एकरूपता ल्याउन भाषा प्रशिक्षण

डीआर पन्त

डडेलधुरा — ०४७ पछि मात्र राष्ट्रिय भाषाको मान्यता पाएको डोटेली भाषाको वर्ण प्रवद्र्धन, लेखाइमा एकरूपता, व्याकरणमा समानता, वर्ण निर्धारण र भाषा प्रयोगमा प्रोत्साहन दिने उद्देश्यले सुदूरपश्चिमका ४ पहाडी जिल्लाका शिक्षक तथा सरोकारवालालाई पहिलो पटक प्रशिक्षण दिन थालिएको छ ।

एकरूपता ल्याउन भाषा प्रशिक्षण

कुनै समय नेपाली भाषाको माउ भाषाका रूपमा चर्चा पाएको डोटेली भाषाको बृहद् शब्दकोष निर्माणपछि पहिलो पटक यसरी डोटेली भाषा बोलिने सबै क्षेत्रमा लेखाइमा एकरूपता ल्याउने उद्देश्यले मातृभाषा नेपालले यो प्रयास थालेको हो । ‘भाषिक समानताका लागि सुरु भएको यो पहिलो चरणको अभियान मात्र हो,’ मातृभाषा नेपालका अध्यक्ष प्राध्यापक डा. मोहन भट्टले भने, ‘पहिलो चरणमा डोटी, डडेलधुरा, बैतडी र बझाङमा शिक्षक र भाषा प्रेमीहरूलाई प्रशिक्षण दिन सुरु गरिएको छ ।’


दोस्रो चरणमा प्रदेशका सबै जिल्लामा शिक्षक तथा सरोकारवालाहरूलाई प्रशिक्षण दिने र डोटेली भाषाको प्रयोग गर्न प्रोत्साहन गर्ने भट्टले जानकारी दिए ।


‘नेपाली भाषाभन्दा फरक तर नजिक रहेको डोटेली भाषा सिंजाली र कुमाउनी भाषासँग पनि नजिक छ,’ प्राध्यापक भट्ट भन्छन्, ‘डोटेली भाषाभित्र रहेको विविधतालाई एकरूपतामा ल्याउन भने उत्तिकै चुनौती छ ।’


भाषाको मूल एकै भए पनि गर्खापिच्छे बोलाइ र लेखाइमा देखिएको भिन्नताले डोटेली भाषालाई कमजोर बनाउन सक्ने चिन्ताका कारण विज्ञहरू यो प्रयासमा लागेको मातृभाषा नेपालका सचिव तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले बताए । ‘बोलाइमा भएको भिन्नता आफ्नो ठाउँमा छ तर लेखाइमा एकरूपता ल्याउन सकिए प्राचीनमध्येको एक डोटेली भाषाको विकासमा यो अभियान कोसेढुंगा साबित हुन सक्छ,’ उनले भने ।


पहिलो चरणमा ४ वटा जिल्लामा सुरु गरिएको प्रशिक्षणमा हरेक जिल्लामा गरी ३० भन्दा बढी प्रशिक्षण कक्षा सञ्चालन हुने आयोजकले जनाए । आयोजक मातृभाषा नेपालका अनुसार हरेक कक्षामा ३० देखि ५० जनासम्मलाई सहभागी गराइएको छ । भाषामा चासो राख्ने सर्वसाधारण, शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, समाजका हरेक अंगमा कार्यरत अगुवाहरूलाई पहिलो चरणमा यो प्रशिक्षण दिन सुरु गरिएको हो ।


‘यो पहिलो प्रयास हो,’ सचिव बिष्टले भने, ‘नेपाली भाषाको प्रतिशत घट्ने मानसिकता, राज्यसत्ताबाट केही संरक्षण नपाउनु र अर्काको भाषा बोल्दा ठूलो ठहरिने अर्काको भाषा प्रयोग गर्दा सम्मान हुने जस्ता आन्तरिक खराब प्रवृत्तिका कारण डोटेली भाषाको विकास हुन नसकेको निष्कर्षसहित यो प्रयासको थालनी भएको हो ।’


प्रशिक्षणमा सहभागीहरू पनि यस प्रयासप्रति निकै उत्साहित भएका छन् । डडेलधुरामा आयोजित प्रशिक्षणमा सहभागी शिक्षक सिद्धराज भट्टले भने, ‘जन्मेको ठाउँ, जन्मदिने आमा र मातृभाषाको विकास गर्न नसके अरू केही गर्न सकिँदैन भन्ने कुरा बुझ्ने अवसर मिलेको छ । आफ्नो भाषा र संस्कृतिका विषयमा हामीलाई धेरै जानकारी नै रहेनछ । यो प्रशिक्षणले भाषिक विषयबाहेक धेरै विषयमा जानकारी पाउन सकिएको छ ।’


नेपाली भाषाभन्दा हजारौं वर्ष पुरानो मानिएको डोटेली भाषा बृहद् डोटी राज्य खण्डित भएसँगै ७ औं शताब्दीबाट छिन्नभिन्न भएको इतिहासकारहरूको मत छ । भारतको हालको कश्मीरसँग र यता राप्ती नदीसम्म सिमाना जोडिएको राजा शुभानुदेवले स्थापना गरेको बृहद् डोटी राज्यको कुनै समय मूलभाषा डोटेली भाषा इतिहासका विभिन्न कालखण्डमा टुत्रिँmदै जाँदा अहिलेको स्वरूपमा पुगेको इतिहासकारहरूको भनाइ छ । डोटेली संस्कृतिका अधिकांश अनुसन्धानकर्ताहरूले यस भाषालाई नेपालका आदिवासीहरूको भाषासँगैको इतिहास भएको बताएका छन् ।


देशमा नयाँ शिक्षा लागू हुनुपूर्व डोट्याली भाषाका विषयमा कसैलाई जानकारी थिएन । पहिलो पटक डा. तारानाथ शर्माले लेखेको ‘घनघश्याको उकालो काट्दा’ डोटेली भाषाको शब्द ‘बाटामी गाड पडन्छे’ प्रयोग गरिएपछि यस भाषाका विषयमा अनुसन्धान सुरु भएको मानिएको छ । यसअघि इतिहासकार पं रामचन्द्र ओझा, वरिष्ठ साहित्यकार एनडीप्रकाश चटौत र पहलमानसिंह स्वाँर लगायतले डोटेली भाषामा लेखेका केही कृतिहरू भए पनि त्यसको प्रचारप्रसार हुन सकेको थिएन ।


मातृभाषा नेपालको आयोजना र हिमाली आदिवास समाज (शील) नेपालको सहयोगमा सुरु गरिएको डोटेली भाषा सम्बन्धी प्रशिक्षणले आगामी दिनमा भाषा लेखनमा रहेको विविधता, डोटेली भाषाको व्याकरणमा एकरूपता मात्र होइन, यसको प्रयोगमा पनि ठूलो सहयोग पुग्ने विश्वास भाषाविद्हरूले गरेका छन् ।

प्रकाशित : माघ ८, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?