कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघमा चेल्त्यार

अछाम — विवाहित छोरीहरू माघमा माइतीबाट आउने चेल्त्यारको बाटो कुरी बस्छन् । साल र केराको पातमा बेरेर छोरीचेलीलाई दिइने कोसेली हो चेल्त्यार । पूर्णताको प्रतीक भएकाले माघमा हरियो पात देखाउने चलन छ ।

माघमा चेल्त्यार

माघ महिनाभर आफ्ना छोरी, बहिनी र भान्जीलाई सेल, पुरी (स्थानीय भाषामा बाबर, लाउन) दिने चलन छ । यसरी छोरीचेलीको घरमा माइती पुगेर खानेकुरा दिने चलन रहेकाले माघलाई ‘माघी त्यार’ भन्ने चलन छ । माघमा छोरीचेली माइती आउने गर्छन् । माइतीमै उपस्थित हुन सक्ने छोरीचेली त्यार खाएरै जाने गर्छन् भने आउन नसक्ने छोरीचेलीको घरमै गएर माइतीले माघभर अनिवार्य रूपमा त्यार पुर्‍याइन्छ । चेली त्यारको अर्को महत्त्वपूर्ण चलन भनेको माघमा छोरीचेलीलाई हरियो पात देखाउने पनि हो ।


‘७ छोरी र १ नन्द छन् । सबैले बिहे गरिसके । उनीहरूको घरमै त्यार पुर्‍याउन जानुपर्छ,’ ओलीगाउँकी शारदा भण्डारीले भनिन्, ‘यो महिना छोरी र नन्दको घरघर गएरै सकिन्छ । माइतीले सधैं छोरीलाई सम्झन सक्दैनन् । सबैका आफ्ना बाध्यता हुन्छन् । यो भेटघाट गर्ने अवसर पनि हो ।’


माघी त्यार एक महिनासम्म मनाउने गरिएकाले सेल, पुरी पकाउन चाहिने तेलको व्यवस्था गर्न तोरी पेल्न यो बेला गाउँका मिल तथा कोलमा भीड लाग्छ । तरुल, सकरखण्ड आफ्नै बारीमा लगाएकाहरूले माघमै कोरेर खाने र आफ्नो बारीमा नहुनेले जंगलमा गएर पनि वन तरुल ल्याएर खाने चलन छ । ‘५ वर्षसम्म भारतमै थिएँ । यो वर्ष छोरीचेलीलाई त्यार दिनकै लागि आएकी हुँ,’ उनले भनिन्, ‘यो बेला माइतीबाट छोरीको घरमा कोही नगए न्यास्रो मान्छन् । हाम्रा लागि त यो विशेष महिना हो ।’ माघीमा चेलीबेटीलाई उपहार दिने चलन पनि छ । यसलाई स्थानीय भाषामा ‘मिश्रावल’ भनिन्छ ।


देउडाको रौनक

माघमा छोरीका दु:ख वेदना समेटेर देउडा खेल्ने चलनसमेत छ । जसलाई जेठानी, देउरानी जमघट भएर रमाइलो गर्ने माध्यमका रूपमा पनि हेरिन्छ । ‘सधैं चुलोचौकाको काम हुन्छ । आफ्नै जेठानी, देउरानीसँग भलाकुसारी गर्ने फुर्सदसमेत हुँदैन । रमाइलो गर्ने, सुखदु:ख साटासाटा गर्ने महिना हो,’ मंगलसैनकी चमेली ढकालले भनिन्, ‘यसले आत्मीयता बढाउँछ ।’


महिलाहरू समूहमा आबद्ध भई देउडा खेल्छन् । यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । कसैसँग रिसइबी छ भने आपसमा मेलमिलाप गरिन्छ । त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनका रूपमा पनि लिइन्छ ।

प्रकाशित : माघ ५, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?