१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गाउँपालिका परिसरमा छाडा चौपाया 

गणेश चौधरी

टीकापुर — केही दिनयता जानकी गाउँपालिका र किसानबीच जुहारी चलेको छ । किसानले छाडा गाईगोरु गाउँपालिका कार्यालय परिसरमा थुन्ने र गाउँपालिकाले तिनलाई बाहिर धपाउने गरेको छ ।

किसानले गाईगोरु गाउँपालिका परिसरमा थुनेपछि गाउँपालिका अध्यक्ष प्रदीप चौधरी प्रहरी गुहार्छन् । प्रहरी आएपछि परिसरको ढोका खुल्छ र छाडा गाइगोरु व्यवस्थापनका लागि छलफल हुन्छ ।


गाउँपालिका अध्यक्ष प्रदीप चौधरी भन्छन्, ‘जनतासित झगडा गर्ने कुरा भएन । छाडा गाईगोरु व्यवस्थापनका लागि बजेट पनि विनियोजन गरेका छौं । गत वर्ष वडा नं ९ मा एउटा कान्जी हाउस बनाएका छौं । केही गोरु पहाडतिर पनि पठायौं । कताबाट आउछन् थाहै हुँदैन ।’


छाडा चौपाया व्यवस्थापनका लागि गत वर्ष पनि गाउँपालिकाले करिब १० लाखभन्दा बढी खर्च गरेको थियो । तर, छाडा चौपायाले किसानको यो वर्ष पनि बालीनाली स्वाहा गर्ने क्रम नरोकिएपछि उनीहरू हैरान छन् । जानकी गाउँपालिका–१ दुर्गौलीका चन्द्रमान बमले भने, ‘बालीनाली केही नराख्ने भए । करिब २ सय गाईगोरु दुर्गौली गाउँमा मात्र छाडा अवस्थामा छन् ।’


चुनावका बेला सबैजसो उम्मेदवारले छाडा चौपाया व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । अहिले केही नभएको उनले बताए । ‘जनप्रतिनिधिले तलब खाने । हाम्रा बाली गोरुले खाने । अनि हामी किसानले के खाने,’ बमले भने । यहाँका स्थानीय तहले छाडा गाईगोरु नियन्त्रणका लागि प्रयास नगरेका भने होइनन् ।


सबैजसो स्थानीय तहले काँडेतारको घेरबार गरेर छाडा गाईगोरु नियन्त्रण पनि गरे । तर, गाईगोरुको चरन र आहारसँगै हेरचाहको समस्या भएपछि घेरबार गरेर राखिएका गाईगोरु पहाडी जिल्लामा पठाए । पहाडी जिल्लाका नागरिकले अवरोध गरेपछि पहाड पठाउने क्रम रोकिएको छ । जानकी गाउँपालिकाका अध्यक्ष चौधरीले भने, ‘प्रतिगोरु एक हजार दिएर पहाडी जिल्ला पठाएका हौं । उताकाले पनि फोन गरेर थर्काउन थाले ।’


टीकापुर नगरपालिकाले पनि गाईगोरु नियन्त्रणका लागि नगर कार्यपालिकाका सदस्य अक्कल माझीको संयोजकत्वमा ३ सदस्यीय समिति नै बनाएको छ । छाडा गाईगोरु नियन्त्रण र व्यवस्थापनको जिम्मा लिएको समितिले भुराखानी सामुदायिक वनमा काँडेतारको घेरबार गरेर करिब ६ सय गोरु नियन्त्रणमा राख्यो तर पालनपोषणको समस्याले लामो समय राख्न सकेन । नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले भने, ‘गाईगोरु थुनेर त राख्यौ । पाल्न समस्या हुन थाल्यो ।’


उनका अनुसार दैनिक करिब ४ ट्याक्टर ट्रली पराल चाहिने भयो । पराल पुर्‍याउनै सकिएन । ‘एक ट्रली परालको १० हजार रुपैयाँ पर्छ । एक दिनमा ४ ट्रली खान दिएपछि ४० हजारको पराल, अनि हेरचाहका लागि जनशक्तिको खर्च जोड्दा दैनिक ५० हजार जति हुन्छ । कसरी खर्च धान्ने ?’ उनले भने ।


छाडा गाईगोरुले किसानका बालीनाली सखाप बनाउनुका साथै राजमार्ग तथा बजारमा ट्राफिक समस्या भएपछि स्थानीय तहको चुनावमा दलका उम्मेदवारले छाडा गाईगोरु व्यवस्थापनको नारा ल्याएका थिए । लम्कीचुहा नगरपालिकाले एक हजार बढी, टीकापुर नगरपालिकाले करिब ४ सय गोरु पहाडी जिल्ला पठाए पनि व्यवस्थापन प्रभावकारी भएन ।


टीकापुर नगरपालिकाले छाडा पशु नियन्त्रणमा सघाउ पुग्ने भन्दै पशु बिमा कार्यक्रम पनि लागू गर्‍यो । छाडा गाईगोरु पहाडी जिल्ला पनि पठायो । काँडेतार लगाएर पनि राख्यो । छाडा पशुलाई भने अझै पूर्ण नियन्त्रण गर्न सकेको छैन ।

प्रकाशित : माघ ७, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?