२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

व्यास क्षेत्र छोयो तिंकर सडकले

मनोज बडू

दार्चुला — निर्माणमा ढिलासुस्ती हुँदै आएको दार्चुला–तिंकर सडकखण्डको कटिङ धौलाकोटसम्म पुगेको छ । व्यास गाउँपालिका–५ धौलाकोटको गडानमा शनिबार सडकको ट्रयाक कटिङ कार्य सुरु भएको सडक निर्माण आयोजनाले जनाएको छ ।

व्यास क्षेत्र छोयो तिंकर सडकले

३ वर्षसम्म विस्फोटक पदार्थको समस्या झेल्दै आएको यस सडक आयोजनाले ७ महिनाअघि बझाङबाट सापटीमा विस्फोटक पदार्थ जिल्ला पुगाएपछि मंसिरदेखि निर्माण कार्यले तीव्रता पाएको हो ।


महालक्ष्मी कन्स्ट्रक्सनले दुहु गाउँपालिका १ को तङ्लेभिरबाट सुरु गरेको सडक कटिङ कार्य करिब डेढ महिनामा व्यास गाउँपालिकाको धौलाकोट पुर्‍याएको महाकाली कोरिडोरअन्तर्गतको दार्चुला–तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले बताए । ‘डेढ महिनादेखि सडक निर्माण कार्यले तीव्रता पाएको छ,’ उनले भने, ‘यही गतिमा निर्माण कार्य हुन सके यो महिनाभित्र व्यास गाउँपालिकाको केन्द्र सुन्सेरासम्म गाडी गुड्ने ट्रयाक खोलिनेछ ।’


तिंकर सडकको व्यास खण्डमा दु्रत गतिमा काम भइरहेको छ । डेढ महिनाअघिसम्म सडकको २३ किलोमिटरसम्म ट्रयाक खोलिएको थियो । शनिबार ३४ किलोमिटरको दूरीमा पर्ने गडानसम्म ट्रयाक खोलिएको उनले उनले बताए ।

हुतीको वडा कार्यालयसम्म सडक पुगेकाले स्थानीयवासीले बाटो निर्माणमा संलग्न पदाधिकारीलाई सम्मान पनि गरेका छन् ।


व्यासको तङ्ले भीरबाट हुतीसम्म सडक पुग्न झन्डै एक महिनाभन्दा बढी समय लाग्यो । खलंगादेखि हुती ३२ किलोमिटर पर्छ । साधारण बाटो खुलेसँगै हुतीमा ट्याक्टर तथा मोटरसाइकल पनि पुगेका छन् । ट्याक्टर हुतीसम्म पुगेपछि स्थानीयले सामान ढुवानी गर्न सहज भएको छ ।


सडकको ट्रयाकलाई थोरै सुधार गर्न सके हुतीसम्म नियमित जिप सञ्चालन हुन सक्ने स्थानीयको भनाइ छ । पीपलचौरीसम्म जिपहरू सञ्चालनमा आइसकेका छन्,’ व्यास ६ का वडाध्यक्ष मनोज कुँवरले भने, ‘पीपलचौरीदेखि हुतीसम्म खोलिएको ट्रयाकलाई सफा गर्न जिपहरू सञ्चालन गर्न सकिन्छन् । ट्रयाक्टर चल्न थालेका छन् । ट्रयाक्टरबाटै ठेकेदारको तेल ढुवानी भइरहेको छ । पीपलचौरीको तङ्लेभीरमा केही ठाउँमा सपोर्टिङ वाल र सम्याउने हो भने मान्छे बोक्ने यातायात (जिप) सञ्चालन गर्न सकिने उनको भनाइ छ ।


व्यास गाउँपालिकाको सुन्सेरासम्म एक महिनाभित्रै सडक पुर्‍याउने गरी कामको गति बढाइएको निर्माण व्यवसायी बालमुकन्द नेपालले बताए । धौलाकोटको धौओराड र नाजीभीरमा कटानी भूभाग छ । त्यसमध्ये धौओराडमा कटान कटिङ भइसकेको र सानोतिनो कटिङ गर्नुपर्नेछ ।


नाजीभीरको चट्टान कटिङका लागि कम्प्रेसर उपकरण मगाइएको हुनाले एक महिनाभित्र सुन्सेरासम्म ट्रयाक खोल्ने गतिमा निर्माण कार्य चलेको उनले बताए । त्यस क्षेत्रको चट्टान काट्न कम्प्रेसर उपकरण मगाइएको निर्माण व्यवसायीले जनाएको छ । ‘धौलाकोटको भीर काट्नेबित्तिकै सजिलै सुन्सेरासम्म सडक पुग्छ,’ व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भने, ‘हुतीदेखि सुन्सेरा १२ किलोमिटरको दूरीमा छ ।’


अहिले सडकको काम तीव्र गतिमा भइरहेका कारण स्थानीयवासी पनि सुन्सेरासम्म गाडी गुड्नेमा ढुक्क छन् । दुई किलोमिटर कटिङ भइसकेको हुनाले गाउँपालिकाको केन्द्रसम्म मात्रै गाडी गुडाउन सकिए यहाँका ३ देखि ६ नम्बर वडाका बासिन्दालाई आवतजावतमा सहज हुने उनी बताउँछन् ।


व्यासमा अहिलेसम्म सडकको पहुँच नहुँदा यहाँका स्थानीय भारतीय मोटर मार्गको प्रयोग गरी जोखिमपूर्ण तुइनको सहायताले महाकाली नदी तर्दै आएका थिए । तत्काललाई गाउँपालिकाकाभरिका नागरिकको पहुँचमा सडक नपुगे पनि ठूलो जनसंख्याले सडक लाभ उठाउन सकिने आस धेरै नरहेको गाउँपालिकाका अध्यक्ष बुढाथोकीले बताए ।


‘आफू निर्वाचित भएदेखि अहिलेसम्म बढी समय तिंकर सडकलाई दिएको छु,’ उनले भने, ‘स्थानीयवासीको पहिलो प्राथमिकता भनेकै तिंकर सडक भएकाले यो सडकलाई उत्तरी सीमा नाकासम्म पुर्‍याउन आफू निरन्तर प्रत्यन गरिरहने छु ।’ सदरमुकाम खलंगाबाट शून्य प्वाइन्ट मानेर तिंकर सीमा क्षेत्रसम्म एक सय ४० किलोमिटर सडकको १० वर्षसम्म ३४ किलोमिटर ट्रयाक खोलिएको छ ।


आर्थिक वर्ष ०६५ बाट सुरु भएको यो सडक पहिलो गुरुयोजनाअनुसार चालु आर्थिक वर्षभित्रै सपन्न गर्नुपर्ने हो । पछिल्लो समय महाकाली करिडोरमा यो सडक गाभिएपछि यसको समयावधि २०७९ पुर्‍याइएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलासम्म करिडोरको कुल लम्बाइ २९१ किलोमिटर छ ।

प्रकाशित : माघ ६, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?