मोयलमा बल्यो बिजुली

बझाङ — थलारा गाउँपालिकाको मोयल गाउँमा बिजुली बलेको छ । पहिलो पटक गाउँमा बिजुलीको झिलिमिली देख्दा स्थानीय वृद्धवृद्धा छक्क परे । उनीहरूले ‘ज्युँदै स्वर्ग देखेको’ बताए । उनीहरूले गाउँमा बिजुली बलेको खुसियालीमा उत्सवै मनाए ।

मोयलमा बल्यो बिजुली

‘गाउँघर झिलिमिली भयो । रात पनि दिनजस्तै छ,’ ७१ वर्षीया नन्दादेवी विकले भनिन्, ‘आफ्नै हातले बिजुली बाल्न पाउला भनेर त सपनामा पनि सोचेकी थिइन् । ज्युँदै स्वर्ग पुगेजस्तो महसुस भइरहेको छ ।’


आफ्नो जिन्दगी झरो (सल्लाको चिराग) को उज्यालोमै बिताएका ६५ वर्षीय बलराम विष्टले अबको पुस्ताले विकासको दर्शन पाएको प्रतिक्रिया दिए । ‘हामी त अहिलेसम्म झरोकै उज्यालोमा बाँच्यौं,’ उनले भने, ‘छोरा नातिले हाम्रोजस्तो दु:ख भोग्नु नपर्ने भयो । हामी निकै खुसी छौं ।’ 


अर्का वृद्ध दीर्घ विष्टले आफ्नै हातले बिजुली बाल्न पाउँदा जन्म नै सार्थक भएको बताए । ‘गाउँमा बिजुली बाल्ने सौभाग्य पाएका छौं । मर्नुअघि झिलिमिली गाउँ देख्न पाउँदा जन्म सार्थक भएजस्तो लागेको छ,’ उनले भने । बिजुली बलेसँगै गाउँमा विकासको ढोका खुलेको थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर जोशीले बताए ।


उनले यस गाउँमा विभिन्न उद्योगधन्दा स्थापना गर्न सकिने स्रोत, सम्भावना र मिहिनेती मानिस रहेको भए पनि विद्युत्को अभावले समस्या भइरहेको बताउँदै अब मोयलले उद्यमी गाउँको रूपमा आफ्नो परिचय बनाउने अवसर आएको जनाए । ‘विद्युत्को पहुँचसँगै अब यहाँको आर्थिक गतिविधि बढाउने खालका उद्योग स्थापनाका लागि पहल गर्नुहोस् । गाउँपालिकाको तर्फबाट आवश्यक पर्ने सहयोग गर्न तयार छौं,’ उनले भने ।


विद्युत् सेवा उपलब्ध भएसँगै विद्यार्थीको पठनपाठनमा सुधार आउने वडा नं ४ का वडाध्यक्ष विष्णुबहादुर विष्टले बताए । उनले अहिलेसम्म यहाँका स्थानीयले टेलिभिजनसमेत हेर्न नपाएको बताउँदै अब सूचना प्रविधिसँग पनि सामीप्य बढ्ने बताए । ‘उज्यालो भनेको उज्यालो हो । आजबाट मोयल उज्यालो भविष्यतर्फ अघि बढेको छ,’ उनले भने ।


थलारा गाउँपालिका र वडापालिकाको ४६ लाख, गरिबी निवारण कोषको २० लाख अनुदान, स्थानीयको १५ लाख बराबरको श्रमदान गरी करिब ८१ लाखको लागतमा लघुविद्युत् आयोजना सम्पन्न भएको हो । १२ किलोवाट क्षमताको लद्युजलविद्युत् आयोजनाबाट यहाँका २ सय ५० परिवार लाभान्वित भएको मोयल लद्युजलविद्युत् आयोजनाका अध्यक्ष नवराज विष्टले बताए । उनले हाल उत्पादित विद्युत्मध्ये ५ किलोवाट मात्र खपत भएको र बाँकी विद्युत्को उपयोग गर्नका लागि कुटानी पिसानी मिल, फर्निचर उद्योग, हातेकागज उद्योग, मसला उद्योग खोल्ने तयारीमा लागेको बताए ।


थलारा गाउँपालिकाको वडा नं ४ मा पर्ने मोयल गाउँका स्थानीयले २०६५ सालमा धान खेती गर्ने सबै जग्गामा खुर्सानी खेती गरेका थिए । जिल्लामै पहिलो पटक व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेर चर्चा कमाएको यो गाउँका बासिन्दाहरू विकासप्रेमीका रूपमा पनि चिनिन्छन् । घर सरसफाइ र पोषण आदि क्षेत्रमा पनि यो गाउँ अन्य गाउँको तुलनामा अगाडि नै रहेको छ । यहाँ स्थानीयले १० वर्षपहिले नै प्रत्येक घरमा गोबरग्यास प्लान्ट स्थापना गरेर आधुनिक ऊर्जाको प्रयोग गरिरहेका छन् ।

प्रकाशित : पुस ३०, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?