१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सीमा नदीमा जलयात्रा

भवानी भट्ट

कञ्चनपुर — र्‍याफ्टिङ गाइडका रूपमा ख्याति कमाएका चितवनका कमल ठकुरीले तीन दशकअघि नै उत्तरी नाका तिंकरदेखि दक्षिण पश्चिमी सीमा कुतियाकभरसम्म महाकाली नदीमा ‘कायकिङ ट्रिप’ गरेका थिए ।

सीमा नदीमा जलयात्रा

३ स्वदेशी र एक जना इटालियन नागरिकसहितको उक्त ‘ट्रिप’ ६ दिनमा सकिएको थियो । सीमा नदी भएकाले कतै भारत र कतै नेपाली क्षेत्र पर्ने भएकाले त्यतिबेला भारतीय पक्षले केही ठाउँमा अवरोध गरे पनि यात्रा भने रमाइलो भएको उनको अनुभव छ ।


ठकुरीलाई त्यतिबेलै महाकालीमा साहसिक जलयात्रा (र्‍याफटिङ) का लागि उपयुक्त नदी लागेको थियो । शान्त रूपमा बग्ने भएकाले जोखिम कम र मनोरञ्जन पनि लिन सकिने भएकाले नयाँ र्‍याफ्टिङ पारखीका लागि झन उत्तम हुन सक्ने उनको आँकलन थियो । बिहीबार पहिलो पटक महाकाली नदीमा र्‍याफ्टिङको परीक्षण हुँदा प्रमुख गाइड तिनै ठकुरी थिए । सन् १९९१ मा देखेको सपना पूरा हँुदा उनी कम्ती खुसी थिएनन् ।


‘नेपाली र भारतीयहरूका लागि र्‍याफ्टिङ गर्न योभन्दा राम्रो नदी र अवसर अन्त हुन सक्दैन,’ उनले भने, ‘करेन्ट कम भएकाले जोखिम न्यून छ, मनोरञ्जन लिनका लागि पनि प्रशस्त दूरी छ ।’ उनले सीमा नदी भएकाले भारतीय पर्यटकहरूलाई अझ बढी लोभ्याउन सक्ने बताए ।


महाकालीमा पहिलो पटक र्‍याफ्टिङ हुँदा ठकुरीझैं स्थानीयसमेत उत्साहित भए । र्‍याफ्टिङ गर्नेहरू पनि हौसिएका छन् । यसअघि टेलिभिजनका पर्दामा देखिने दृश्य प्रत्यक्ष देख्दा र आफैं त्यसमा सहभागी हुँदा बेग्लै आनन्द महसुस भएको स्थानीय बताउँछन् । उनीहरूले प्रशस्त पर्यटकीय क्षेत्रहरू रहेको महाकाली किनारको प्रचारप्रसार र्‍याफ्टिङका माध्यमले सहज हुने आशासमेत गरेका छन् ।


र्‍याफ्टिङलाई साहसिक खेलका रूपमा पनि लिइन्छ । तीव्र बहाव र पहाडका खोंचहरूमा समेत निकै साहसपूर्ण रूपमा जलयात्रा गरिन्छ । विदेशीहरू जोखिमपूर्ण क्षेत्रमा र्‍याफ्टिङ गर्न रुचाउने भए पनि नेपाली र भारतीयहरू भने जोखिम नभएको ठाउँ रुचाउँछन् । केही ठाउँमा तीव्र बहावबाहेक प्राय: शान्त बग्ने भएकाले महाकाली नयाँ र्‍याफ्टिङ पारखीका लागि उपयुक्त छ ।


‘र्‍याफ्टिङमा निकै मनोरञ्जनपूर्ण हुँदोरहेछ,’ पहिलोपटक र्‍याफ्टिङ गरेकी भीमदत्त नगरपालिकाकी उपप्रमुख सुशीला चन्द सिंहले भनिन्, ‘सुरुमा त डर पनि लागेको थियो तर पछि निकै रमाइलो भयो ।’ उनले नेपालकै त्रिशूलीमा भइरहेको र्‍याफ्टिङ देखे पनि प्रत्यक्ष रूपमा भने पहिलोपटक महाकालीमै देखेकी हुन् ।


