कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माछापालनमा युवा आकर्षित

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा केही वर्षयता माछापालनमा आकर्षण बढ्दै गएको छ । धान गहुँ खेती छाडेर कृषकहरू धमाधम माछा पोखरी निर्माण गर्न थालेका छन् । 

माछापालनमा युवा आकर्षित

भीमदत्त नगरपालिका १७ बाँसखेडामा स्थानीय पदम बुढाले ४ बिघा जमिन भाडामा लिएर माछापोखरी निर्माण गर्न थालेका छन् । ३० लाख बढी लगानी लगाएर उनले आधा दर्जन पोखरीहरू निर्माण गरेका छन् ।

‘अन्य व्यवसायभन्दा माछापालनमा फाइदा पनि बढी छ, यहाँ भएको उत्पादन खपत गर्न पनि कुनै समस्या छैन,’ बुढाले भने, ‘कृषिबाट पनि राम्रै आम्दानी भइरहेको देखेर यसतर्फ आकर्षित भए ।’ उनले स्थानीय विद्यालयको जमिन वार्षिक डेढ लाख तिर्ने गरी १५ वर्षका लागि भाडामा लिएका हुन् । हाल धमाधम पोखरी निर्माणको काम चलिरहेको छ । माघभित्रै पोखरी निर्माण गरेर माछाका भुरा छाड्ने योजना रहेको बुढाले बताए ।

सोही नगरपालिका– १६ मा अर्का युवाले ४ बिघा जमिन भाडामा लिएर माछापालन सुरु गरेका छन् । स्थानीय प्रकाश साउदले २५ लाख लगानी लगाएर व्यावसायिक रूपमा माछापालन सुरु गरेका हुन् । उनले पनि आधा दर्जन पोखरी निर्माण गरेर केही दिनअघि मात्रै भुरा हालेका हुन् ।

‘६ वटा पोखरीमा ३० हजार भुरा हालेको छु,’ साउदले भने, ‘धेरै पहिलेदेखि नै माछापालन गर्ने योजना थियो तर एकै ठाउमा ठूलो प्लट नपाउँदा रोकिएको थिए ।’ उनले जमिन पाए माछापालनको क्षेत्र विस्तार गर्ने योजना बनाएका छन् । छिमेकीले ५ वर्षदेखि माछापालनबाट गरिरहेको आम्दानी र व्यवासय देखेर उनी यसतर्फ आकर्षित भएका हुन् ।

केही वर्षयता माछापालनमा युवाहरूको आकर्षण निकै बढेको छ । बजारको सम्भावना राम्रो र उत्पादन गर्न सहज हुने भएकाले युवाहरूको रोजाइमा यो व्यवसाय पर्न थालेको हो अहिले जिल्लाका विभिन्न ठाउँमा गहुँ तथा धान खेतहरू मासेर धमाधम पोखरी निर्माण भइरहेको देखिन्छ ।

सरकारले माछापालन गर्नेलाई प्रतिहेक्टर ३ लाख रुपैयाँ अनुदान घोषणा गरेपछि यसतर्फको आकर्षण झनै बढेको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय कैलाली कञ्चनपुरका अनुसार कञ्चनपुरमा अहिले अढाई सय हेक्टरमा माछापालन भइरहेको छ । यस वर्ष प्रदेश सरकारको अनुदान र कृषकहरूले स्वस्फूर्त रूपमा गरी थप ६०/७० हेक्टर विस्तार हुने देखिएको छ ।

कार्यालयका मत्स्य विकास अधिकृत मोहनबहादुर चन्दका अनुसार अहिले कञ्चनपुरमा प्राकृतिक ताल १ सय हेक्टर र कृत्रिम पोखरी डेढ सय हेक्टरमा रहेका छन् । यहाँ माछाका उत्पादकत्व २ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । ‘कञ्चनपुरलाई एक वर्षभित्र माछामा आत्मनिर्भर बनाउन सकिन्छ,’ मत्स्य विकास अधिकृत चन्दले भने, ‘स्थानीय तह र प्रदेश सरकारले यसतर्फ लगानी बढाउनुपर्ने देखिन्छ ।’

उनले यहाँ रहेको प्राकृतिक तालमा बर्खाको पानीको भरमा माछापालन भइरहेको र गहिराई पनि निकै कम भएकाले उत्पादन कम भइरहेको छ । यसका लागि बाह्रै महिना पानीको व्यवस्थापन र ताल गहिरो बनाउनुपर्ने आवश्यक रहेको उनले बताए ।

प्रदेश सरकारले माछापालनका लागि ३५ हेक्टर क्षेत्रफलमा अनुदानको कार्यक्रम पास गरेर पठाइसकेको छ । यसैगरी थप ४० हेक्टर विस्तार गर्न मागमा आधारित कार्यक्रमका आधारमा अनुदान छुट्याएको छ । दुवैतर्फको कार्यक्रम लागू भए जिल्लामा ७५ हेक्टर माछापालन क्षेत्र बढ्ने उनले बताए ।

प्रकाशित : माघ ६, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?