गाउँमा बस पुग्दा रातभर देउडा

मेनुका ढुंगाना

अछाम — ढकारी गाउँपालिका–३ हिच्माकी ६७ वर्षीया सरु बिक गाउँमा बस पुग्ने खबर सुनेपछि २ घण्टा हिंडेर गाउँपालिका केन्द्र ढकारी पुगिन् । कहिल्यै बस नदेखेकी उनी बस कस्तो हुन्छ भनेर हेर्नकै लागि लौरो टेक्दै आएकी थिइन् ।

गाउँमा बस पुग्दा रातभर देउडा

‘सञ्चो छैन, तैपनि बस हेर्ने धोको पूरा गर्न बिहानै हिँडेर आएँ,’ उनले भनिन्, ‘बस घर जस्तो हुन्छ कि, कस्तो हुन्छ होला भन्ने लागेको थियो । खुबै हेरुँ हेरुँ लाग्ने हुँदो रैछ ।’


गाउँका अधिकांश महिलाले आइतबार ढकारीमा पहिलोपटक बस देखे । बस हेर्न कसैले सासू ससुरा बोकेर ल्याएका थिए, कसैले छोराछोरी । कोही बस हेर्नकै लागि आधा घण्टाको समय निकालेर आए । पुरुष कामको सिलसिलामा भारत जाने र गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै हुने भएकाले बस हेर्न समेत उनीहरूकै घुइँचो थियो । ‘गाईबस्तुलाई घाँसपात काटेर २ दिनअघि ठिक्क पारेर बस हेर्न आएँ,’ ढकारीकै पानसरा बुढाले भनिन्, ‘गाउँमा बस पुगेपछि ढकारीबाट मंगलसैनसम्म जान ४ दिनको समय निकाल्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’


गाउँमा बस पुगेको अवसरमा महिलाहरूले रातभर देउडा खेलेर रमाइलो गरे । ‘यहाँका महिलाको मुहारमा खुसी छाएको छ,’ स्थानीय रत्ना बुढाले भनिन् । अछामको दक्षिणपूर्वी भेगमा रहेको ढकारीका महिलाले बिरामी हुँदा गाडी नपाएर ज्यान गुमाएको उनले स्मरण गरिन् । ‘४ वर्षअघि सुत्केरी हुन नसकेर मेरै देवरानीको २३ वर्षको उमेरमा ज्यान गयो । कतिपय महिलाले जोखिम माल्नुपर्‍यो । अहिले घरकै आँगनमा बस आउँदा यो समस्याबाट त मुक्ति पाइएला भन्ने लागेको छ,’ उनले भनिन् । बस सेवा सञ्चालन भएपछि गाउँपालिकाका बासिन्दालाई सस्तो र सुलभ रूपमा यातायात सुविधा उपलब्ध हुनुपर्नेे र यात्रुको सुरक्षा र नियमिततामा स्थानीयले जोड दिएका छन् ।


गाउँपालिकाको सक्रियतामा कमलबजारको घोडासैनदेखि बाँचकोटसम्मको सडक स्तरोन्नति गरेपछि पहिलो पटक गाउँमै बस पुगेको अध्यक्ष धनबहादुर बुढाले बताए । ‘घर नजिकैबाट बस चढ्ने स्थानीयको सपना पूरा गर्न ढकारी गाउँपालिकाले १२ मिटर फराकिलो सडक निर्माण गरेको छ,’ उनले भने, ‘जनतालाई यातायात सेवा सहज रूपमा प्रदान गर्न दैनिक रूपमा बस सञ्चालनका लागि हामी सधैं तयार छौं । यसले आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरका छौं ।’


गाउँमा बस पर्‍ुयाउन फराकिलो बाटो चाहिने भएपछि ४५ लाखको लागतमा घोडासैनदेखि ढकारीको बाँचकोटसम्मको करिब ७ किलोमिटर सडक पुनर्निर्माण गरिएको इन्जिनियर गगनजंग शाहीले बताए । उनका अनुसार खोला र मोडहरूमा ठूला गाडीलाई आवश्यक पर्ने गरी सडक पुनर्निर्माण गरिएको छ ।


करिब २२ हजार जनसंख्या रहेको ढकारी गाउँपालिकाका स्थानीयहरू तराई झर्नका लागि दैलेखको टुनिबगर, सुर्खेतको गुटु र जिल्ला सदरमुकाम मंगलसेन पुगेर बस चढ्ने गरेका छन् । ढकारीका आठ वटा वडाका स्थानीयहरू गाउँमै बस चल्ने भएपछि खुसी भएका हुन् ।


सडक प्राथमिकतामा

स्थानीय तह गठन भएको पहिलो वर्ष सडक, खानेपानीलगायतका योजनालाई प्राथमिकतामा राखेका अछामका स्थानीय तहले चालु आवमा स्थानीय तहको केन्द्रसम्म बस पुर्‍याउने योजनालाई जोड दिने भएका छन् ।


हालै अछामको चौरपाटी गाउँपालिका र मेल्लेख गाउँपालिकामा समेत बस पुर्‍याइएको थियो । उद्घाटनपछि यी गाउँपालिकामा बस सेवा नियमित भने हुन सकेको छैन ।


मेल्लेख गाउँपालिकाको सक्रियतामा साँफेबगरदेखि मेल्लेखसम्मको १४ किलोमिटर सडक स्तरोन्नति गरेर गाउँपालिकाको केन्द्रसम्म बस सेवा सञ्चालनमा ल्याइए पनि हाल सुचारु हुन सकेको छैन । चौरपाटी गाउँपालिकाले केन्द्रसम्म मंसिरमा पहिलो पटक चौखुट्टे बजार हुँदै १४ किलोमिटरको दूरी पार गरी गाउँपालिकासम्म बस पुर्‍याएको थियो । हाल यहाँ पनि बस सेवा सुचारु हुन सकेको छैन ।

प्रकाशित : माघ ९, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?