२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

खेतीयोग्य जमिनमा घरैघर

महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणमा गरी करिब १२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । अहिले त्यसमध्ये २० प्रतिशत सिञ्चित जमिनमा घर निर्माण भएका छन् ।
भवानी भट्ट

कञ्चनपुर — धान तथा गहुँ उत्पादनको उर्वर क्षेत्र मानिने भीमदत्त नगरपालिका ४ गोबरियामा धमाधम भौतिक संरचना निर्माण भइरहेका छन् । महाकाली सिँचाइ आयोजनाको नहरले सिँचाइ सुविधा पुगेको उक्त क्षेत्रमा पछिल्ला दिनमा निर्माण भइरहेका संरचनाले खेतीयोग्य जमिन मासिँदै गएको छ ।

खेतीयोग्य जमिनमा घरैघर

भीमदत्त नगरपालिकाकै भासी क्षेत्र पनि केही वर्षअघिसम्म धान र गहँु उत्पादनका लागि नामी थियो । अहिले उक्त ठाउँमा पनि खेतीयोग्य जमिन भेटिनै मुस्किल छ । खेत मासेर धमाधम प्लटिङ गरिएको जमिनमा ठूला भवन खडा भएका छन् ।


महेन्द्रनगर बजार आसपास मात्रै होइन, जिल्लाका ग्रामीण भेगमा पनि अहिले खेत मासेर धमाधम भौतिक संरचना निर्माण हुने क्रम बढ्दो छ । गाउँपालिका र नगरपालिका केन्द्र तथा वडा कार्यालय रहेका ठाउँमा यो क्रम तीव्र छ । ग्रामीण भेगमा त झन् खेतको बीचमै सडक र भवन निर्माणले तीव्रता पाएको छ ।


‘उत्पादन दिने क्षेत्रफल बर्सेनि घट्दै गएको छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत गोकुल बोहराले भने, ‘हरेक वर्ष १० प्रतिशत खेतीयोग्य जमिन गैर खेती कार्यमा प्रयोग भइरहेको छ ।’ उनले यही अनुपातमा उत्पादकत्व र उत्पादनमा समेत ह्रास आउन लागेको बताए ।


कञ्चनपुरमा करिब साढे ५६ हजार हेक्टर खेतीयोग्य जमिन छ । उक्त खेतीयोग्य जमिन जिल्लाको कुल क्षेत्रफल १ लाख ६१ हजार हेक्टरको ३४ प्रतिशत हो । यसमध्ये महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणमा करिब १२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । अहिले २० प्रतिशत सिञ्चित जमिनमा सहरीकरण भइरहेको महाकाली सिँचाइ आयोजनाको प्रारम्भिक अध्ययनले देखाएको छ ।


‘पहिलो चरणको महाकाली सिँचाइ आयोजनाको कमान्ड एरिया तीव्र गतिमा घटिरहेको छ,’ महाकाली सिँचाइ आयोजनाका इन्जिनियर मोहन टेलरले भने, ‘यही गतिमा सहरीकरण हुने हो भने अबको केही वर्षमा नहरको औचित्य नै सकिनेछ ।’ सिँचाइ आयोजनाले स्थलगत अनुगमनपछि विभिन्न ब्लकको अवस्था नक्सामार्फत चित्रण गरेको छ । उक्त नक्सामा पहिलो चरणको कमान्ड एरियामा बढी जमिन मासिएको देखिन्छ । उनका अनुसार उक्त क्षेत्रमा सिँचाइका लागि निर्माण गरिएका केही टर्सरीहरू समेत बन्द हुने अवस्थामा छन् ।


महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणको कमान्ड एरियामा मात्रै नभई निर्माणाधीन तेस्रो चरणको परियोजनामा समेत अहिले खेतीयोग्य जमिन घट्दै गएको छ । बर्सेनि नयाँ घर बन्ने र जमिन खण्डीकरण हुने क्रम निरन्तर चलिरहेको छ । झन्डै डेढ दशकअघि सुरु भएको उक्त परियोजना सम्पन्न हुँदासम्म लक्षित सिञ्चित क्षेत्र आवासीय क्षेत्रमा परिणत भइसक्ने देखिन्छ ।


‘भौतिक संरचना र खण्डीकरणले उत्पादनमा बर्सेनि ह्रास आउँदै गएको छ,’ वरिष्ठ कृषि अधिकृत बोहराले भने, ‘किसानसँग थोरै मात्र जमिन बाँकी छ, यसले कृषि उपकरणको प्रयोग, उन्नत जातका बीउबिजन र मलखादको प्रयोग गर्न असहज हुँदा उत्पादन घटेको हो ।’ स्थानीय तहको निर्वाचनपछि जिल्लाभरिमा सडक खोल्ने तथा स्तरोन्नतिको कामले प्राथमिकता पायो ।


यसले समेत जमिन खण्डीकरणमा ठूलो प्रभाव परेको कृषि प्राविधिक बताउँछन् । ‘सडक खुल्दै नयाँ घर थपिँदै गएका छन्,’ एक प्राविधिकले भने, ‘यसको तत्काल असर नदेखिए पनि दीर्घकालीन रूपमा विकराल समस्याका बन्न सक्छ ।’


सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट भइरहेको तीव्र बसाइँसराइले समेत खेतीयोग्य जमिन मासेर भौतिक संरचना निर्माण तीव्र भएको हो । पछिल्लो एक दशकयता बजारदेखि ग्रामीण भेग जताततै घर घडेरी खरिद गरेर बसाइँ सर्नेको संख्या अत्यधिक छ ।


जिल्लाका ७ नगरपालिका र २ गाउँपालिका गरी ९ वटै स्थानीय तहमा बसाइँ सरेर आउने क्रम बढेको छ । स्थानीय तहहरूले जमिन खण्डीकरण र खेतीयोग्य ठाउँमा जथाभावी भौतिक संरचना निर्माणमा कडाइ गर्नुपर्ने कृषि प्राविधिक बताउँछन् ।

प्रकाशित : माघ ३, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?