स्थानीय तहमा खाद्य सुरक्षा योजना

बझाङ — जिल्लाका दुईवटा गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निर्माण थालेका छन । खाद्य असुरक्षाको जोखिममा रहेकाहरूको जीवनस्तरमा परिर्वतन ल्याउन थलारा र वित्थड चिर गाउँपालिकाले यस्तो योजना बनाउन लागेका हुन । 

गाउँपालिकाभित्रका सबैभन्दा गरिबको जीवनस्तरमा सुधार नभएसम्म सन्तुलित विकास सम्भव नभएको भन्दै गरिब लक्षित कार्यक्रम संचालन गर्न यस्तो योजना बनाउन लागिएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।


‘गाउँपालिकाभित्र भोकमरी र कुपोषणको सबैभन्दा बढी जोखिममा कस्ता मानिसहरू छन् ?, र तिनीहरूको जीवनयापनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने अध्ययन भैरहेको छ,’ उनले भने, ‘गरिबीमुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्यलाई सहयोग गर्न यस्तो योजना बनाउन सुरु गरेका हौं ।’


नेपालको संविधानमा खाद्य अधिकार मौलिक हकको रूपमा स्थापित भैसकेको अवस्थामा यसको कार्यान्वयन गर्नका लागि आफूहरूले खाद्य सुरक्षा तथा पोषण सुरक्षा योजना बनाउन लागेको बित्थड चिर गाउँपालिकाका अध्यक्ष प्रेम बोहराले बताए ।


‘भूमिहीन, दलित, वृद्धवृद्धा, टुहुरा बालबालिका र एकल महिला भोकमरी र कुपोषणको जोखिममा रहेको देखियो,’ उनले भने, ‘यस्तो अवस्थाको अन्त्य नभएसम्म समृद्ध गाउँपालिकाको निर्माण सम्भव नभएकाले योजना नै बनाएर काम गर्न लागेका हौं ।’ उनले आफ्नो कार्यकाल भित्र गाउँपालिकाका कसैले पनि भोकै बस्न नपर्ने अवस्था बनाउने प्रयास गरिने बताए ।


पाँच वर्षभित्र गाउँपालिकालाई भोकमरी र कुपोषण मुक्त बनाउने लक्ष्यसहित योजना तयार भइरहेको र योजना तयारीका लागि खाद्य अधिकारका क्षेत्रमा कार्यरत संस्था फियान नेपालसँग साझेदारी गरिएको ती दुई गाउँपालिकाले जनाए । विभिन्न समूह, व्यक्ति, संघसंस्थासँग भेटघाट गरी तथ्यांक संकलन, वस्तुस्थितिको विश्लेषण, जोखिम नक्सांकन गर्ने र अन्य विवरण लिने काम भइरहेको फियान नेपालका परामर्शदाता धनबहादुर ऐरले जानकारी दिए ।


उनले भोकमरी र कुपोषणको जोखिममा रहेका व्यक्ति र समुदायको अवस्था, स्रोत साधन, सम्भावना, अवसर र चुनौतीहरूको लेखाजोखा गर्ने काम भइसकेको बताए ।


गाउँंपालिकाभित्र खाद्य सुरक्षाको जोखिममा रहेका व्यक्ति र समुदायसँग गहन छलफल गरी उनीहरूको आयआर्जनका कार्यक्रमहरू सिफारिस गरिने फियान नेपालका कार्यकारी निर्देशक अशोकबहादुर सिंहले बताए । कृषि र गैरकृषि क्षेत्रमा आधारित विभिन्न आयआर्जन योजनाको सम्भाव्यता रहेको बताउँदै उनले लक्षित वर्गसँग भेटघाट र छलफल गरेर योजनालाई अन्तिम रूप दिने तयारी भैरहेको बताए । ‘सहभागितात्मक विधिवाट योजना तयार पार्ने काम भएको छ । फागुनसम्म पहिलो मस्यौदा तयार भैसक्छ,’ उनले भने ।


योजना निर्माण भैसकेपछि गाउँपालिकालाई गरिब लक्षित कार्यक्रम निर्माण गर्नका लागि स्पष्ट मार्गदर्शन हुने जनप्रतिनिधिहरूले बताएका छन । ‘खाद्य क्षेत्रमा लामो अनुभव भएका संस्थाको विज्ञ समूहले हामीलाई सहयोग गरिरहेको छ,’ वित्थड चिर गाउँपालिकाका उपाध्यक्ष जानकी बोहराले भनिन्, ‘सिधै गरिब व्यक्ति र परिवारलाई सम्बोधन गर्न सकिने र कार्यान्वयनको अनुगमन

पनि गर्न सकिने खालको योजना निर्माण हुनेछ ।’


उनले आगामी आर्थिक वर्ष बाट योजनाले सिफारिस गरेका क्षेत्रमा गाउँंपालिकाले लगानी गर्ने बताए । आगामी ५ वर्षभित्र यस गाउँंपालिकाको गरिबी शून्यमा झार्ने तयारीका साथ गाउंँपालिकाले काम गरिरहेको बताइन् ।

प्रकाशित : माघ २, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?