१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जथाभावी पार्किङले सास्ती

भवानी भट्ट

कञ्चनपुर — पार्किङस्थल नहुँदा महेन्द्रनगर बजार अस्तव्यस्त हुन थालेको छ । मनोमानी ढंगले जताततै सानादेखि ठूला सवारी साधन पार्किङ गरिंदा पैदलयात्रुलाई हिंडडुलमा कठिनाइ भएको छ ।

महेन्द्रनगर बजारको क्याम्पस रोडमा पार्किङको चर्को समस्या छ । बैंक, वित्तीय संस्था र व्यापारिक प्रतिष्ठान अगाडि सवारी साधनको अनियन्त्रित भीडले पैदल हिंड्न सकस छ ।


‘बाटोभरि सवारी साधन राख्दा आउजाउ गर्नै गाह्रो हुन थाल्यो,’ महेन्द्रनगरकी स्थानीय सबिता विष्टले भनिन्, ‘कुनै बेला त जाम नै लाग्छ, एकतर्फी बाटो समेत नहुँदा निकै समस्या हुन्छ ।’ जथाभावी सवारी साधन रोक्दा दुर्घटनाको जोखिमसमेत बढेको उनले बताइन् ।


साँघुरा गल्लीहरूमा दुवैतर्फ रोकिएका सवारीसाधनका कारण हिंडडुल गर्न समस्या छ । यस्तो अवस्थामा पैदलयात्रुले समेत रोकिनुपर्ने अवस्था आउँछ । ठूला सहर बजारमा जामको समस्या हुने सुनेका यहाँका स्थानीयले अब आफैं समस्या भोग्न थालेका छन् । ‘सवारी साधनको चाप दिनहुँ बढ्दो छ, त्यस अनुसारको पार्किङ स्थल तथा सडक विस्तार हुन सकेको छैन,’ स्थानीय गणेश भट्टले भने, ‘बजार क्षेत्रमा जथाभावी रोकिने सवारी साधनले कुनै दिन ठूलै दुर्घटना निम्त्याउन सक्छ ।’


सडक छेउसम्मै पुगेका पसल । त्यसैमा ग्राहक तथा सेवाग्राहीको भीड । त्यसपछि उनीहरूको सवारी साधन । यिनैले आधाभन्दा बढी बाटो छेकिन्छ । फेरि ठूला ट्रक तथा बसहरू समेत मनपरी रूपमा चलिरहन्छन् । यसले समेत ट्राफिक जामको समस्या निम्त्याएको छ । बजारछेउमै पार्किङ स्थल निर्माणसँगै ठूला सवारी साधनलाई निश्चित समयावधि तोकेर मात्रै बजार प्रवेश गर्ने व्यवस्था हुनुपर्ने स्थानीय बताउँछन् ।


‘हामीले बजार क्षेत्र आसपास पार्किङ स्थल निर्माणका लागि स्थानीय तहसँग आग्रह गरेका छौं,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भरत शाहले भने, ‘यसमा पटकपटक पहल गरिरहेका छाैं ।’ बजारको छेउमै व्यवस्थित पार्किङस्थल निर्माण गरेर किनमेल गर्नेलाई भित्र सवारी साधन लैजान रोक लगाउनुपर्ने उनले बताए ।


प्रहरी निरीक्षक शाहले कार्ययोजनासहित भीमदत्त नगरपालिकाको कार्यालयमा पार्किङस्थल निर्माणका लागि पहल गरिएको बताए । उनले तत्काल पार्किङस्थल निर्माण हुन नसके ट्राफिक जामको समस्या विकराल हुँदै जाने बताए । महेन्द्रनगर व्यवस्थित बजारका रूपमा चिनिन्छ ।


तीसको दशकमा बसाइएको यो बजारमा व्यापारिक क्षेत्र, आवासीय क्षेत्र लगायत पार्क समेत निर्माण गरिएको छ । तर केही वर्षयता महेन्द्रनगर नगर विकास समिति मातहत रहेको जमिन जथाभावी लिजमा दिंदा बजार नै कुरूप हुने अवस्थामा पुगेको छ ।

भीमदत्त नगरपालिकाले भने तत्काल पार्किङस्थल निर्माणभन्दा पनि भित्री गल्लीहरूलाई ढलसँगै पार्किङस्थलका रूपमा व्यवस्थित गर्ने काम सुरु भएको जनाएको छ ।


‘तत्काल पार्किङस्थल निर्माणको कुनै योजना छैन, तर मेन गल्लीलाई चौडा बनाएर किनमेलसँगै भित्री गल्ली व्यवस्थापन गरेर पार्किङ गर्न सक्ने गरी काम अघि बढेको छ,’ भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले भने, ‘भित्री गल्लीहरू व्यवस्थापन भए पार्किङको समस्या समाधान हुनेछ ।’


महेन्द्रनगर बजारमा ५ वटा मुख्य गल्ली छन् । भित्रतर्फ ढल निकाससँगै पार्किङस्थलका लागि पनि पर्याप्त ठाउँ छ । त्यसैलाई व्यवस्थापन गर्न सर्भे भइसकेको पाण्डेयले बताए ।

प्रकाशित : माघ ९, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?