कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतमा मजदुरी गर्दै नेपाली विद्यार्थी

मनाेज बडु

दार्चुला — व्यास गाउँपालिकाका विद्यालयमा हिउँदे बिदा भएपछि स्कुले विद्यार्थी मजदुरी गर्न भारत जान थालेका छन् । पुसको दोस्रो सातादेखि १५ दिनका लागि व्यास क्षेत्रका विद्यालयमा हिउँदे बिदा भएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएका विद्यार्थी बिदाको समयमा मजदुरी गर्न भारत जाने गरेको स्थानीय शिक्षक रमेश भट्टले बताए । ‘दैनिक ज्यालादारीमा काम गर्न विद्यार्थी भारत जान्छन्,’ उनले भने, ‘यस क्षेत्रमा यो चलन पुरानै हो ।’ व्यास गाउँपालिका–५ धौलाकोटका रतनसिंह धामीका छोरा नरसिंह पनि स्कुल बिदा भएको दोसै्र दिन भारत हिंडेका छन् । रतनसिंहले भने, ‘भारतमा मजदुरी गरेर आफ्नो पढाइ र केही घर खर्च जोहो गर्छन् ।’ उनले छोराले मजदुरीबाट ५ हजार भारु कमाएर ल्याउने आशा गरे । ‘दैनिक ५ सय भारुसम्म ज्याला पाउँछन्,’ उनले भने ।


अभिभावककै सहमतिमा व्यास गाउँपालिका–३ सिनाका कक्षा १० मा अध्ययनरत अक्बरसिंह डडाल भारतले महाकाली किनारमा निर्माण गरिरहेको धारचुला–लिपुलेक सडकमा मजदुरी गरिरहेका छन् । अहिले उनी बिहान मजदुरी गर्न भारत जाने र बेलुका घर फर्कन्छन् । उनलाई उक्त सडक निर्माण गरिरहेको ठेकेदारले एक छाक खाना दिएर दैनिक ८ सय रुपैयाँ ज्याला दिएको छ ।


महिना दिनसम्म मजदुरी गरी २०/२२ हजार रुपैयाँ कमाइ हुने भएकाले अभिभावक पनि बिदाका बेला स्कुले विद्यार्थीलाई मजदुरीमा पठाउन उत्साहित हुने गरेका स्थानीय बासिन्दाले बताए । ‘सडक निर्माणका काममा नेपाली युवाहरूले सहजै काम पाउँछन्,’ डडालले भने, ‘शरीरलाई कष्ट हुने काम यो क्षेत्रका भारतीयहरू कमै गर्ने भएकाले सहजै काम पाइन्छ ।’ ज्याला दरसमेत यहाँको भन्दा बढी पाइने भएकाले अन्य सर्वसाधारण पनि मजदुरी गर्न भारत जाने गरेको बताउँछन् । गाउँमा भने मजदुरीको काम नियमित नपाइने र काम पाए पनि समयमै ज्याला नपाउने झन्झटले यहाँका बासिन्दाहरू भारततर्फ मजदुरी गर्न रुचाउँछन् ।


बिदाको समयमा विद्यार्थीलाई व्यस्त बनाउन शिक्षकहरूले धेरै गृहकार्य दिने गरेको भए पनि अभिभावकहरूले पढाइभन्दा आफ्ना बालबालिकालाई काममै लगाउन खोज्छन् । यही कारणले विद्यालयमा सिकेको कुरा बिदामा बिर्सने गरेको शिक्षक भट्टले बताए । पढाइमा ध्यान दिने विद्यार्थीले गृहकार्य गरेकै हुन्छन् । चासो नदिने विद्यार्थीको सिकाइ उपलब्धि भने कमजोर हुने गरेको उनको भनाइ छ ।

प्रकाशित : पुस २९, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?