थारू बस्तीमा हराउँदै बडका

गणेश चौधरी

टीकापुर — पछिल्ला वर्ष थारू गाउँमा बडका, कठघोरी र मुंग्रहवा नाच बिरलै देखिन्छ । नृत्य कलाकार भेटाउन मुस्किल छ । नाच्ने कुरा त परको भयो । कतिपय नयाँ पुस्ताका थारू युवाले त यी नाच हेर्नै पाएका छैनन् ।

थारू समुदायमा रहेका थुप्रै नाच लोप हुने अवस्थामा पुगेपछि माघीको अवसर पारेर लम्कीचुहा नगरपालिकाको पहलमा यहाँका बडघर/भलमन्साले प्रतियोगिता नै आयोजना गरेर परम्परागत संस्कृति जोगाउने अभियान थालेका छन् ।


आफ्नो परम्परागत पहिरन सहित नाच प्रदर्शन गर्ने प्रतियोगितामा विजयी झाँकीको पुरस्कार राशि ठुलै थियो । पहिलोलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार । कुनै खास समुदायका लागि यति ठूलो रकम पुरस्कार भएको परम्परागत सांस्कृतिक प्रतियोगिता कैलालीमै पहिलो हो ।


‘थारू समुदाय संस्कृतिमा निकै धनी छ । संरक्षणको अभावमा भने कतिपय संस्कृति परम्परा र नाच लोप हुने अवस्थामा छ,’ लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईंले भने, ‘यसलाई जोगाउन स्थानीय सरकारको दायित्व सम्झेर नगरपालिकाले यस्तो प्रतियोगिता आयोजना गरेको हो ।’


कैलालीमा १३ स्थानीय तह छन् । त्यसमध्ये करिब आधामा थारू समुदायका प्रमुख छन् । ‘अरूले संस्कृति संरक्षणमा ध्यान दिएका छन् कि छैनन्, थाहा भएन । यो संस्कृति थारू समुदायको मात्र सम्पत्ति नभएर स्थानीय सरकारको पनि हो,’ प्रमुख बजगाईंले भने, ‘यसलाई जोगाएर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । यस्तो प्रतियोगिताले नयाँ पुस्तामा संस्कृति प्रतिको मोह जाग्नेछ ।’


यस्तो सांस्कृतिक झाँकी प्रतियोगिता आगामी दिनमा पनि आयोजना गर्दै जाने नगर प्रमुख बजगाईंले बताए । उनले भने, ‘संस्कृति र पर्यटन सँगसँगै लैजाने योजना हो ।’ प्रतियोगितामा नगरभित्रका थारूहरूले पुराना नाच प्रदर्शन गरे । पुराना नाच नाच्न जान्ने युवा पुस्ता कमै थिए । पुराना सांस्कृतिक झाँकीले युवा पुस्तामा निकै जोस उत्साह र उमंग देखिन्थ्यो । सांस्कृतिक कार्यक्रममा सहभागी सुधराम दहितले भने, ‘म पनि थारू संस्कृति संरक्षणमा निकै चासो लिन्छु । तर यस्तो पुरानो नाच नाच्ने, गाउने शैलीका बारेमा खासै थाहा थिएन । यसले मलाई संस्कृति संरक्षणमा लाग्न झन् उत्साही बनायो ।’


सांस्कृतिक प्रतियोगिताका प्रचारप्रसार संयोजक पर्शुराम चौधरीले युवा पुस्तालाई संस्कृति संरक्षणमा आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘लम्कीचुहा नगरपालिकाले यति ठूलो धनराशिको प्रतियोगिता गराएर थारू समुदायलाई नै गुन लगाएको छ । यसले युवा पुस्ता संस्कृति संरक्षणमा आकर्षित हुँदै जानेछन् ।’ सांस्कृतिक झाँकी प्रतियोगितामा विभिन्न क्षेत्रबाट आएका २० वटा झाँकी सहभागी थिए ।

प्रकाशित : माघ ८, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?