कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कता हराए रिक्सा ?

पहिले धनगढी बजारमा ३३ सय रिक्सा दर्ता 
मोहन बुढाऐर

धनगढी — एकताका धनगढीलाई ‘आगुन्तक’ हरू रिक्साको सहर भन्थे । धनगढीको करिब ५ किमि लामो एक लाइन बजारमा २ हजार बढी रिक्सा चल्थे । चौराहादेखि क्याम्पस रोडसम्म ओहोरदोहोर गर्ने रिक्साकै कारण ट्राफिक जाम हुन्थ्यो ।

कता हराए रिक्सा ?

रिक्साको भीडभाडमा बजारमा दुर्घटना पनि नबढेका होइनन् । बजारको आउजाउमा निर्विकल्प रिक्सा निम्न वर्गीय परिवारको आयआर्जनको माध्यम पनि बनेको थियो ।

घरको खेतपातीको काम सकेर नजिकको सहर धनगढी मजदुरी खोज्न आउने अधिकांशले बजारमा रिक्सा चलाउँथे ।


‘राम्रो कमाइ पनि हुन्थ्यो,’ गदरियाका दुखीराम चौधरीले भने, ‘रिक्सा विस्थापित भएपछि अस्थायी रोजगारी पाउन मुस्किल भएको छ ।’ उनी पहिला धान भित्र्याएर गहुँबाली लगाइसकेपछि कामका लागि धनगढी डेरा लिएर बस्न आउथे । बजारमा अरू काम केही नपाउने चौधरी भाडामा रिक्सा लिएर चलाउँथे । उनको दिन मजदुरी राम्रै हुन्थ्यो । भन्छन्, त्यसबेला दैनिक

४/ ५ सय आम्दानी गरिन्थ्यो ।’


दुई वर्ष जति भयो, उनले धनगढीमा रिक्सा चलाउन छाडेको । ‘रिक्सा चढ्ने यात्रु पनि हुँदैनन्,’ उनले भने, ‘रिक्सा भाडामा पनि पाउन छोड्यो ।’ उनका अनुसार रिक्सा साहूहरूले रिक्सा हटाइसकेको अवस्था छ । ‘कसैकसैसँग २/४ वटा रिक्सा छन्,’ उनले भने, ‘अहिले बजारमा फाट्टफुट्ट तिनै रिक्सा देखिने गरेका हुन् ।’


उनी आफू रिक्सा चलाउन नपाएर दैनिक ज्यालादारीमा काम गर्नुपरेको बताउँछन् । उहिले धनगढी उपनगरपालिकामा करिब ३३ सय बढी रिक्सा दर्ता भएको रेकर्ड छ । एकैजनाको ३ सयसम्म रिक्सा थिए । उनीहरूको मजबुत रिक्सा युनियन नै थियो । निकै शक्तिशाली युनियनले धनगढीको मुख्य बजार कब्जा गरेर बसेको थियो । सुदूरपश्चिम बस व्यवसायी समितिले सञ्चालनमा ल्याउन खोजेको नगर बसलाई रिक्सा युनियनले चल्न दिएको थिएन ।


अहिले धनगढी बजारबाट रिक्साको एकछत्र राज हराएको छ । पछिल्लो समय ब्याट्री र पेट्रोलबाट चल्ने तीनपांग्रे अटोका कारण रिक्सा विस्थापित भएका छन् । रिक्साबाट अटोमा उक्लन सक्नेहरूले रोजगारी पाएकै छन् । रिक्सामै रहेकालाई भने गुजारा चलाउन मुस्किल भएको छ । अटोसँग रिक्साले प्रतिस्पर्धा गर्न सकेन । रिक्साको सिन्डिकेट पक्षमा पनि सडक कब्जा हुन सकेन । विस्तारै रिक्सा हराउ‘दै गए । रिक्सा युनियनका अध्यक्ष रामशंकर पाठकले रिक्सा विस्थापित हु‘दा कामको खोजीमा बजार आउने मजदुरले काम नपाएको बताए ।


