२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गिटी कुटेर पढाइ खर्च

अछाम — मंगलसैन नगरपालिका–३ लाछिमनाकी १३ वर्षीया शोविता बोगटी ज्ञानद्वीप आभारभूत विद्यालयको ५ कक्षामा पढ्छिन् । उनको काम यतिमै सीमित भने छैन ।

गिटी कुटेर पढाइ खर्च

पढाइसँगै बिहान र बेलुकाको समयमा गिटी कुट्नु र आफूभन्दा मुनिका ३ भाइबहिनीको हेरालो बन्ने दायित्व पनि उनकै काधमा छ ।

उनले गिटी कुटेर मासिक २ देखि ४ हजारसम्म आम्दानी गर्छिन् । त्यही कमाइले आफ्नो पढाइ खर्चको जोहो गर्छिन् । बिहान ७ देखि ९ बजेसम्म र विद्यालय छुट्टी भएदेखि बेलुका ६ बजेसम्म गिटी कुट्नु उनको दैनिकी हो । ‘हरेक दिन साँझ र बिहान गिटी कुट्छु,’ शोविताले भनिन्, ‘यो मेरो रहर हैन, बाध्यता हो ।’ गिटी कुटेर आम्दानी नगरे स्कुल पढ्ने खर्च जुटाउन नसक्ने अवस्था

रहेको उनले बताइन् ।


बुवाआमाले पनि दैनिक मजदुरी गर्ने र छाक टार्न मुस्किल भएपछि १० वर्षको उमेरदेखि गिटी कुट्न सुरु गरेको उनले बताइन् । अहिले विस्तारै चिसो बढिरहेको छ । मध्यपहाडी लोकमार्गको छेउछाउमा गिटी कुट्ने शोविताजस्ता धेरैलाई न चिसो न गर्मी । त्यसको कुनै पर्बाह छैन । उनले भनिन्, ‘मलाई पनि अरू साथीहरू जस्तै पढ्न मन छ । मीठो मसिनो खाने रहर त लाग्छ । तर सोचे जस्तो कहिल्यै भएन ।’


विद्यालय जाने उमेरका र न्यून आयस्रोत भएका परिवारका बालबालिका कापी कलम किन्नका लागि राजमार्गमा गिटी कुट्ने गरेका छन् । आमा, हजुरआमा, दाजुभाइ, दिदीबहिनीसँगै गिटी कुटेर दैनिक १ सय ५० रुपैयाँसम्म आम्दानी गर्छन् । बिदाको दिन त प्राय:जसो सबै बालबालिका गिटी कुट्नमा व्यस्त देखिन्छन् । अछामका छिपेखोला, मध्यपहाडी लोकमार्ग छेउछाउ, विनायक र मंगलसैन लगायत स्थानमा बालबालिकाले बिदाका दिन गिटी कुटेर आम्दानी गर्छन् । त्यो रकमले कापी कलम र लुगाफाटोको जोहो गर्छन् ।


अभिभावक पनि घरमा उपद्रो र चकचक बढी गर्ने भएकाले केटाकेटीलाई आफूसँगै गिटी कुट्न ल्याउने गरेको बताउँछन् । घरमा भएका पाका पुरुष काम गर्न भारत लाग्छन् । केटाकेटीको हेरचाहका लागि पनि काम गर्ने ठाउँमा ल्याउनुपर्ने बाध्यता रहेको राजमार्गमा काम गर्दै गरेका महिलाले बताए ।


‘कापी, किताब र कलम समात्नुपर्ने हातले हथौडा समातेर गिटी कुट्नु हाम्रा बालिबालिकाको बाध्यता हो,’ स्थानीय शारदा बोगटीले भनिन्, ‘छाक टार्न धौधौ छ ।’ बालबालिकाको क्षेत्रमा काम गर्ने धेरै सरकारी र गैरसरकारी संस्था भए पनि न्यून आयस्तर भएका र राजमार्गको छेउछाउमा काम गर्ने बालबालिकाको हकअधिकारका लागि आवाज उठाउने कोही नभएको उनीहरूको गुनासो छ ।

प्रकाशित : माघ १, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?