कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जस नपाउने डरले बजेट परेन

मोहन बुढाऐर

धनगढी — कैलालीमा निर्वाचन क्षेत्र सडक योजना अलपत्र परेका छन् । प्रदेश सरकारले ती योजनामा बजेट विनियोजन नगरेपछि निर्माणाधीन योजना अधुरै रहेका हुन् । देवरिया, बेहडाबाबा र चौमाला सडकको काम रोकिएको छ । यिनमा २० प्रतिशत मात्र काम हुन बाँकी छ ।

तत्कालीन क्षेत्र ६ का सांसद पुष्करनाथ ओझाको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको ३ करोडको बजेटमा निर्माण सुरु भएको सडक योजनामा अहिले बजेट नपरेको हो ।


जिल्ला सडक डिभिजन कार्यालयका इन्जिनियर महेन्द्र पन्तले संघबाट प्रदेश सरकारअन्तर्गत योजना आएकाले केन्द्रीय बजेट नपरेको बताए । ‘प्रदेश सरकारले पनि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छैन,’ उनले भने, ‘उक्त सडक योजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’


यस्तै तत्कालीन निर्वाचन क्षेत्र ३ का सांसद रामजनम चौधरीको निर्वाचन क्षेत्रमा हसुलियादेखि मसुरिया जोड्ने सडक निर्माणको काम अधुरै छ । थेगम कन्स्ट्रक्सनले ३ करोडमा निर्माणको ठेक्का लिएको उक्त सडकमा ५० प्रतिशत मात्रै काम भएको छ । प्रदेश सरकार अन्तर्गत योजना परेकाले केन्द्रीय बजेट परेको छैन । त्यसैले निर्माण रोकिएको इन्जिनियर पन्तले बताए ।


‘काम सम्पन्न नभएर सांसद कोषको रकम फिर्ता भयो,’ इन्जिनियर पन्तले भने, ‘प्रदेश सरकारबाट ती सडक योजनामा रकम विनियोजन नभएपछि काम अघि बढ्न सकेन ।’ तत्कालीन निर्वाचन क्षेत्र सडक योजनाको काम पूरा गर्ने जिम्मा प्रदेश सरकारको हो । प्रदेश सरकारले आफू मातहत आएका योजनालाई क्रमागतमा राखेर बजेट विनियोजन गरी काम पूरा गर्नुपर्ने उनले बताए ।


निर्वाचन क्षेत्र अन्तर्गतको झवै–बौनिया सडकको ९० प्रतिशत काम सकिएको छ । यहा भएको लगानी समेत खेर जाने अवस्था रहेको इन्जिनियर पन्तले जानकारी दिए । ‘९० प्रतिशत काम पूरा भएका योजनालाई सम्पन्न गर्न थोरै बजेटको आवश्यकता थियो,’ उनले भने, ‘बजेट परेन, योजना अलपत्र जस्तै भएको छ ।’ आउने वर्षासम्म निर्माण भएको काम पनि बिग्रेर जाने उनको भनाइ छ ।


क्षेत्र नम्बर २ को चिसापानीदेखि कुइनेसम्मको दोस्रो चरणको अढाई किलोमिटर सडकमा पनि ३०/३५ प्रतिशत मात्रै प्रगति भएको छ । पहिलो चरणको काम भने त्यहाँ पूरा भएको छ । कैलालीका ६ वटा निर्वाचन क्षेत्र सडक योजनाको काम मध्येको क्षेत्र नम्बर ५ को मालाखेती सडक योजना मात्र पूरा भएको छ ।


राजनीतिक कारण निर्वाचन क्षेत्र सडक योजनामा बजेट नपरेको डिभिजन सडक कार्यालयका प्राविधिक बताउँछन् । ‘महत्त्वपूर्ण निर्वाचन क्षेत्र सडक योजनामा बजेट पार्नुपर्ने हो,’ ती प्राविधिकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अघिल्ला सांसद अर्काे पार्टीका भएकाले पनि त्यसको क्रेडिट आफूले नपाउने सोचेर बजेट नपरेको हो ।’ क्षेत्र नम्बर ४ को हसुलिया सडक योजनाको काम भने अहिलेका सांसद गौरीशंकर चौधरीले अघि बढाउने प्रतिबद्धता गरेको इन्जिनियर पन्तले जानकारी दिएका छन् ।

प्रकाशित : माघ १०, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?