कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बच्चा बोकेर शिविरमा

अछाम — पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडाकी नमुना थापामगर नागरिकता लिन दुधे बालकसहित चिल्तडामा सञ्चालित शिविर पुगिन् । नमुनाले ५ वर्षदेखि नागरिकता बनाउन खोजेकी थिइन् ।

सदरमुकाम आउन ३ दिन र त्यसका लागि कम्तीमा ५ हजार खर्च आवश्यक पर्ने भएकाले धोको अधुरै थियो । अहिले भने शिविरबाटै नागरिकता पाएपछि दंग छिन् ।


‘सदरमुकाम पुग्नै ३ दिन लाग्छ,’ उनले भनिन्, ‘पैसाको चाँजोपाँजो मिलाउनुपर्ने, घरमा छोराछोरी र गाईबस्तुको हेरचाह गर्ने कोही नभएकाले नागरिकता बनाउन सकेकी थिइनँ ।’ गाउँकै बिमला गिरी पनि २ बच्चासहित शिविर आइन् । उनले पनि सदरमुकाम टाढा भएकाले नागरिकता बनाउन पाएकी थिइनन् । ३४ वर्षको उमेरमा बल्ल बनाइन् । ‘घरकै काम गर्न, बालबच्चाको रेखदेख गर्न समय पुग्दैन । मंगलसैन गएर नागरिकता लिने योजना पटकपटक बनाए पनि जान सकिएको थिएन,’ उनले भनिन् ।


सदरमुकाम मंगलसैन पुग्न कालेकाँडाबाट दैलेख भएर आउनुपर्ने बाध्यता छ । नगरकै वडामा समेत सडक नपुगेकाले दैलेखको आठबीस नगरपालिका पुगेर गाडी चढ्नुपर्ने बाध्यता रहेको गिरीले बताइन् ।


जिल्ला प्रशासन कार्यालयले कालेकाँडा, शोडषा, ऋषिदह, भुलु, रहफ, बलाता, बस्ती, रामारोशनलगायतका विकट गाउँमा शिविर सञ्चालन गरेर नागरिकता वितरण गरेपछि विकट क्षेत्रका स्थानीयले गाउँमै सेवा पाएका हुन् ।


‘सदरमुकाम जानुपर्दा धेरै महिलाले नागरिकता बनाउन पाएका थिएनन् । न त चुनावमा आफ्नो मताधिकार नै प्रयोग गर्न पाएका थिए,’ बिमलाले भनिन् । ग्रामीण भेगका स्थानीयलाई गाउँबाटै सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि दुर्गम गाउँका महिलाहरू खुसी भएका छन् ।

प्रकाशित : पुस २८, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?