सीमामा सधैं त्रास

कहिले दशगजामै गोली चल्छ, कहिले एसएसबी हतियारसहित नेपाल पस्छ ।
भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका १० कुतियाकभरको दशगजामा गत बिहीबार राति भारतीय सुरक्षाकर्मी (एसएसबी) ले हवाई फायर गर्‍यो । एकाएक रातिको समयमा फायरिङ हुँदा त्रास फैलियो । उक्त घटना अझै सेलाएको छैन । अहिले पनि यहाँका स्थानीय बासिन्दा त्रासैत्रासमा रात गुजार्न बाध्य छन् । 

सीमामा सधैं त्रास

एसएसबीकै जवानबीच आपसमा झगडा हुँदा फायरिङ भएको थियो । २१ नम्बर सीमास्तम्भ नजिकै मदिराले मात्तिएको एसएसबीको टोलीले राति ११ राउन्ड हवाई फायर गरेको थियो । गोलीका खोकाहरू सबै नेपालतर्फ आएका थिए । स्थानीय नरबहादुर सुनारको घरभित्रै खोका खसे । ६ वटा खोका इलाका प्रहरी कार्यालय दोधाराले नेपालतर्फबाट बरामद गरेको छ ।


‘गोली चल्दा त हामी निकै डरायौं । के भयो, कहाँबाट आवाज आयो भन्ने भयो,’ कुतियाकभरका स्थानीय खडके बुढाले भने, ‘नीलगाई र चितुवा आउँदा पटाका पट्काइन्थ्यो, कसैले पटाका पट्कायो कि भन्ने पनि भयो ।’ २१ नम्बर सीमा स्तम्भ नजिकै गोली चल्दा उनी नजिकै रहेको आफ्नै पसलमा थिए । सुनार भने गोली चलेपछि घरभित्रै लुके । उनी अहिले पनि त्रसित छन् ।


दशगजामै गोली चलेको यो पहिलो घटना हो । यसअघि पनि एसएसबी हतियारसहित नेपाली भूमिमा प्रवेश गर्ने, बिनाकारण नेपालीलाई दु:ख दिने काम भने चलिरहेकै थियो । करिब ३५ किलोमिटर भारतसँग सीमा जोडिएको दोधारा चाँदनीमा ११ स्थायी र २ अस्थायी गरी १३ वटा क्याम्प छन् । एक ठाउँबाट अर्काे ठाउँमा गस्ती जाँदा समेत हरितयासहित नेपाली भूमिमा प्रवेश गर्छन् ।


कुतियाकभरमा यसअघि पनि बिरुवा रोपेको विषयमा विवाद चर्किएको थियो । दशगजामा बिरुवा रोपेको भन्दै एसएसबीले उक्त बिरुवा निकाल्न दबाब दिएका थिए । उक्त समयमा कुतियकभरवासीलाई निकै सास्ती दिइएको थियो । दुई वर्षअघि कुतियाकभरकी एक महिलामाथि दुव्र्यवहार गर्ने भारतको बंगाली बस्तीका एकजना पक्राउ परेपछि पनि एसएसबीले निकै दु:ख दिएको स्थानीय बताउँछन् । बंगाली बस्तीका केही गुण्डाहरू पठाएर नेपालीहरूमाथि कुटपिट समेत गरिएको थियो ।


‘सीमा क्षेत्रमा जनस्तरमा राम्रो सम्बन्ध छ, तर एसएसबीले बेला–बेलामा विभिन्न बहानामा हेपाहा प्रवृत्ति अपनाएर दु:ख दिने काम गर्दै आएको छ,’ कुतियाकभरका स्थानीय गगन खत्रीले भने, ‘कहिले चेकजाँचका नाममा त कहिले गस्तीका नाममा नेपालभित्रै पसेर दु:ख दिँदै आएको छ ।’ उनका अनुसार बिहीबारको गोलीकाण्डपछि कुतियाकभरका स्थानीय त्रसित छन् ।


माहाकाली नगरपालिकाको कुतियाकभर, कंजभोज र बडुवालटोल भारतसँग सीमा जोडिएका क्षेत्र हुन् । यी तिनै बस्ती जोगबुढा नदीपारि छन् । गाउँमा केही समस्या हुँदा पनि नदीवारि आउन सक्ने अवस्था हुँदैन । कुतियाकभरमा ३५ परिवारको बसोबास छ । बडुवाल टोल र कंजभोजमा पनि ३/३ सय बढी परिवारको बसोबास छ । बडुवाल टोल र कंंजभोजमा भारतीय सुरक्षाकर्मीको मात्रै त्रास होइन, भारतको राष्ट्रिय वनबाट आउने हात्तीले समेत आतंक मच्चाउने गरेको छ ।


‘कुतियाकभरमा अहिले अवस्था सामान्य भइसकेको छ,’ इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक चेतराज पनेरूले भने, ‘त्यहाँबाट बरामद गरिएका ६ वटा राइफलका खोका हामीसँगै छन् ।’ उनका अनुसार गोली चलाउने उत्तरप्रदेशको नौजलिया कम्पनी हेडक्वार्टरका ४ जना एसएसबीलाई उनीहरूको उपल्लो निकायले कारबाही गरेको छ । यस्तै सशस्त्र प्रहरी र एसएसबीले आइतबार कुतियाकभरमा संयुक्त गस्ती समेत गरेका छन् । कुतियाकभरवासीसँग परिचयसँगै संयुक्त रूपमा गस्ती गरिएको हो ।

प्रकाशित : माघ ४, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?