कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

माघमा भैलो

दार्चुला — यहाँका सौका समुदायले देउसी/भैलो खेलेर सोमबार गबला पर्व मनाए । दार्चुलामा मात्रै बसोबास गर्ने यो समुदायले हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन भैलो खेलेर गबला पर्व विशेष रूपमा मनाउँछ ।

स्थानीय बासिन्दा बिहानै मन्दिर गए, सामूहिक पूजापछि घर फर्किए । घरको मूलढोका पुजेपछि छतमा गएर कयर देवता (सूर्यदेव) को पूजा गरे । सौका समुदायले यो पर्व निकै उत्साहका साथ मनाएको व्यास गाउँपालिकाका चमकसिंह तिंकरीले बताए । परम्परागत रूपमा माघबाट यो समुदायको नयाँ वर्ष सुरु भएको मानिन्छ । यस अवसरमा आफ्ना मुख्य देवता गबलाको पूजा गर्छन् । देवतालाई यो समुदायले जौ, चामल र सतानीले पुज्छन् । गबला देवताको पूजाआजापछि शुभ कार्य एवं विवाह व्रतबन्ध सुरु हुने तिंकरका दानसिंह तिंकरीले बताए ।


दिनमा परिवारका सबै सदस्य मन्दिरमा पूजा गरी घरमा खानपिन गरेर रमाइलो गर्छन् । साँझ युवायुवतीले आफ्नो समुदायको घरमा देउसीभैलो खेल्ने चलन रहेको व्यास गाउँपालिका–१ तिंकरकी मञ्जु तिंकरीले बताइन् । अन्य समुदायले तिहारका बेला खेल्ने देउसीभैलो सौका समुदायले गबला पर्वका अवसरमा माघ शुक्ल पूर्णिमाका दिन खेल्ने गरेका हुन् ।


यो पर्व मनाउनुअघि साइत जुराएर धच्र्यु चुमो गर्ने परम्परा छ । सौका समुदायको भाषामा धच्र्यु चुमो भनेको बाँसको लिंगोमा ध्वजा लगाएर घर–घरमा ठड्याउनु हो । पर्वका बेला मिठो परिकार पकाउने र इष्टमित्रहरूलाई खुवाउने चलन छ ।

प्रकाशित : माघ ८, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?