गोदावरीमा बाह्रराशि मेला

अर्जुन शाह

धनगढी — गोदावरीमा मकर संक्रान्तिका दिन तीर्थालु भक्तजनहरूको घुइँचो लागेको छ । वनदेवी मन्दिरबाट गोदावरी धामसम्मको बाटो सिंगारिएको छ । रूखहरू रङले पोतिएका छन् । बाह्रराशि स्थापना गरेर कलश मण्डपलाई सिंगारेर झकिझाउ पारिएको छ ।

गोदावरीमा बाह्रराशि मेला

गोदावरीमा १२ दिनसम्म लाग्ने मेलालाई ‘बाह्रराशि दर्शन मकर मेला’ नाम दिइएको हो । मेला भर्न विभिन्न जिल्लाबाट बाक्लो संख्यामा श्रद्धालु आएका छन् । ‘छिमेकी भारतबाट पनि थुप्रै भक्तजन गोदावरी पुगेका छन्,’ मेला आयोजक समिति संयोजक पदमराज जोशीले भने, ‘गोदावरी स्नान गर्न आउनेहरूको संख्या हामीले अनुमान गरेभन्दा दोब्बर भएको छ ।’


धनगढीबाट २२ किलोमिटर दुरीमा रहेको गोदावरी क्षेत्र यस प्रदेशकै महत्वपूर्ण धार्मिकस्थल हो । गोदावरीमा परापूर्वकालदेखि नै पुजाअर्चना र स्नान हुदै आएको बृद्धबृद्धा बताउँछन् । चुरेफेदी अनि तराई सुरु हुने स्थानमा रहेको गोदावरी नदी छेउछाउमा उहिल्यैदेखि मन्दिर, धर्मशाला र बौद्ध गुम्वा छन् ।


यो नदीमा स्नान गरे पूण्य प्राप्ति हुने जनविश्वास रहेको स्थानीय भीमबहादुर बोहराले बताए । गोदावरी क्षेत्रलाई सप्त गोदावरी मध्य प्राचिन गोदावरीका रुपमा लिने गरिन्छ । बृद्ध गौतमीका नामलेसमेत चिनिने यस क्षेत्रमा भगवान श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख भएकाले पनि यहाँको महिमा बढेको हो । गोदावरीमा भगवान राम भिष्मपितामह र पाण्डवहरूले पनि स्नान गरेको किंबदन्ती छ ।


यस क्षेत्रको धार्मिक महिमा बुझेकाहरू मकर संक्रान्तिमा स्नान गर्न लालायित हुने गोदावरी धाम विकास समितिका अध्यक्षसमेत रहेका जोशी बताउँछन् । ‘मंगलबारको दर्शन मकर मेलामा २ लाख बढी तिर्थालुले स्नान गरेका छन्,’ उनले भने, ‘पछिल्ला दिनमा प्रदेश राजधानी तोकिएपछि यो क्षेत्रको धार्मिक चर्चा झन् बढेको छ ।’


मेलामा भक्तजनहरूको सुविधाका लागि ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गरिएको छ । गोदावरी धाम विकास समितिका संयोजक जोशीले मेलामा आउने भक्तजनका लागी स्नान कुण्ड, सुरक्षा, प्राथमिक स्वास्थ्य उपचार लगायत सहज दर्शनका लागि उचित व्यवस्था मिलाइएको बताए ।


मेला अवधिभर नौ ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने संयोजक जोशीले बताए । धाममा बाह्रराशिको स्थापना गरी प्रत्येक राशिका व्यक्तिहरूलाई दर्शन तथा त्यहाँ स्थापना गरिएको कुम्भवाटिकामा बाह्र राशि र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाई दर्शन एवं पुजाको व्यवस्था गरिएको जोशीले जानकारी दिए ।


मेला ब्यवस्थापन गर्न विभिन्न उपसमितिहरू गठन गरिएका थिए । नदीको एक किलोमिटर क्षेत्रको जुनसूकै स्थानमा पनि स्नान गर्न मिल्नेगरी सुरक्षाकर्मीहरूले बाटो निर्माण गरिदिएको आयोजक समितिले जनाएको छ ।


‘सेना, सशस्त्र प्रहरी र प्रहरीको सक्रियताले मेलामा भौतिक ब्यवस्थापन सहज भयो,’ संयोजक जोशीले भने, ‘स्नानका लागि भक्तजनहरू राती ३ बजेदेखि गोदावरी पुगेका थिए ।’ श्रद्धालु भक्तजनहरू मध्य रातदेखि नै ओइरिएकाले उनीहरूलाई तातो गर्न नजिकैको गोदावरी सामुदायिक वन उपभोक्ता समितिले दाउरा उपलब्ध गराएको छ ।


विहानको चिसोको कुनै प्रवाह नगरी श्रद्धालुहरू तेघरीदेखि गोदावरीसम्म लामवद्ध भएका थिए । ‘मकर संक्रान्तिमा स्नान गर्दा पुण्य प्राप्त हुने विश्वासले १० वर्षदेखि लगातार आजको दिन गोदावरीमा डुबुल्की मार्न पुग्ने गरेको छु,’ धनगढीका ६७ वर्षीय प्रेमराज जोशीले भने, ‘गोदावरीमा पुग्नेहरू सबैको आस्था एकै हो ।’


गोदावरी मेलाकै अवसरमा स्नान गर्न आएकी गायिका मञ्जु पौडेलले गोदावरीको धार्मिक महत्व उच्च रहेको बताउँदै यस क्षेत्रको धार्मिक पूर्वाधार विकास गर्न आवश्यक रहेको औंल्याइन् । मेलाको उद्घाटन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार गरेका थिए ।

प्रकाशित : माघ २, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?