बझाङका डीएसपीले जुवा खेलाउन निर्देशन दिएको अडियो सार्वजनिक 

बझाङ — जुवा खेलाउन निर्देशन दिएको अडियो सार्वजनिक भएपछि बझाङका प्रहरी प्रमुख प्रविण धिताल विवादमा तानिएका छन् । सरुवा भएर बझाङ आएको केही हप्ता मै ८ जना जुवाडे पक्राउ गरेर चर्चामा आएका उनी सामाजिक सञ्जालमा अडियो सार्वजनिक भएपछि जुवा कै कारण विवादमा परेका हुन् । 

बझाङका डीएसपीले जुवा खेलाउन निर्देशन दिएको अडियो सार्वजनिक 

सादा पोसाकमा घुमुवाको काम गर्ने प्रहरी हवल्दार नरबहादुर खड्कालाई डीएसपी धितालले जुवा खेलाउन निर्देशन दिएको टेलिफोन संवाद सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।


घुमुवा प्रहरी हवल्दार खड्का र डीएसपी धितालबिच भएको कुराकानीका खड्काले डिएसपी धिताललाई ‘शिवराज भन्ने व्यक्तिको घरमा जुवा खेल्छौँ भन्दै छन् । के गरौ सर ?’ भन्ने आसयको प्रश्न गरेका छन । धितालले सुरक्षित स्थानमा खेलाउनु भन्ने खालको निर्देशन दिएका छन् । उत्तरमा खड्काले ‘घर एकान्त मै छ । त्यसको लागि म छु भनेको सुनिन्छ ।’


दुईवटा अलग अलग संवाद जोडेर तयार गरे जस्तो सुनिने अडियोमा अर्को पटक जुवा खेलाउनका लागि खड्काले अनुमति मागेका छन् । डीएसपीले बजारबाट बाहिर लगेर मात्र खेलाउन र आफू सुरक्षित बस्न भनेका छन् । फेरी खड्काले इन्सपेक्टरले सईको कमाण्डमा जुवाडे पक्राउ गर्न प्रहरी परिचालन गर्न लागेको जानकारी आफूलाई आएको डीएसपीलाई बताएपछि डीएसपीले बजार बाहिर कतै सुरक्षित स्थानमा लगेर जुवा खेलाउन खड्का लाई निर्देशन दिएका छन् । करिब तीन मिनेट लामो यो अडियोमा यस अघि भएका जुवाको खेलमा भएको कमिसनको विषयमा हवल्दार खड्का र डीएसपीबीच कुराकानीको समेत रेर्कड गरिएको छ ।


यो अडियो सार्वजनिक भए पछि विद्यार्थी र पत्रकारका संगठनहरुले विज्ञप्ती नै जारी गरेर डीएसपीको विरोध गरेका छन् । अनेरास्वियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै डीएसपीले जुवा खेलाउन निर्देशन दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भैरहदा पनि यसको विषयमा प्रहरी मौन रहनु आश्र्चयजनक भनिएको छ ।



गत भदौमा नेपालगन्जबाट सरुवा भएर बझाङ आएका डिएसपी धितालले आएको केही दिनभित्रै नगद सहित जुवाडे पक्राउ गरेका थिए । भदौ ३० गतेका दिन सदरमुकाम चैनपुरको माउन्टेन भ्यू होटेलमा जुवा खेल्दै गरेको अवस्थामा ८ जना जुवाडे सहित होटल मालिकलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट ४ लाख २५ हजार नगद समेत बरामद गरिएको थियो । त्यसपछि पनि पटक पटक गरेर बझाङ प्रहरीले १२ जना अरु जुवाडे पक्राउ गरी कारबाही गरेको थियो ।


सदरमुकाम चैनपुृरमा प्रहरीकै संरक्षणमा ठुलो रकमको जुवा खेल हुने गरेको कुरा पटक पटक सार्वजनिक भैरहेका वेला जवाडे पक्राउ परेका थिए । जुवा तासका कारण नै प्रहरी बदनाम हुन थालेको अवस्थामा डिएसपी धितालले उठाएको यो कदमको प्रसंसा भएको थियो ।


यता डीएसपी धितालले भने त्यति बेला जुवाडे पक्राउ गर्नका लागि प्रहरीले नियोजित रुपमा अपरेसन सञ्चालन गरेको र त्यही अपरेसनका क्रममा भएको कुराकानीको अडियो सार्वजनिक गरी जिल्लाका केही सञ्चारकर्मीहरुले आफ्नो बेइज्जत गर्न खोजेको बताएका छन ।


उनले आफू आएको केही दिनमै जुवाडे विरुद्धको अपरेसन सञ्चालन गरेपछि जिल्लामा जुवा पूर्णरुपमा बन्द भएको दाबी गर्दै केही पत्रकारले पुरानो रेर्कड प्रयोग गरेर आफूसँग बार्गेनिङ गरेको आरोप लगाए । उनले भने, ‘तीन महिना पहिला अपरेसनको बेला भएको कुराकानीको रेर्कड एकजना पत्रकार कहाँ पुगेको रहेछ । त्यसैको आधारमा मलाई ब्ल्याकमेल गर्न खोजेको थियो । मैले जे गर्छाै गर भनेपछि फेसबुकमा हालिदिएछ । यसमा कुनै सत्यता छैन’ उनले यस विषयमा आफूले दुई/तीन महिना अगावै आफ्नो उपल्ला निकायमा जानकारी गराइसकेको बताए ।

प्रकाशित : माघ १४, २०७५ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?