गरिएको हो । आदर्श गाउँपालिकाको सरस्वती, दुर्गा तथा लक्ष्मी आधारभूत विद्यालय, सायल गाउँपालिकाको तामेश्वरी, कालिका, महाकाली र हिमालय आधारभूत विद्यालय तथा दिपायल सिलगढी नगरपालिकाको सरस्वती र दुर्गा आधारभूत विद्यालयका भवनहरू बनाएको सामुदायिक विकास केन्द्र डोटीका कार्यबाहक कार्यक्रम संयोजक गिरीराज कापडीले जानकारी दिए । उनले ३ करोड ८१ लाखको लागतमा २३ वटा भवनहरूको निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको जानकारी दिए । १६ वटा छात्र/छात्रा मैत्री शौचालयसमेत भूकम्प प्रतिरोधात्मक बनाइएका छन् ।


रेक्टोफिटिङ विधिमार्फत भवन निर्माण भएपछि निकै राहतको अनुभूति भएको आदर्श गाउँपालिका ५ लामिखालमा रहेको सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर धामीले बताए । ‘जीर्ण भएका भवनहरूमा विद्यार्थी पढाउन चिन्ता लाग्ने गथ्र्यो,’ आदर्श गाउँपालिका ३ का वडाध्यक्ष नरेन्द्र रोकायाले भने, ‘रेक्ट्रोफिटिङ प्रविधिबारे थाहा नपाएकाले भवनहरू भत्काउनुपर्छ भन्नेमा पुगेका थियौं, अहिलेको प्रविधिले हामीलाई खर्च, समय र सुरक्षाका हिसाबले निकै खुसी तुल्याएको छ ।’

प्रबलीकरण विधिमा ज्याकेट प्रविधि प्रयोगमा ल्याएकाले भवनबाट हुने क्षति न्यून हुने प्राविधिकहरू बताउँछन् । ‘भित्र पर्खाल हुन्छ, बाहिर ग्याबिन तारले बुनेर प्लास्टर गरिएको हुन्छ,’ बुढाले थपे, ‘केही भइहाल्यो भने पनि ढ्यांगै खस्दैन, टुक्रा टुक्रा भएर खस्ने तथा लच्किने हुन्छ । त्यतिबेलासम्म भवनभित्रका विद्यार्थी शिक्षक सकुशल बाहिर निस्किसक्छन् ।’


आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले पनि गाउँपालिकाले बनाउने नयाँ संरचनाहरूमा त्यही प्रविधि अवलम्बन गर्ने प्रतिबद्धता गरेका छन् । जापान सरकारले डोटीका विभिन्न ३० विद्यालयहरूमा भौतिक संरचना बनाउन सहयोग गरिरहेको छ । जसमध्ये १० विद्यालयलाई जिल्लाका नमुना विद्यालय बनाइने कापडीले बताए । विद्यालयका भौतिक संरचनाहरूलाई भूकम्प प्रतिरोधी बनाउने र विद्यालय सुरक्षा योजना बनाइ कार्यान्वयन गराउन सामुदायिक विकास केन्द्रले पहल गरिरहेको छ ।

प्रकाशित : पुस २७, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?