दुर्गमका विद्यालय : वर्षमा दुई महिना मात्रै पढाइ

बसन्तप्रताप सिंह

बझाङ — साइपाल गाउँपालिकाको धलौन माध्यमिक विद्यालयको ७ कक्षामा पढ्ने कविता धामी कात्तिक १५ देखि नै फुर्सदमा छिन् । अर्धवार्षिक परीक्षा दिएर हिउँदे बिदा भएको उनको स्कुल एकैपटक फागुनको १६ गते मात्र खुल्ने भएपछि उनी लामो बिदा मनाउन सदरमुकाम झरेकी छन् । 

‘अर्धवार्षिक परीक्षा दिएपछि बिदा दिए । अब वार्षिक परीक्षाको बेला मात्र खुल्छ,’ कविताले भनिन् । लामो समयसम्म स्कुल बन्द हुदाँ पढाइ पूरा हुन्छ त ? उनले भनिन्, ‘यो वर्ष मात्र होइन, पढाइ त कहिले पनि पूरा हुँदैन ।प्रत्येक वर्ष यस्तै हो ।’

यहाँका विद्यार्थी वैशाखको पहिलो साताबाट किरा टिप्न लेक जान्छन् । भदौ पहिलो साता मात्रै गाउँ फर्किन्छन् । स्कुलको पढाइ कसरी छुट्छ भन्ने विवरण दिंदै धुली आधारभूत विद्यालयमा ७ कक्षा अध्ययरत डोल्मा लामाले भनिन्, ‘भदौदेखि दसैं बिदा नहुन्जेल पढाइ हुन्छ । दसंै तिहार बिदापछि अर्धवार्षिक परीक्षा हुन्छ । अनि जाडो बिदा सुरु भइहाल्छ । हिउँदभरि विद्यालय बन्द हुन्छन् । एकैपटक चैतमा परीक्षा हुन्छ । एक वर्षमा २ महिनाजति स्कुल खुल्छन् होला ।’

उनले साइपाल गाउँपालिकामा रहेका सबै ५ वटा विद्यालयमा अध्ययनरत ७ सयभन्दा बढी विद्यार्थीहरूले प्रत्येक वर्ष पढाइ पूरा नगरेरै वार्षिक परीक्षा दिइरहेको बताइन । यसरी प्रत्येक वर्ष अर्धवार्षिक परीक्षा दिएपछि एकै पटक वार्षिक परीक्षामा मात्र विद्यालय टेक्ने बाध्यता साइपाल गाउँपालिकाका विद्यार्थीको मात्र छैन, जिल्लाको उत्तरी भेगका २ दर्जनभन्दा बढी विद्यालयमा पढ्ने तीन हजारभन्दा बढी विद्यार्थीले धेरै वर्षदेखि यस्तै नियत भोगिरहेका छन् ।

यार्सागुम्बा संकलन हुने साबिकका काँडा, सुर्मा, दौलिचौर, मेलबिसौना, दहबगर र जयपृथ्वी नगरपालिकाको सुइल, मयाना, गजौन र बारिलका २४ भन्दा बढी विद्यालयका विद्यार्थी वैशाखदेखि साउनसम्म यार्सा टिप्न जाने भएकाले विद्यालय बन्द हुन्छन् । हिउँदमा चिसोका कारण कात्तिकको दोस्रो सातादेखि फागुनसम्म विद्यालय बन्द हुने गरेका छन् ।

हिमाली क्षेत्रका बासिन्दा हिउँदयाममा केटाकेटीसहित औल झर्ने भएकाले विद्यालय खोले पनि पढ्न कोही नआउने गरेकाले विद्यालय बन्द गर्नुपरेको शिक्षक बताउँछन् । ‘यहाँका मानिसहरू हिउँद सुरु हुनासाथ केटाकेटी बोकेर बेसी झरिहाल्छन् । शिक्षकहरू दिनभर स्कुलमा आगो तापेर बस्नुपर्छ । विद्यार्थी एक जना पनि हुँदैनन्,’ सदरमुकाम चैनपुरमा भेटिएका धुली आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज जोशीले भने,‘वैशाख नलाग्दै लेकतिर गइहाल्छन् । अनि पूरा पढाइ कसरी हुन्छ ?’

