महाकाली कटान : हिउँद–वर्षा जहिल्यै सास्ती

डीआर पन्त

तातापानी, डडेलधुरा — परशुराम नगरपालिकाका जगनसिंह खडायतको मिल र पसल भएको ठाउँ नदी कटानले महाकालीपारि पुगेको छ । नजिकै रहेको तातापानीका धारा भएको नेपाली भूमि पनि उतै परेको दशक बित्यो । छेउछाउका एक दर्जन बढी स्थानीयका घरजग्गा भएको ठाउँ पनि महाकाली कटानले बगर बनेका छन् । 

महाकाली कटान : हिउँद–वर्षा जहिल्यै सास्ती

भारतको उत्तराखण्ड राज्यसँग सीमा जोडिएको परशुराम नगरपालिकाको महाकाली किनारका आधा दर्जन गाउँका बासिन्दा नदी कटानको त्रासमा जीवन बिताउन बाध्य छन् । कुनै पनि समय महाकालीको भँगालो गाउँ पस्ने सम्भावनाले उनीहरू वर्षौंदेखि त्रासमा बाँचिरहेका छन् । साबिक जोगबुढा गाविसको परशुराम धामदेखि कञ्चनपुरको खल्ला मुसेटीसम्म महाकाली किनारमा रहेका दर्जन बढी गाउँका बासिन्दा त्रासैत्रासमा बसिरहेको बताउँछन् ।


दशकयता नदी छेउका आधा दर्जन गाउँको २ हजार हेक्टर बढी उब्जाउ जमिन बगर बनिसकेको छ । महाकाली छेउका कुणा, छेला, तातापानी, चन्दनी, कराली र भोरकुण्डालगायतका आधा दर्जन गाउँको अधिकांश उब्जाउभूमि बगेको हो । नदीले कटान गर्दै बस्ती छेउ पुगेपछि स्थानीय बासिन्दाले त्रासमा बाँच्नुपरेको हो ।


‘महाकाली छेउका आधा दर्जन गाउँका बासिन्दा जहिले पनि त्रासमै बाँच्न बाध्य छन्,’ नदी किनारकै छेला गाउँका भवानी धामी भन्छन्, ‘म युवा नहुँदै महाकालीले सयौं हेक्टर जमिन बगर बनाएको आफ्नै आँखाले देखेको छु ।’ महाकालीवारि नेपालतर्फ भएको जग्गा र बस्ती अहिले महाकालीपारि पुगेको छ । धामी भन्छन्, ‘सीमा नदीको पानीको उपयोग कहिल्यै गर्न पाएनौं । नदी कटानका कारण भने सबैले सधैं सास्ती भोग्न बाध्य हुनुपरेको छ ।’ महाकाली नदीपारि सिमानामा भारतको उत्तराखण्ड राज्यमा पर्ने १२ किलोमिटरभन्दा लामो जडियाखाल संरक्षित जंगल क्षेत्र भएका कारण परशुराम नगरपालिकाको कलपठेदेखि नै महाकालीले नेपालतर्फ कटान गर्दै आएको छ ।


स्थानीय समाजसेवी रमेश पनेरू भन्छन्, ‘महाकाली पहाडबाट समथर भूमिमा प्रवेश गर्ने ठाउँदेखि नै नेपालतर्फ कटान सुरु गरेको छ ।’ प्रसिद्ध तीर्थस्थल परशुराम धामक्षेत्र भन्दा माथि केही वर्षअघि तटबन्ध निर्माण गरिएको थियो । पनेरू थप्छन्, ‘तर, ठूलो जनसंख्या रहेका आधा दर्जन गाउँ क्षेत्रमा पनि अहिलेसम्म तटबन्धको कुनै काम भएको छैन ।’ कुणा, छेला र तातापानी गाउँमा मात्रै नदी कटानले ४ सय हेक्टर उब्जाउ जमिन बगिसकेको छ ।


‘वर्षात्का बेला रातभरि जाग्राम बस्दै आएको वर्षौं भइसकेको छ,’ करालीका स्थानीय जयबहादुर धामी भन्छन्, ‘कटान गर्दागर्दै महाकाली बस्तीनजिक पुगेका कारण वर्षा होस् या हिउँद, जहिले पनि त्रात्रमै बाँच्न बाध्य छौं ।’ यस क्षेत्रमा महाकाली नदीको पानीमा बहाव बढी छ । धामी भन्छन्, ‘पहाडबाट समथर भूमिमा खस्दा महाकाली नदीको पानीमा हुने प्रेसरले वर्षात्मा मात्र नभई हिउँदमा पनि कटानको खतरा उत्तिकै छ ।’ पहाडमा वर्षा भयो भने यस क्षेत्रका बासिन्दा त्रसित हुन्छन् । उनले महाकालीमा तटबन्ध निर्माण नभए केही वर्षमै सबैले विस्थापित हुनुपर्ने बताए ।


नगरपालिकाको मध्य भागबाट बग्ने रंगुन नदीमा सुरु भएको तटबन्ध जस्तै महकालीमा पनि तटबन्ध गरिनुपर्ने स्थानीय बासिन्दाको माग छ । स्थानीय तहको बजेटले मात्र महाकाली किनारको झन्डै ५ किलोमिटर लामो क्षेत्र तटबन्ध गर्न सम्भव नहुने भएकाले स्थानीय बासिन्दाले प्रदेश र संघीय सरकारसँग महाकालीमा तटबन्ध निर्माणका लागि आग्रह गरेका छन् ।


‘संगठित रूपमा संघर्ष समिति नबनाएसम्म कसैले हाम्रो आग्रह नसुन्ने भए,’ समाजसेवी पनेरूले भने, ‘स्थानीय तहको टुक्राटाक्री बजेटले महाकाली छेउमा जालीमा ढुंगा भरेर मात्र महाकाली नियन्त्रण हुन सक्दैन ।’ यस विषयमा यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका भौतिक योजना मन्त्री पठान बोहरालाई पनि आग्रह गरिएको उनले बताए ।

प्रकाशित : माघ ४, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?