भीमदत्त नगरपालिकाले महाकाली नदीको बहुउपयोगसंँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले र्‍याफ्टिङको परीक्षण गरेको हो । नगरपालिकाकै विकट क्षेत्र मानिने वडा नं. ९ को मुसेट्टीबाट टनकपुर बांँधसम्म दुई चरणमा परीक्षण गरिएको हो । पहिलो चरणमा मुसेट्टीदेखि खल्लासम्म ६ किलोमिटर र दोस्रो चरणमा खल्लादेखि टनकपुर बांँधसम्म ६ किलोमिटर दूरीमा परीक्षण गरिएको हो ।

खल्ला मुसेट्टी क्षेत्र जिल्लाकै दुर्गम र विकासका दृष्टिले पिछडिएको ठाउँका रूपमा चिनिन्छ ।


बिहीबार सत्तारूढ नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा, सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलसंँगै नगरपालिकाका जनप्रतिनिधिहरूसमेत उक्त ठाउँमा पुग्दा स्थानीय निकै उत्साहित देखिन्थे । मन्त्री रावल र अध्यक्ष थापाले समेत र्‍याफ्टिङ गरेका थिए । महाकालीको छालसँगै मनोरञ्जन गर्दै आधा घण्टाको जलयात्रामा सहभागी भएपछि सबै जना निकै खुसी देखिन्थे ।


‘परशुराम धामदेखि ब्रह्मदेवसम्मै र्‍याफ्टिङ सञ्चालन गर्न सके यस क्षेत्रको पर्यटन विकासले गति लिन्छ,’ राज्यमन्त्री रावलले भने, ‘यसका लागि स्थानीय तहदेखि प्रदेश र संघीय सरकार सबैबीच समन्वय गरेर अघि बढ्नुपर्छ ।’ उनले प्रदेश सरकारले महाकालीमा र्‍याफ्टिङ सञ्चालनका लागि भारतसँग पहलका लागि संघीय सरकारलाई आग्रह गर्ने र अन्य क्षेत्रमा पनि आवश्यक सहयोग गर्ने बताए ।


नेपालमा त्रिशूली, कालीगण्डकी, भोटेकोसी, सेती र कर्णालीलगायतका नदीहरूमा व्यावसायिक रूपमै र्‍याफ्टिङ गरिन्छ । उसो त महाकाली नदीमा पनि गत वर्ष भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पनि धार्चुलादेखि कुतियाकभरसम्मै र्‍याफ्टिङ गरेको थियो । व्यावसायिक रूपमा यसका सम्भाव्यताबारे पहिलोपटक परीक्षण गरिएको हो ।


प्रशिक्षक ठकुरीका अनुसार र्‍याफ्टिङका लागि सबैभन्दा उपयुक्त दूरी ३ घण्टा हो । डडेलधुराको परशुराम नगरपालिकामा पर्ने परशुराम धामदेखि ब्रह्मदेवसम्म यो दूरी पूरा हुने देखिन्छ । परशुराम नगरपालिकाले पनि यसका लागि पहल गरिरहेको जनाएको छ । ‘अब यसलाई व्यावसासायिक रूपमै सञ्चालन गराउन हामीले पहल गरिरहेका छौं,’ उपप्रमुख सिंहले भनिन्, ‘सीमा नदी भएकाले भारतीय पक्षसँग पनि छलफल र समन्वय गरिरहेका छौं ।’ उनले बिहीबार पनि भारतीय पक्षसँगको समन्वयमै परीक्षण गरिएको बताइन् । नियमित रूपमा सञ्चालनका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको उनले बताइन् ।

प्रकाशित : पुस २९, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?