कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वर्षाले इँटा उद्योगमा क्षति

भवानी भट्ट

कञ्चनपुर — वर्षाले कञ्चनपुरका इँटा उद्योगमा ठूलो क्षति पुगेको छ । दुई दिनको वर्षाले ५ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । सोमबारको वर्षाले सामान्य क्षति भए पनि बुधबार असिनासँगै परेको पानीले ठूलो नोक्सानी गरेको छ ।

वर्षाले इँटा उद्योगमा क्षति

काँचो इँटाहरू ठूलो मात्रामा नोक्सान भएका छन् । एउटै उद्योगमा १०/१५ लाख काँचो इँटा नोक्सान भएको छ ।

‘कञ्चनपुरमा करिब ५ करोड बढीका काँचा इँटा नष्ट भएका छन्,’ नेपाल इँटा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष शंकरबहादुर चन्दले भने, ‘एउटै उद्योगमा २०/२५ लाख मूल्य बराबरका काँचो इँटा वर्षाले नष्ट गर्‍यो ।’ उनका अनुसार प्रति काँचो इँटाको लागत मूल्य अढाई रुपैयाँ पर्छ ।


कञ्चनपुरमा ३ दर्जन इँटा उद्योग सञ्चालनमा छन् । कतिपय उद्योगमा आगो सल्काउन ठिक्क पारेको अवस्थामा वर्षा हँुदा भट्टा नै बसेर ठूलो नोक्सानी भएको छ । ‘पानी भित्र पसेर काँचा इँटाहरू सबै नष्ट भए, भट्टा पनि बिग्रिएको छ,’ इँटा व्यवसायी आशिफ कुँवरले भने, ‘पहिलो पटकको वर्षाले सामान्य नोक्सान भएको थियो, दोस्रो पटक असिनासँगैको पानीले ठूलै नोक्सान गर्‍यो ।’


भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका क्षेत्रमा रहेका उद्योगहरूमा बढी नोक्सानी भएको छ । उद्योगहरूमा ठूलो मात्रामा काँचो इँटा तयार गरेर सुकाउन राखिएको थियो । तयार गरिएको काँचो इँटा सुकाउन कम्तीमा एक साता घाममा राख्नुपर्ने हुन्छ ।


‘जिल्लाको दक्षिणी क्षेत्रमा रहेको इँटा उद्योगहरूमा पनि धेरै क्षति पुगेको छ,’ महाकाली इँटा तथा टायल उद्योग व्यवसायी संघका उपाध्यक्ष सौभाग्य थापाले भने, ‘काँचो र पकाउन राखिएको इँटाहरू ठूलो मात्रामा नष्ट भएका छन् ।’ उनले फेरि पनि वर्षा भए नोक्सानी अझै बढ्न सक्ने बताए ।


कञ्चनपुरमा कामदारबाटै काँचो इँटा निर्माण गरिन्छ । निर्माणपछि एक हप्ता घाममै सुकाउन राखिन्छ । काँचो इँटा निर्माणका लागि मेसिनको प्रयोग नभएसम्म बर्सेनि हिउँदे वर्षाले नोक्सान गर्ने समस्या रहिरहन्छ । तर मेसिन प्रयोगका लागि पनि ठूलो बजार आवश्यक हुन्छ । एक पटकमा ठूलो संख्यामा काँचो इँटा तयार हुने भएकाले ठूलो उद्योगले मात्रै त्यसको प्रयोग गर्न सक्ने व्यवसायीहरू बताउँछन् ।


‘सानो उद्योगमा मेसिनको प्रयोग गर्दा लागत खर्च पनि उठ्दैन,’ नेपाल इँटा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष चन्दले भने, ‘अब सरकारले नै काँचो इँटाको पनि बिमा गर्नेतर्फ पहल गरिदिनुपर्छ ।’ उनका अनुसार इँटा उद्योगमा आगलागी र श्रमिकको बिमाको व्यवस्था नोक्सान हुने वस्तुमा सरकारले चासो दिएको छैन ।


महासंघले पनि काँचो इँटाको बिमा र श्रमिकको व्यक्तिगत भन्दा पनि संख्यात्मक हिसाबले बिमा गर्न माग गर्दै आएको छ । तर सरकारले यसतर्फ खासै चासो दिएको छैन । इँटा उद्योगलाई कुनै पनि सहुलियत प्राप्त नभएको व्यवसायीहरू बताउँछन् ।


कञ्चनपुरमा व्यवसायीहरूले गत वर्ष प्रतिइँटा १० रुपैंया मूल्य तोकेका थिए । यस वर्ष हालसम्म प्रतिइँटा ११ तोकिएको छ । हिउँदे वर्षाले नोक्सानी गरेपछि इँटाको मूल्य थप बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित : माघ ११, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?