रिक्सा चालक र मर्मत सेन्टरमा काम पाउने मजदुरलगायत गरी प्रत्यक्ष/अप्रत्यक्ष १० हजार बढीले रोजगारी पाएका थिए भन्छन्, युनियनका अध्यक्ष पाठक । अर्काेतिर रिक्सामा भएको लगानी पनि डुबेको उनी बताउँछन् । अध्यक्ष पाठक स्वयंसँग ४०/५० वटा रिक्सा थिए । १० हजारका दरले रिक्सा किनेका उनले बेच्दा ५ सयमा कवाडीलाई दिएको बताए ।


‘रिक्साले कैयौं मजदुरको आर्थिक स्थितिमा निकै सुधार आएको थियो,’ उनले भने, ‘भाडाको रिक्सा चलाएका मजदुर पनि दर्जन बढी रिक्साका साहू भएका थिए ।’ रिक्साको आम्दानीबाट कैयौं मजदुर मध्यमवर्गीयस्तरका हुन पुगे । बस्नलाई बास नभएका मजदुरले रिक्साबाटै घरसम्पत्ति जोडेको उनले बताए ।


तर अहिले रिक्सा व्यवसायी केही किराना पसल थापेर जीविकोपार्जन गरिरहेका छन् । कोही ठेलागाडीमा व्यापार गर्छन् । कोही भने ट्रान्सपोर्टमा रिक्साबाट सामान ढुवानी गरेर जीवन चलाउन बाध्य छन् । कसैकसैले रिक्सा बेचेर अटो चलाएका छन् । ‘उतिबेला एक दिनको १ हजारदेखि १५ सय रुपैयाँसम्म कमाउने मजदुरले मुस्किलले अहिले ५ सय कमाउन पनि सकेका छैनन्,’ पाठकले भने ।


रिक्साको विस्थापनले भगतलाल बडीशर्माले ठेलाबाट गुजारा चलाउनुपरेको छ । उनी कुनै बेला रिक्सावालाका जिमदार नै थिए । उनीसँग १ सय २० वटा रिक्सा थिए । उनी ती रिक्साबाट दैनिक ५० हजार रुपैयाँ भाडा उठाउँथे । रिक्साकै कमाइले उनले भन्सार रोडमा घर पनि बनाएका छन् । अहिले ठेलामा पसल थापेर जीवन धान्न बाध्य छन् । जनकपुर पुर्खाैली घर भएका बडीशर्माको तीन परिवार ट्रान्सपोर्टमा काम गर्ने सिलसिलामा दुई दशकअघि धनगढी आएका थिए ।


त्यसबेला उनीलगायत १५/१६ जनाले रिक्सा चलाउँथे । विस्तारै रिक्सा चलाउने बढ्दै गए । उनी एउटा रिक्साको आम्दानीबाट १ सय २० वटा रिक्सा खरिद गरेको बताउँछन् । अटोसँगको प्रतिस्पर्धामा रिक्सा विस्थापित भएपछि आर्थिक स्थिति खस्केको उनले बताए । उनलाई घर खर्च चलाउन पनि गाह्रो छ । ‘ठेलामा परिवारले पाउरोटी र अण्डा बेच्ने गर्छन्,’ उनले भने ।


धनगढी ३ का आइतबारी चौधरीले अहिले पनि आफूले रिक्सा चलाउने गरेको बताए । तर उनले बजारमा नभएर ट्रान्सपोर्टमा सामान बोक्न रिक्सा चलाउने गरेको बताए ।


‘बजारमा धूवाँको प्रदूषण र दुर्घटनालाई कम गर्न रिक्सा उपयुक्त सवारीसाधन हो,’ पाठकले भने, ‘यसबाट मजदुरको आयआर्जन पनि हुन्छ ।’ त्यसैले रिक्सालाई विस्थापित हैन, स्थापित गर्न पहल गर्नुपर्ने उनको धारणा छ ।

प्रकाशित : माघ १२, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?