कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

माघीको माहोल : परशुराम धाममा महामहोत्सव

डीआर पन्त

जोगबुढा, डडेलधुरा — डडेलधुराको परशुराम धाममा महामहोत्सव सुरु भएको छ । महाकाली किनारको प्रख्यात तीर्थस्थलमा आयोजित धार्मिक तथा पर्यटकीय महामहोत्सवको सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गरे ।

माघीको माहोल : परशुराम धाममा महामहोत्सव

परशुराम धाम भगवानका १० अवतारमध्ये छैठौं परशुराम अवतार भएको जनविश्वास छ ।


जमदग्नी ऋषिको तपस्थली, भगवान परशुरामको अवतार र महादेवले तपस्या गरेको पवित्र तीर्थस्थलमा सुरु भएको धार्मिक महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुने आयोजक परशुराम नगरपालिकाले जानकारी दिएको छ । महोत्सवमा नेपाल र भारतका १ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ ।


धार्मिक तथा पर्यटकीय महामहोत्सव नाम दिएर परशुराम नगरपालिकाले आयोजना गरेको कार्यक्रममा धान्याञ्चल महायज्ञ, श्रीमद् भागवत पुराण, गंगा आरती, २२ खाम २२ धाम देउताको पूजा अर्चना, महाकाली नदीमा जल बिहार र अन्य विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना हुने छन् । डडेलधुरा सदरमुकामदेखि ९५ किलोमिटर दूरीमा रहेको महोत्सवमा सहभागी हुन डडेलधुरा, बैतडी, डोटी, कैलाली र कञ्चनपुर लगायतका जिल्लाबाट दर्शनार्थी परशुराम पुगेका छन् ।


कैलाली र कञ्चनपुरबाट समदूरीमा रहेको धाममा आउन विशेष व्यवस्था गरिएको आयोजकले जनाएका छन् । महोत्सवको तयारी स्वरूप रंगुन उपत्यका छिर्ने २ मूल सडक सुधार भइरहेका छन् । कैलालीको गोदावरी हुँदै भीमदत्त राजमार्गको बुडर सडक खण्डदेखि ४२ किलोमिटर लामो सडकखण्ड सुधार गरिसकिएको छ ।


कञ्चनपुरको दैजीदेखि प्रसिद्ध वेतकोट ताल हुँदै परशुराम धाम पुग्ने ४१ किलोमिटर सडकको पनि सुधार भइरहेको छ । परशुराम नगरपालिकाको केन्द्र रहेको लालढुंगा बजारदेखि परशुरामसम्मको सडक पनि चौडा गर्ने र सुधार गर्ने काम चलिरहेको छ ।


कालापानीदेखि सुरु भएको महाकाली नदी समथर भूमिमा ओर्लिन लागेको मनमोहक दृश्य, पौराणिक कालमा परी नाच्ने मैदान, भगवान शिव अवतरण भएका चुनढुंगा, जो कैयौं कालखण्डदेखि महाकाली किनारमा स्थिर छन् । नजिकै भगवान परशुराम र उनका पिता जमदग्नी ऋषिको तपस्थली, संसारमा दुर्लभ मानिने परशुराम मन्दिर दर्शनीय रहेको छ ।


भगवान शिव स्वयम् अवतरण भएका चुनढुंगाभित्र छिर्न सक्ने धार्मिक र छिर्न नसक्नेले आफूले पाप कर्म गरेको छुट्टिने मान्यता रहेको छ । महाकाली छेउमा र बीचमा रहेका यी चुनढुंगामा छिर्नेहरूका लागि अनौठो अनुभूति धामको अर्को महत्वपूर्ण पक्ष रहेको स्थानीय बताउँछन् । धार्मिक यात्रासँगै महाकालीमा डुंगा यात्रा यो धामको अर्को महत्वपूर्ण विशेषता हो ।


डुंगामा चढेर सयौं किलोमिटर टाढा पहाडका नागबेली काट्दै महाकाली नदी समथर भूमिमा निस्कँदाको दृश्य संसारका कमै पर्यटकीय स्थलहरूमा हेर्न पाइएला । पौराणिक कालका सयौं तपस्वी ऋषिमुनिका आश्रम हुँदै परशुराम धाममा छिचोलेपछि महाकाली मौन हुन्छिन् । जस्तो सुकै वर्षा र बाढी होस्, महाकाली बगेको आभास नै हुँदैन् ।


सती देवीको पूर्ण अंग पतन भएको पूर्णागिरि पर्वत र उत्तरमा गर्ग ऋषिले तपद्वारा खडा गरिएको मानिने गर्ग पर्वत तथा महाभारतकालीन समयमा पाण्डवले १२ वर्षको वनवासका क्रममा अधिकांश समय बिताएको महाभारत पर्वत यही छन् । ‘ओझेलमा रहेको यो धामको प्रचार प्रसारको प्रयास सुरु गरिएको छ,’ परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउदले भने, ‘नेपाल र भारतको धार्मिक करिडोरमा धामलाई जोड्ने प्रयास स्वरूप महामहोत्सवको आयोजना भएको हो ।’

प्रकाशित : माघ १, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?