१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

निरन्तर बडघर

भवानी भट्ट

कञ्चनपुर — थारू समुदायमा माघी पर्वमै छानिन्छन्, बडघर । हरेक वर्ष स्थानीय भेला भएर नयाँ बडघर छान्छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ राजीपुरमा भने अपवाद जस्तै छ । यहाँ २ पुस्तादेखि एकै परिवारका सदस्यले बडघरको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

७३ परिवार थारूको बसोबास रहेको राजीपुर गाउँमा २ दशकदेखि फूलपतिराम डगौरा बडघर छन् । ७४ वर्षीय डगौरा ०५४ देखि बडघर बनेका हुन् । त्यसअघि बडघरको जिम्मेवारी उनकै बुवा झम्लुले सम्हालेका थिए । उनको मृत्युपछि त्यो जिम्मेवारी फूलपतिराममा सरेको हो ।


फूलपतिराम बडघर हुँदा वडाध्यक्ष पनि थिए । ०४९ को निर्वाचनमा वडाध्यक्ष जितेका उनले ०५४ को निर्वाचनमा पनि दोस्रो पटक वडाध्यक्ष हुने मौका पाए । ‘दोस्रो पटक वडाध्यक्ष र बडघरको जिम्मेवारीसँग सँगै आयो,’ भने, ‘बुवा बितेपछि गाउँलेले मलाई नै बडघर बन्नुपर्छ भनेर दबाब दिए । त्यसपछि कहिल्यै फेर्ने कुरा भएन ।’


सानैदेखि बुवालाई बडघरको काम गरेको देखेका फूलपतिरामलाई त्यो जिम्मेवारी निर्वाह गर्न कुनै गाह्रो थिएन । अझ २ पटक वडाध्यक्ष भइसकेका उनलाई यसले झन् सहज बनायो । ‘बुवाले गरेको जिम्मेवारी मैले पूरा गर्न सक्छु कि सक्दैन भन्ने चिन्ता थियो,’ माघी तयारीमा व्यस्त उनले भने, ‘अहिले सबै गाउँले खुसी छन् ।’ ७ भाइमध्ये जेठा फूलपतिराम स्थानीय सामुदायिक विद्यालयको समेत व्यवस्थापन समिति अध्यक्ष हुन् ।


२ पटक वडाध्यक्ष र २ दशकदेखि बडघरको जिम्मेवारी सम्हालिरहेका फूलपतिरामलाई अहिले बडघरप्रतिको सम्मान र उसले गर्ने काम पनि घट्दै गएजस्तो लाग्छ । लामो समय स्थानीय तहको निर्वाचन नहुँदा पहिला बडघरको जिम्मेवारी अझै बढी हुने गरेको बताए । अहिले जनप्रतिनिधि आएपछि काममा हलुंगो भएको छ ।


‘उसो त अहिले पनि गाउँमा झगडा भए, विवाह तथा ब्रतबन्ध गर्नुपरे बडघरकै सल्लाह अनुसार गाउँले अघि बढ्छन्,’ उनले भने, ‘श्रमदान गर्नुपरे वा गाउँमा कुनै विकास निर्माणको काम गर्नुपरे पनि बडघरकै सल्लाह चाहिन्छ ।’ अहिले धेरै ठाउँमा गाउँलेहरू बडघरबिना नै आफूखुसी काम गर्न थालेको उनको बुझाइ छ । उनको नजरमा बडघरप्रतिको विश्वास मात्रै कम भएको छैन । थारू संस्कृति र परम्परासमेत लोप हुँदै गएको छ । ‘माघीमा नाचिने छोकरा नाच अहिले देख्नै पाइँदैन्,’ उनले भने, ‘जाँडको ठाउँमा सबैले रक्सी पिएर हो हल्ला मात्रै गर्छन् ।’


माघीमा प्राय: नयाँ बडघर छान्ने वा पुरानैलाई दोहोर्‍याउने विषयमा गाउँलेबीच सल्लाह हुन्छ । तर यहाँ बडघर फेर्ने विषयमा कुनै कुरै हुँदैन । फूलपतिरामको काम र गाउँलेप्रतिको जिम्मेवारीका कारण सबैले उनलाई नै रोज्छन् । ‘बुवा बाजेका पालादेखि उहाँको परिवारबाट नै बडघर भएका छन्,’ राजीपुरका गोपाल डगौराले भने, ‘उहाँ हुँदासम्म अर्काे बडघर छान्ने गाउँलेको सोच छैन ।’

प्रकाशित : माघ १, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?