गहुँ खेती छाडेर जडीबुटी

भवानी भट्ट

कञ्चनपुर — केही वर्षअघि सम्म बेलडाँडीकी कमला साउँद आधा बिघा जमिनमा धान र गहुँ खेती गर्थिन् । कहिले वर्षा नहुने र कहिले वन्यजन्तुले नै खाइदिने गरेकाले उनले राम्ररी बाली भित्र्याउन कहिल्यै पाइनन् ।

दुई/तीन बोरा गहुँ र त्यतिकै धान पनि जेनतेन उत्पादन गर्थिन् । वन्यजन्तुले हैरान पारेपछि गत वर्षदेखि केमामाइल खेती सुरु गरेकी छन् ।

उनले मात्र होइन, शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँका किसानले अहिले गहुँ खेती गर्न छाडेका छन् । वन्यजन्तुबाट आहात भएका उनीहरूले त्यसको विकल्पमा मेन्था र केमामाइल लगायतका जडीबुटी लगाउन थालेका हुन् । साउदका अनुसार ५ वर्षअघि गाउँमा दुई जनाले मात्रै थोरै मात्रामा केमामाइल खेती गरेका थिए । एक कठ्ठामा गरिएको केमामाइल खेतीबाट १५/२० हजार आम्दानी भएपछि अन्य गाउँले पनि यसतर्फ आकर्षित भए । केमामाइल प्रतिलिटर ४०/५० हजार र मेन्था २/३ हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।

‘एक सिजनमै ५० हजार आम्दानी भयो, त्यसैबाट धान र गहुँ किने,’ कमलाले भनिन्, ‘यसपालि पनि केमामाइल खेती नै गरेकी छु, गत वर्षभन्दा राम्रो आम्दानी हुने आशा छ ।’ उनका अनुसार केमामाइल एक सिजनमा तीन पटकसम्म संकलन गर्न मिल्छ । राम्रो भएमा आधा बिघामा २/३ लिटरसम्म तेल निस्किन्छ । उक्त तेल प्रतिलिटर ४०/५० हजारमा बिक्री हुन्छ ।

बेलडाँडीकै हर्कबहादुर ऐरले पनि यस वर्षदेखि ५ कठ्ठामा केमामाइल खेती गरेका छन् । गहुँ खेतीभन्दा तीन/चार गुना बढी फाइदा हुने भएकाले उनले जडीबुटी खेती सुरु गरेको बताए । बेलडाँडीका ५३ जनाले ३० बिघाभन्दा बढीमा मेन्था र केमामाइल खेती सुरु गरेका छन् ।

जडीबुटी खेती सुरु भएपछि वन्यजन्तुबाट हुने नोक्सान पनि कम भएको छ । मेन्था र केमामाइल वन्यजन्तुले मन पराउँदैनन् । विगतमा गह‘ँु उम्रेदेखि हात्ती र चित्तलको बथान पस्ने गथ्र्याे । तर अहिले उक्त समस्या हटेको छ । गहुंँ खेतीभन्दा जडीबुटीबाट आम्दानी पनि दोब्बर तेब्बर बढी भएको छ ।

‘तीन कठ्ठामा ३ बोरा पनि गहँु उत्पादन हुँदैनथ्यो,’ गत वर्षदेखि जडीबुटी खेती सुरु गरेका करनसिंह बोहराले भने, ‘केमामाइल खेती सुरु गरेपछि ५३ हजार आम्दानी भयो ।’ गैरसरकारी संस्था निड्स नेपालको सहयोगमा जडीबुटी उद्योग स्थापना भएपछि कृषकहरू मेन्था र केमामाइलसँगै घर आँगनमै रहेको सामुदायिक वनबाट कडीपत्ता संकलन गरी पेल्न थालेका छन् ।

प्रगति महिला सामुदायिक वनबाट कडीपत्ता संकलन गरी जडीबुटी उद्योगमा पेल्न थालेका छन् । कडीपत्ताको तेल प्रतिलिटर ४/५ हजारमा बिक्री हुन्छ । गाउँलेहरू पालैपालो कडीपत्ता संकलन र पेल्ने काममा लाग्छन् । उत्पादन भएको जडीबुटीको तेल खरिद गर्न नेपालगञ्जका व्यापारीहरू गाउँमै आउने गर्छन् । बिक्री गर्न पनि कुनै समस्या छैन ।

सामुदायिक वनको कडीपत्ता पनि आम्दानीको स्रोत बनेपछि उपभोक्ताहरू सदुपयोगसंँगै संरक्षणमा लागेका छन् । दिगोरूपमा संरक्षण हुने गरी मात्रै वनबाट संकलन भइरहेको सामुदायिक वनकी कोषाध्यक्षसमेत रहेकी कमला साउँदले बताइन् ।

प्रकाशित : माघ १, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?