शिक्षकहरूले विद्यालय खुलेको बेला पनि राम्रोसँग नपढाउने गरेका कारण यहाँका विद्यार्थीको पढाइ कमजोर हुने गरेको विद्यार्थीको आरोप छ । ‘सरहरू वर्षमा दुई महिना मात्र स्कुल आउँछन्, आएको बेला पनि नपढाइकन रक्सी खाएर गाउँमै हल्लिन्छन्,’ ८ कक्षामा अध्ययनरत जस्मल बोहराले भने, ‘खासमा यहाँ नपढेरैपरीक्षा दिनुपर्छ भने पनि हुन्छ ।’

वर्षमा २ महिना मात्र विद्यालय खुल्ने समस्याका कारण सबैभन्दा बढी मार साइपाल गाउँपालिकाका विद्यार्थीको पढाइमा परेको छ । यहाँका ५ वटा विद्यालयमा ७ सय ४२ जना विद्यार्थी अध्ययनरत रहेको जिल्ला शिक्षा इकाइको आँकडा छ । वर्षमा कम्तीमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा २ सय १० दिन कक्षा संचालन भएको हुनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा गरिएको भए पनि यहाँका विद्यार्थीले ६०/७० दिन मात्र कक्षा लिएको भरमा परीक्षा दिनुपर्ने अवस्था छ । २ वटा माध्यमिक विद्यालय रहेको काँडामा यस वर्षको एसईई, परीक्षामा काँडा माविमा एक जना पनि विद्यार्थी उत्तीर्ण भएनन् । अघिल्लो वर्षकोपरीक्षामा अर्काे विद्यालय धलौन माविले शून्य नतिजा ल्याएको थियो ।

सदरमुकाम चैनपुरदेखि ९० किलो मिटर उत्तरमा पर्ने यो गाउँपालिका दुर्गम भएका कारणले यसअघि सघन निरीक्षण गर्नसमेत गाह्रो भएको र भौगोलिक विकटता, चिसो मौसम र यार्साका कारण विद्यार्थीको पढाइ बिग्रने गरेको जिल्ला शिक्षा इकाइ प्रमुख सुरेन्द्र कठायतले बताए ।

‘चिसोमा कक्षा संचालन गर्न सकिंंदैन, गर्मीमा विद्यार्थी रोक्न सकिंदैन,’ उनले भने, ‘केटाकेटीका आँखा तेजिला हुने भएकाले बढी यार्सा भेट्टाउँदा रहेछन् । २/३ कक्षा पढ्ने विद्यार्थीले ३ महिनामा एक डेढ लाख कमाउँछन् । हामीले चाहेर पनि रोक्न सक्ने अवस्था छैन ।’ उनले अब विद्यालयलाई नियमन गर्ने सबै अधिकार स्थानीय तहमा नै गएको बताउँदै गाउँपालिकाले यस्तो समस्या समाधानका लागि सोच्नुपर्ने बताए ।

साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले यस गाउँपालिकाको शिक्षा शाखा प्रमुखको रूपमा जिल्ला शिक्षा इकाइले पठाएका स्रोत व्यक्ति प्रेम बुढा एक वर्षदेखि आफूहरूको सम्पर्कमा नआएका कारण यहाँको शैक्षिक अवस्था लथालिंग भएको बताए ।

उनले यस विषयमा आफूहरूले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा इकाइमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको बताए । जिल्ला शिक्षा इकाइ प्रमुख कठायतले भने शिक्षा शाखाको कर्मचारीउपस्थित नभएमा अर्काे भर्ना गर्ने अधिकार पनि गाउँपालिकालाई नै भएकोले यस विषयमा कसैलाई दोष दिन नमिल्ने बताए ।

प्रकाशित : पुस २७, २०७५ १०:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उहिले डर, अहिले भर

मोहन शाही

डोटी — कक्षा कोठामा झ्याल ढोका थिएनन् । सिलेटले छाएको छानाको मूल धुरी भाँच्चिएको थियो । पढ्ने बेला बादल लाग्ने बित्तिकै तामेश्वरी आधारभूत विद्यालय तोलेनीका विद्यार्थी डरले काप्थे । हावा चल्दा चिसोले कठ्यांग्रिन्थे ।

डोटीको सायल गाउँपालिका तोलेनीस्थित तामेश्वरी आधारभूत विद्यालयको नयाँ भवन । तस्बिर : कान्तिपुर

पढाइभन्दा जीउ ज्यानको सुरक्षाले विद्यार्थी–शिक्षकलाई सताउँथ्यो । विद्यालयकी प्रधानाध्यापक गोमा खाती रोकायाले भनिन्, ‘विद्यालयका तीनवटै भवन जीर्ण हुँदा पढ्दा पढ्दै काल आउँछ भन्ने पिरलो हुन्थ्यो ।’

केही दिनयता भने तामेश्वरीका विद्यार्थी शिक्षकहरू खुसी छन् । ०३६ सालमा स्थापना भएको तामेश्वरी आधारभूत विद्यालयका तीन वटा जीर्ण भवन अहिले प्रबलीकरण (रेक्ट्रोफिटिङ) विधिबाट सुविधासम्पन्न भएका छन् । ‘पानी चुहिने समस्या टरेको छ, हावाहुरी चल्ने ठाउँमा झ्यालढोका लगाइएका छन्,’ प्रअ रोकायाले भनिन्, ‘रंगरोगन गरेर जस्तोसुकै भूकम्प आउँदा पनि असर नपर्ने गरी जीर्ण भवनहरू नयाँझै बनेका छन् । अब जीउ ज्यानको होइन, पढाइको चिन्तामा जुटेका छौं ।’ राजनीतिक पहुँचको अभावमा दर्जनौं पटक भवन मर्मतका लागि आवेदन दिए पनि कतैबाट सहयोग नमिल्दा ज्यानै जोखिममा राखेर विद्यालय संचालन गर्नुपरेको घटना उनले सम्झिन् ।

