सडकले सहज : तराई झर्‍यो पहाडको उत्पादन

डीआर पन्त

डडेलधुरा — भागेश्वर गाउँपालिकाको चुल्ल गाउँका सुन्तला यो वर्ष स्थानीय बजारमा आएनन् । बर्सेनि २ हजार क्विन्टलभन्दा बढी मौसमी तरकारी उत्पादन गर्ने यहाँका कृषकले आफ्नो उत्पादन सिधै कैलाली र कञ्चनपुर पठाए ।

सडकले सहज : तराई झर्‍यो पहाडको उत्पादन

फलफूल मात्र होइन, तरकारी उत्पादनमा समेत प्रख्यात भागेश्वर ४ का स्थानीयले आफ्ना उत्पादन सिधै कैलाली र कञ्चनपुर निर्यात गर्न थालेका हुन् ।

साविकको देवल र चिपुर गाविसका कृषक पनि आफूले उत्पादन गरेको नगदे बालीले सहज रूपमा बजार पाउन थालेपछि खुसी भएका छन् । समैजी, अजयमेरु र भद्रपुर हुँदै सीधा सदरमुकाम जोड्ने सडक सञ्जालसँग गाउँ जोडिएपछि परम्परागत खेती गर्ने यस क्षेत्रका किसान पनि नगदेबाली उत्पादनमा लागेका छन् । डडेलधुरा सदरमुकामदेखि बगरकोट हुँदै साविकको देवल गाविसको तल्लो भेग सडक सञ्जालमा जोडिएको छ । मथिल्लो भेगबाट पनि गाउँमा मोटर पुग्न थालेपछि कृषक नगदेबाली उत्पादनमा लागेका हुन् ।

यी २ गाउँपालिका मात्र होइन । स्थानीय तह बनेपछि टोलटोल र गाउँगाउँमा सडक पुर्‍याउने अभियान नै सुरु भएकाले जिल्लाका प्राय: सबै क्षेत्रमा उत्पादनमा वृद्धि हुन थालेको छ । जिल्लाका दुर्गम क्षेत्रमा रहेका भागेश्वर, रुपाल, गांगखेत, चिपुर, देवल, भद्रपुरलगायत सबै क्षेत्रमा सडक यातायात पुगेपछि कृषक उत्साहित भएर उत्पादनमा लागेका छन् ।

सडक निर्माण अव्यवस्थित र अवैज्ञानिक रूपमा भए पनि कृषकहरूले भने आफ्नो उत्पादनले सहज रूपमा बजार पाउन थालेको बताएका छन् । ‘सडक नहुँदा साविकको चिपुर गाविसमा उत्पादन हुने मौसमी तरकारी गाउँमा कुहिने गथ्र्यो,’ स्थानीय कृषक मदन भाटले भने, ‘गाउँमा मोटर पुग्न थालेपछि कृषकको उत्पादन खरिद गर्न व्यवसायीहरू गाउँमै पुग्न थालेका छन् ।’

कैलाली र कँचनपुरका व्यवसायी गाउँमै मोटर लिएर पुग्छन् । स्थानीय अगुवा कृषक धर्मराज जोशीले भने, ‘गाउँगाउँमा सडक सञ्जाल निर्माण भएपछि गाउँको उत्पादन सहज रूपमा बजारमा पुग्न थालेको हो । ४ घण्टा पैदल हिँडेर उत्पादन सदरमुकाम पुर्‍याउनुपथ्र्यो । बजारमा पनि बिचौलियाले तोकेको मूल्यमा मात्र बिक्री हुने उत्पादन अहिले आफ्नै घर आँगनमा आफूले चाहेको मूल्यमा बिक्री गर्न पाइएको छ ।’

गाउँमा सडक पुग्नुअघि कृषकले आफ्नो परिश्रमको मूल्यसमेत पाउन मुस्किल हुने गरेको बताउँदै उनी भन्छन्, ‘अव्यवस्थित र अवैज्ञानिक रूपमा सडक निर्माणले अन्य धेरै क्षेत्रमा ठूलो क्षति पुगेको भए पनि कृषकहरूले भने तत्काल आर्थिक रूपमा फाइदा पाएका छन् ।’

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि विकास बजेटको ठूलो हिस्सा सडक निर्माणमा लगाएका कारण आलोचित भए पनि यसले उत्पादनमा भने वृद्धि भएको कृषकहरूको भनाइ रहेको छ । ‘ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोडेका कारण उत्पादनका क्षेत्रमा कृषकले लगानी गर्न थालेका छन्,’ अजयमेरु गाउँपालिका अध्यक्ष विकास भट्ट भन्छन्, ‘सडक निर्माणलाई व्यवस्थित गर्न नसक्नु स्थानीय तहको कमजोरी भए पनि यसले गर्दा आर्थिक समृद्धिका क्षेत्रमा धेरै ठूलो फड्को मारेको छ ।’

तथ्यांकमा देखिने गरी उत्पादनमा निकै वृद्धि भएको देखाउन नसकिए पनि डेढ वर्षको अवधिमा खाली हुँदै गएका मध्यपहाडका गाउँका कृषक उत्पादनका क्षेत्रमा उत्साहित भएर लागेको उनले बताए । गाउँगाउँमा सडक निर्माण गर्दा जनप्रतिनिधिले धेरै पक्ष हेर्न नसकेका कारण पर्यावरणीय क्षति भए पनि उत्पादनमा चाहिँ वृद्धि भएको कृषि क्षेत्रमा कार्यरत स्थानीय प्राविधिकहरूले बताएका छन् ।

कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्राविधिक टेकबहादुर बिष्ट भन्छन्, ‘जथाभावी सडक निर्माणले वन जंगलको क्षति, पानीका मुहानमा क्षति र प्राकृतिक जोखिम बढेको भए पनि कृषकलाई भने आफ्नो उत्पादन बजारमा पुगाउन निकै सहज भएको देखिएको छ ।’ खाद्यान्न उत्पादनमा धेरै भिन्नता नभए पनि तरकारीबाली र अन्य नगदेबाली उत्पादनमा भने २ वर्षयता निकै वृद्धि भएको उनले बताए ।

‘बजारमा पुर्‍याएर पनि उचित मूल्य नपाउने कारणले कृषकहरूले उत्पादनका क्षेत्रमा त्यति ध्यान पुगाएका थिएनन्,’ वरिष्ठ प्राविधिक बिष्टले भने, ‘घर आँगनमै कृषकको उत्पादन खरिद गर्न टाढाटाढाबाट ब्यवसायी धाउन थालेपछि कृषकहरूमा पनि उत्साह जोगेको देखिएको छ ।’

प्रकाशित : माघ ७, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?