१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सामुदायिकलाई गुणस्तर बढाउने चुनौती

अछाम — घर छेउमै सरकारी विद्यालय छन् । शुल्क तिर्नुपर्दैन । सदरमुकाम मंगलसैनका अभिभावक भने चर्को शुल्क बेहोर्दै ३ घण्टा पैदल हिँडालेर नानीहरूलाई निजी स्कुलमा पठाउँछन् ।

चर्को शुल्क तिरेरै भए पनि छोराछोरीलाई निजीमा पढाउने लहरका कारण यस्तो भएको हो । पछिल्लो समय छोराछोरीलाई बोर्डिङमै भर्ना गर्नुलाई सामाजिक प्रतिष्ठाका रूपमा हेर्न थालिएको छ ।


सरकारीमा शिक्षक र व्यवस्थापन समितिको लापरबाहीका कारण विद्यार्थीको पढाइ कमजोर हुने गरेको मंगलसैनका स्थानीय धमराज खनालले बताए । अर्का स्थानीय पदम बोहराले सामुदायिक विद्यालयको सिकाइ स्तर कमजोर भएकै कारण ३ घण्टा टाढाको विद्यालयमा नानीहरू पठाउन बाध्य भएको बताए । उनले भने, ‘सरकारी स्कुलमा पढाइको गुणस्तर कमजोर छ । सबैका छोराछोरी निजीमै पढ्ने भएकाले प्रतिष्ठाको विषय पनि भयो ।’


नियमित आयस्रोत नभएका, ज्याला मजदुरी गरेर गुजारा चलाउने, भारतमा चौकीदारी गर्ने परिवारले पनि चर्को शुल्क र घन्टौं पैदल हिंडाएर बोर्डिङ स्कुल पठाउने गरेका छन् । विभिन्न प्याकेज तथा योजनाका नाममा अभिभावकहरूलाई आकर्षित गर्ने नीति निजी विद्यालयहरूको छ । सरकारले बनाएका नीति नियमलाई बेवास्ता गर्दै उनीहरूले आफूखुसी शुल्क वृद्धि गर्नेदेखि भौतिक संरचना र सुविधाको नाममा मनपरी शुल्क असुल गर्ने गरेको गुनासो स्थानीयको छ । ‘सरकारीभन्दा बोर्डिङको पढाइ राम्रो हुन्छ,’ खनालले भने, ‘यही बुझाइले सकिनसकी बोर्डिङमै पठाउने गरेका छौं ।’


यसअघि गाउँकै सरकारी विद्यालयमा पढ्ने छोराछोरीलाई ३ घण्टा टाढा रहेको बोर्डिङमा पढाउन थालेको खनालले बताए । ‘दाइको छोरीलाई बोर्डिङ स्कुलमा र मेरो छोरीलाई सरकारी स्कुलमा सँगै भर्ना गरेका हौं, दाइको छोरी राम्रोसँग पढ्न, लेख्न जान्ने भइन्, तर मेरी छोरीले क, ख लेख्न पनि जानिन,’ उनले भने, ‘त्यसैले बोर्डिङ स्कुलमा भर्ना गरेको छुँ ।’


विद्यार्थी संख्या बर्सेनि घट्दै गएपछि सामुदायिक विद्यालय विद्यार्थी संख्या बढाउने रणनीतिमा लागेका छन् । मंगलसैनका निजी विद्यालयहरूलाई भने विद्यार्थीको चाप थेग्न भने मुस्किल छ । सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा दिन प्रतिदिन हुने गिरावटले निजी विद्यालयमा यस्तो चाप बढेको हो । सरकारले लगानी गर्ने विद्यालयमा पढाउन नचाहने तर व्यक्तिगत भौतिक संरचनाका लागिसमेत रकम तिर्न अभिभावकहरू तयार हुनु भनेको राज्यको शैक्षिक अवस्थाका लागि चुनौती भएको अभिभावक बताउँछन् ।

‘राज्य कोषबाट तलब खाने शिक्षकको तलबको आधा पनि पारिश्रमिक नपाउने शिक्षकले पढाएका विद्यार्थी अब्बल हुने गरेको मान्यता चुनौतीपूर्ण रहेको समुदायका अगुवाहरू बताउँछन् । ‘सरकारी विद्यालयमा राम्रो शिक्षा पाइन्छ भन्ने विश्वासै हुन छाड्यो,’ स्थानीय अभिभावक रमेश खनालले भने, ‘यही धारणाले सामुदायिकमा संख्या घट्न थालेको हो ।’ सरकारी शिक्षण संस्थाको गुणस्तर वृद्धि गर्न सबैले समयमै सोच्नुपर्नेमा उनले जोड दिए ।


सामुदायिक विद्यालयहरूमा प्रविधिसँग अभ्यस्त नभएका, जागिर खानको लागि विद्यालय जाने र आफ्नो अनुकूल दरबन्दी मिलान गर्ने प्रचलन बढी हुने हुँदा विद्यार्थीको पठनपाठनमा असर पुग्दै आएको छ । यस्तै सार्वजनिक विद्यालयहरूमा राजनीतिक दलहरूको प्रत्यक्ष प्रभाव पर्ने भएको हुनाले गुणस्तरीय शिक्षाको विकास हुन नसकेको सरोकारवाला बताउँछन् ।


सरकारीको तुलनामा निजी विद्यालयमा योग्य, सक्षम तथा अनुभवी शिक्षक नभए पनि अभिभावकले त्यस्तै विद्यालय रोज्ने गरेको शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीले बताए । उनले निजी विद्यालयमा विद्यार्थी आकर्षण नबढेको दाबी गरे । ‘अहिले बसाइँ सराइले टोलटोलमा विद्यार्थीको संख्या घटिरहेको छ । निजी विद्यालयमा आकर्षण भने बढेको होइन,’ उनले भने । अछाममा ४ सय ९२ सामुदायिक विद्यालय छन् । निजी विद्यालयको संख्या २९ छ ।

प्रकाशित : माघ ५, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?