१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

फेरिँदै थारू जनजीवन

भवानी भट्ट

कञ्चनपुर — ३८ वर्षीय रामप्रकाश चौधरी दशकदेखि घर निर्माणको काममा संलग्न छन । भीमदत्त नगरपालिका १८ सालघारीमा बस्ने चौधरीको परिवार उनकै कमाइले धानिएको छ । उनी लामो समय घर निर्माणमै मजदुरी गरेर डकर्मी बनेका हुन् ।

फेरिँदै थारू जनजीवन

चौधरीले भारतीय डकर्मी (मिस्त्री) सँगै मजदुरी थालेर काम सिके । त्यतिबेला पारि भारतका पिलिभित, बरेली, रुद्रपुर र विहारबाट समेत मिस्त्री काम गर्न यहाँ आउनेको घुइचो थियो । ‘मैले मजदुरी गर्दा नेपाली डकर्मी थोरै थिए,’ चौधरीले भने, ‘नेपाली डकर्मी बढ्दै गएपछि भारतीय कम हुँदै गए ।’


विगतमा डकर्मी र सिकर्मी कामका लागि भारतका विभिन्न ठाउँबाट आएकाहरू अहिले विस्थापित भइसकेका छन् । स्थानीयस्तरमै दक्ष कामदार उत्पादन भएपछि ठेकेदारहरूले रैथानेहरूलाई नै प्राथमिकता दिन थालेका छन् ।


भारतीयभन्दा नेपाली कामदार नै तालिम प्राप्त र बढी दक्ष छन् । अझै पनि सिकर्मी भने अधिकांश भारतीय नागरिक नै छन् । वेदकोट नगरपालिका ५ धरमपुरका ३५ वर्षीय किसन चौधरी पनि ५ वर्षदेखि घर बनाउने काममा संलग्न छन् । उनले पनि केही वर्ष भारतीय र केही वर्ष थारू समुदायकै मिस्त्रीसँग मजदुरी गरेर डकर्मीको काम सिकेका हुन् ।


मजदुरी गर्दागर्दै उनी घर चिनाइ गर्न थाले । ‘कमैया मुक्ति भएदेखि मजदुरी गर्न थालेको हुँ,’ उनले भने, ‘धेरै वर्ष मजदुरी गरेपछि बल्ल डकर्मीको काम सिकें ।’ केही वर्षयता पश्चिम तराईमा घर निर्माणदेखि विकास निर्माणका अधिकांश काममा थारू कामदारकै बाहुल्य देखिन थालेको छ । प्राविधिक होस् वा सामान्य मजदुरी । बजार तथा गाउँमा हुने घर निर्माणमा मिस्त्री र मजदुरी गर्ने दुवै थारू समुदायकै महिला र पुरुष हुन्छन् ।


कमैया मुक्तिपछि मजदुरीमा पसेका थारू समुदाय पछिल्लो समय ठेक्कापट्टामा समेत देखिन थालेका छन् । मजदुरीबाटै काम सिक्दै दैनिक ज्यालामा डकर्मी र विस्तारै ठेकदारीमा लाग्ने बढेका छन् । पछिल्लो समय स्थानीय तहले डकर्मीका लागि सञ्चालन गर्ने भवन संहितासम्बन्धी तालिममा पनि थारू युवाहरूकै बाहुल्य देखिन्छ । ‘थारू समुदायका अधिकांश डकर्मी तालिमप्राप्त छन्, नक्साअनुसार काम गर्न सक्छन्,’ किसनले भने, ‘युवाहरू पनि तालिम लिएर काममा आउन थालेका छन् ।’


महेन्द्रनगर बजार होस् वा जिल्लाका अन्य ग्रामीण भेगमा जहाँसुकै भइरहेका निर्माण कार्यमै थारू समुदायकै कामदार देखिन्छन् । एउटै घरमा ६/७ जना पुरुष र महिला काम गर्छन् । कतिपय ठाउँमा त महिला डकर्मीहरू पनि देखिन थालेका छन् । २०/२२ वर्षका युवाहरू भर्खरै तालिम लिएर घर निर्माणमा जुटेका देखिन्छन । ‘महिला पुरुष सबै सँगै काम गर्छौं,’ ५ वर्षदेखि मजदुरी गरिरहेकी वेदकोट नगरपालिका ६ मुसेपानीकी वसन्ती चौधरीले भनिन्, ‘अलिअलि

मिस्त्री काम पनि सिकेकी छु ।’


विभिन्न सडक तथा अन्य विकास निर्माणका काममा पनि थारू कामदार नै बढी देखिन्छन् । ग्याबिङ तार जाली बुन्ने काममा पनि यही समुदायका युवाहरू लागेका छन् । विगतमा तारजाली बुन्ने काममा पनि अधिकांश भारतीय नै हुन्थे । थारू समुदायका पुरुषहरू यसतर्फ लागेपछि अहिले भारतीय कामदार देखिँदैनन् ।


तराईमा मात्रै होइन, सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि अहिले थारू कामदार प्रशस्त मात्रामा देखिन्छन् । विगतमा पहाड चढन अप्ठेरो मान्ने उनीहरू अहिले कामकै खोजीमा हिमाली क्षेत्रमा समेत पुग्ने गरेका छन् । कतिपय खेतीपातीको काम सकेर कामकै खोजीमा भारतको सिमला, देहरादुन, नैनीताल र पिथौरागढ लगायतका क्षेत्रमा पटके रोजगारीका लागि जाने गर्छन् ।

प्रकाशित : माघ १०, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?