तामेश्वरी विद्यालयझै अहिले जिल्लाका ९ सामुदायिक विद्यालयका २३ वटा जीर्ण भवनहरू रेक्टो फिटिङबाट मर्मत गरिएका छन् । जापान सरकारले डोटीमा वल्र्डभिजन इन्टरनेसनल र स्थानीय सामुदायिक विकास केन्द्रमार्फत भवनहरू प्रबलीकरण विधिबाट मर्मत गरेर विद्यालयहरूलाई हस्तान्तरण गरिसकेको छ ।

पुनर्निर्माण हुन सक्ने विद्यालयका भवनलाई प्रबलीकरण विधिबाट माटोको गारो लगाएर निर्माण गरिएको वर्ल्ड भिजन इन्टरनेसनलका सिभिल इन्जिनियर हिरालाल बुढाले बताए । ‘यो जापनिज प्रविधि हो, ७ रेक्टर स्केलसम्मको भूकम्प यसले सजिलै धान्छ,’ इन्जिनियर बुढाले भने, ‘कम खर्चमा विगतभन्दा बढी सुरक्षित हुने गरी काम गरेका छौं ।’

डोटीको सायल, आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाका ९ विद्यालयका २३ वटा भवनलाई प्रबलीकरण विधिबाट निर्माण गरिएको हो । आदर्श गाउँपालिकाको सरस्वती, दुर्गा तथा लक्ष्मी आधारभूत विद्यालय, सायल गाउँपालिकाको तामेश्वरी, कालिका, महाकाली र हिमालय आधारभूत विद्यालय तथा दिपायल सिलगढी नगरपालिकाको सरस्वती र दुर्गा आधारभूत विद्यालयका भवनहरू बनाएको सामुदायिक विकास केन्द्र डोटीका कार्यबाहक कार्यक्रम संयोजक गिरीराज कापडीले जानकारी दिए । उनले ३ करोड ८१ लाखको लागतमा २३ वटा भवनहरूको निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको जानकारी दिए । १६ वटा छात्र/छात्रा मैत्री शौचालयसमेत भूकम्प प्रतिरोधात्मक बनाइएका छन् ।

रेक्टोफिटिङ विधिमार्फत भवन निर्माण भएपछि निकै राहतको अनुभूति भएको आदर्श गाउँपालिका ५ लामिखालमा रहेको सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर धामीले बताए । ‘जीर्ण भएका भवनहरूमा विद्यार्थी पढाउन चिन्ता लाग्ने गथ्र्यो,’ आदर्श गाउँपालिका ३ का वडाध्यक्ष नरेन्द्र रोकायाले भने, ‘रेक्ट्रोफिटिङ प्रविधिबारे थाहा नपाएकाले भवनहरू भत्काउनुपर्छ भन्नेमा पुगेका थियौं, अहिलेको प्रविधिले हामीलाई खर्च, समय र सुरक्षाका हिसाबले निकै खुसी तुल्याएको छ ।’
प्रबलीकरण विधिमा ज्याकेट प्रविधि प्रयोगमा ल्याएकाले भवनबाट हुने क्षति न्यून हुने प्राविधिकहरू बताउँछन् । ‘भित्र पर्खाल हुन्छ, बाहिर ग्याबिन तारले बुनेर प्लास्टर गरिएको हुन्छ,’ बुढाले थपे, ‘केही भइहाल्यो भने पनिढ्यांगै खस्दैन, टुक्रा टुक्रा भएर खस्ने तथा लच्किने हुन्छ । त्यतिबेलासम्म भवनभित्रका विद्यार्थी शिक्षक सकुशल बाहिर निस्किसक्छन् ।’

आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले पनि गाउँपालिकाले बनाउने नयाँ संरचनाहरूमा त्यही प्रविधि अवलम्बन गर्ने प्रतिबद्धता गरेका छन् । जापान सरकारले डोटीका विभिन्न ३० विद्यालयहरूमा भौतिक संरचना बनाउन सहयोग गरिरहेको छ । जसमध्ये १० विद्यालयलाई जिल्लाका नमुना विद्यालय बनाइने कापडीलेबताए । विद्यालयका भौतिक संरचनाहरूलाई भूकम्प प्रतिरोधी बनाउने र विद्यालय सुरक्षा योजना बनाइ कार्यान्वयन गराउन सामुदायिक विकास केन्द्रले पहल गरिरहेको छ ।

प्रकाशित : पुस २७, २०७५ १०:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्