जनप्रतिनिधिद्वारा मदिरा नियन्त्रणको माग

मदिरा बिक्रि वितरणले समाजमा समस्या ल्याइरहेको भएपनि त्यसको ब्यवस्थापन चुनौतिपूर्ण 
मोहन शाही

डोटी — केआई सिंह गाउँपालिकाको आइतबार सम्पन्न चौथो गाउँसभामा वडा नम्बर ५ का वडाध्यक्ष रामचन्द्र राणाले मदिरा नियन्त्रणको प्रस्ताव गरे ।

उनले दिनहुँ हुने झगडा, कुटपिट र महिलामाथिको दुव्र्यवहारले गाउँपालिकाको विकासमा बाधा पुर्‍याइरहेको भन्दै मदिरा नियन्त्रणका लागि कडा कदम चाल्नुपर्ने अडान लिए ।


उनको प्रस्तावमाथि वडा नम्बर ७ का वडाध्यक्ष हर्क बिष्ट, वडासदस्य शेरबहादुर सिंह, वडा नम्बर ५ का अर्का वडा सदस्य नरीभान लुहार र कलावती मल्लले समर्थन जनाए । प्रस्तावमा अधिकांश सदस्यहरूले ताली बजाएर समर्थन गरेका थिए । गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले मदिरा बिक्री वितरणले समाजमा समस्या ल्याइरहेको भए पनि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । ‘हो, गाउँपालिकाकै विकास र इज्जतमा मदिराले असर पारिरहेको छ,’ उनले भने, ‘समुदायस्तरमा पनि पर्याप्त छलफल र सहकार्य पछिमात्र यसमा हात हाल्नु उपयुक्त हुन्छ ।’ उनले छिमेकका स्थानीय तहहरूले पनि साथ दिएमा मात्र मदिरा निषेध गर्न सम्भव हुने बताए ।


केआई सिंह गाउँपालिकाको वायल, बासुदेवी, तिखात्तर, भूमिराजमाडांै र रानागाउँमा महिला तथा युवाहरूले लामो समयदेखि मदिरा नियन्त्रणको अभियान चलाए पनि दिगो हुन नसकेको वडा ४ का वडाध्यक्ष जयलाल धामीले बताए । ‘महिलाहरूले मदिरा नियन्त्रण अभियानमा दण्ड जरिवानाबापत ५ लाखसम्म उठाएका छन्,’ उनले भने, ‘केही वर्ष कडीकडाउ भए पनि लुकिछिपी र कालोबजारीका कारण नियन्त्रण हुन सकेको छैन ।’ जनप्रतिनिधिहरूले नै मदिरा नियन्त्रणका लागि आवाज उठाए पनि निर्णय

गर्न तथा कार्यान्वयनमा लैजाने निर्णय भने हुन सकेन ।


पछिल्लो समय अन्य स्थानीय तहहरूमा पनि मदिरा नियन्त्रणका लागि जनप्रतिनिधिहरू नै आवाज उठाउन थालेका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा पनि जनप्रतिनिधिहरूले मदिरा नियन्त्रणका लागि कदम चाल्नुपर्ने भन्दै दबाब दिइरहेका छन् ।


‘मदिरा पूर्ण नियन्त्रणभन्दा पनि व्यवस्थापन गर्न जरुरी छ,’ दिपायल सिलगढी नगरप्रमुख मञ्जु मलासीले भनिन्, ‘महिलाहरूबाट यसमा बढी दबाब छ, म आफैं पनि चासोका साथ लागेकी छु ।’ दिपायल सिलगढी नगरपालिका– ९ कलेनामा मदिरा नियन्त्रणका लागि बढी जोड दिइँदै आएको छ ।


महिलामाथि सबैभन्दा बढी हिंसा डोटीमा मदिराका कारणले हुने गरेको जिल्ला समन्वय समितिकी उप संयोजक शशी सोपको भनाइ छ । महिला तथा बालबालिका सेवा केन्द्रमा परेका उजुरीहरूमा मदिरा नै मुख्य कारणका रूपमा देखिंदै आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।


उनले मदिराका कारण हुने हिंसा, झैझगडा जस्ता घटनाहरू गाउँघरमै लुक्ने गरेको बताए । छिमेकी अछाम पनि लामो समय मदिरा निषेधित जिल्ला घोषणा भएको थियो । लामो विवादपछि पुन: मदिरा खुला गरिएको छ ।


डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काका अनुसार डोटीमा खाद्यान्नभन्दा मदिरा बिक्री बढी भइरहेको तथ्यांक छ । विभिन्न तह, क्षेत्र र स्थानबाट मदिरा नियन्त्रणका लागि एकजुट हुन आवश्यक रहेको उनले बताए ।

प्रकाशित : माघ १, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?