भारुमुणबाट मुक्ति

गाउँ–गाउँमा खुलेका सहकारीले निम्न आयस्तर भएकालाई पुस्तौंदेखिको चर्काे ब्याजको चक्रबाट मुक्ति दिलाएका छन्

बझाङ — चार वर्ष अघिसम्म जयपृथ्वी नगरपालिका–१ का चमारे कामी भारतको प्रमुख तीर्थस्थल केदारनाथ जान्थे । पूजापाठका लागि होइन, मजदुरी गर्न । त्यहाँ पुग्न बाटो खर्च र आफू भारतमा रहुन्जेल परिवारलाई नुनतेलका लागि भनेर उनले स्थानीय व्यापारीबाट ८/१० हजार ऋण लिनुपर्थ्याे ।

त्यहाँ तीन महिना जति काम गर्दा २० हजार भारु कमाएर उनी असारमा खेती लगाउन घर फर्किन्थे । तीन महिनाकै अवधिमा उनले लिएको ऋण नेपालीको भारु भइसक्थ्यो । अर्थात उनले भारत जाँदा जति नेपाली रुपैयाँ ऋण लिएको हो फर्कंदा त्यति नै रकम

भारु साहुलाई बुझाउनुपर्थ्याे ।


चमारेले केदारनाथ धाम दर्शन गर्न आउने यात्रु बोक्ने काम गर्थे । गौरीकुण्डबाट तीर्थयात्रु बोकेर १४ किलोमिटर टाढा केदारनाथ मन्दिरसम्म पुर्‍याउनु र त्यहाँ दर्शन गरिसकेका यात्रुलाई गौरीकुण्डसम्म बोकेरै छोड्ने काम उनको मौसमी रोजगारी थियो । यसरी काम गर्दा उनको एक सिजनमा १५/२० हजारसम्म भारतीय रुपैयाँ कमाइ हुन्थ्यो । कमाएको आधा पैसा साहुलाई नै बुझाउनुपथ्र्यो । तीन/चार महिनामै नेरुको भारु बुझाउनुपर्दा उनको मन कुँडिन्थ्यो । ‘भारुमुण’ (भारु तिर्ने गरी) ऋण काढ्नु बाध्यता नै थियो । नतिरौं भने अर्काे वर्ष इन्डिया जाने खर्च पाइँदैनथ्यो,’ उनले भने, ‘तीन महिनासम्म पसिना बगाएर कमाएको आधा रकम साहुकै हुन्थ्यो । आधा रकमले केटाकेटीको लुगाफाटो फेर्ने र नुनतेल चलाउने गर्थे ।’


यस्तो खालको बाध्यता भोग्ने चमारे एक्ला होइनन् । उनको गाउँका प्राय: सबैजसो परिवार बर्सेनि ‘भारुमुण’ ऋण काढ्थे । उनको जस्तै आधा रकम साहुलाई नै बुझाउनुपथ्र्यो । जिल्लाभरि नै यस्तो अवस्था थियो । बझाङमा मात्र बर्सेनि हजारौं ऋणीहरूले चमारेको जस्तै तीन/चार महिनामा नेरुको भारु बुझाउनुपर्ने अवस्था थियो । ‘गाउँमा साहु/व्यापारी ३/४ जना हुन्थे, बाँकी सबैजना इन्डियामै मजदुरी गर्थे,’ खप्तड छान्ना गाउँपालिकाको गडरायका मंगल खड्काले भने, ‘साहुले जति भन्यो त्यति ब्याज तिर्नुपर्ने बाध्यता थियो ।’


घरमै केही काम गर्नुपर्दा पनि महिनाको सयकडा छ (वार्षिक ७२ प्रतिशत) ब्याज लिनु सामान्य जस्तै हुन्थ्यो । थलारा गाउँपालिका मालुमेलाकी अम्बिका रेग्मीले भनिन्, ‘महिनाको सयकडा १० को दरले पनि ब्याज तिरेका छौं ।’ उनले केही वर्ष पहिला गाउँका अधिकांश मानिस ऋणकै तनावमा हुने गरेको बताइन् ।


केही वर्षयता भने चर्काे ब्याज असुल्ने चलन हराउँदै जान थालेको छ । गाउँगाउँमा खुलेका सहकारीहरूले निम्न आयस्तर भएका मानिसहरूलाई पुस्तौंदेखिको चर्काे ब्याजको चक्रबाट मुक्ति दिलाएका हुन् । ‘सहकारी त हाम्रो भगवान भएर आएको छ,’ चमारेले भने ‘भनेको समयमा सस्तो ब्याजमा ऋण पाएका छौं । वर्षाैंदेखिको शोषण हटेको छ ।’ उनले चर्काे ब्याज बुझाउँदा पनि साहुको हप्की दप्की खानुपर्ने अवस्थाबाट सहकारीले मुक्ति दिलाएको बताए ।


सहकारीले सस्तो ब्याजमा ऋण दिएका कारण धेरैजसो व्यक्तिको भारतको मजदुरी पनि छुटेको छ । बुंगल नगरपालिकाको कालभैरव कृषि सहकारी संस्थाका अध्यक्ष केशवनाथ भन्छन्, ‘सस्तोमा ऋण पाउन थालेपछि भारतमा मजदुरी गर्न जानेहरू पनि गाउँमै व्यवसाय गर्न थालेका छन् । सहकारीकै कारण धेरैले भारत जान छोडिसकेका छन् ।’ उनले सहकारीबाट ऋण लिएर यहाँका डेढ सय बढीले सिलाइ कटाई, तरकारी खेती, बाख्रापालन, कुखुरापालन, घुम्ती व्यापार जस्ता आयमूलक कामहरू गरिरहेको बताए ।


गाउँमा सहकारी खुलेपछि श्रीमान् विदेश भएका महिलाहरूलाई पनि घर व्यवहार चलाउन सहज भएको छ । बुंगलकै दहबगर कृषि सहकारी संस्थाकी सेयर सदस्य रस्मिला बोहरा यसअघि साहुको घरमा पटक पटक धाउनुपर्ने समस्याबाट सहकारीले आफूलाई छुटकारा दिएको बताइन् । उनले भनिन्, ‘आफूसँग भएको रकम बचत गर्छाैं । चाहिएको बेला ऋण लिन्छौं । कसैको घरमा धाउनुपर्ने, विभिन्न कुरा सुन्न पर्ने झन्झट हटेको छ ।’


पछिल्लो समय गाउँगाउँमा सहकारी संस्थाहरू खुल्न थालेपछि यहाँका स्थानीयको आर्थिक गतिविधि बढेको र सहकारीकै कारण कतिपयले आफ्नो आर्थिक हैसियत नै बदल्न सफल भएको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिर्ख कठायतको भनाइ छ । उनका अनुसार जिल्लाभरमा बचत ऋण, बहुउद्देश्यीय र कृषि सहकारीसमेत गरेर डेढ सयभन्दा बढी सहकारी छन् । जिल्लाभरका ६० हजार व्यक्ति विभिन्न सहकारीमा आबद्ध छन् । करिब २० करोडको हाराहारी रकम सहकारीको पँुुजी रहेको छ ।

प्रकाशित : माघ ९, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?