कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बझाङमा रातारात भैंसी तस्करी

बझाङ — दुधालु भैंसीको तस्करी बढेपछि स्थानीय जातका भैंसी लोप हुने खतरा बढेको छ । स्थानीय प्रशासनको आँखा छलेर रातारात तस्करी भइरहेको छ । पशु स्वास्थ्य ऐन २०५५ र नियमावली २०५६ मा पशु स्वास्थ्य चिकित्सकले ‘बाँझो भएको’ प्रमाणित गरेपछि मात्र मासुका लागि भैंसी मार्न पाउने व्यवस्था छ । बझाङमा भने यो नियमको बेवास्ता गर्दै जिल्ला बाहिर भैंसी निकासी बढेको छ ।

बझाङमा रातारात भैंसी तस्करी


तस्करहरूले पाल्नका लागि भन्दै भैंसी खरिद गर्छन् । तर जिल्ला बाहिर लगेर मासुका लागि काट्ने गरेका छन् । ‘पाल्नका लागि भनेर भैंसी किन्न आए । घरमा भंैसी स्याहार्ने मानिस नभएकाले बिक्री गरिदिएँ,’ बुङ्गल नगरपालिकाको कफलेरीका धनबहादुर बोहराले भने ‘पछि बुझ्दा त काट्नका लागि लगेका रहेछन् ।’ पहाडबाट भैंसी संकलन गरेर मासुका लागि तराईका जिल्ला पुर्‍याउने कञ्चनपुरका देवराज रानाले झुक्याएको उनले बताए । जेठ महिनामा ब्याउने भैंसी बोहराले १५ हजारमा बिक्री गरेका थिए ।

कञ्चनपुर राना, कैलालीका खगेन्द्र मगर लगायतका केही व्यक्तिहरू ५/६ वर्षदेखि पहाडी जिल्लाबाट भैंसी खरिद गरी कैलाली, कञ्चनपुर र भारतसम्म पुर्‍याउँछन् । पाल्ने भन्दै झुक्याएर दुहुना र ब्याउने भैंसीसमेत मासुका लागि बिक्री गर्ने गरेको


उनीहरू स्वयम् बताउँछन् ।

‘काट्ने भनेपछि त बेच्नै मान्दैनन्,’ व्यापारी मगरले झुक्याएर भैंसी किन्ने गरेको बताउँदै भने, ‘यतै काट्ने हैन कहाँ काटिन्छ यहाँका मान्छेलाई के थाहा हुन्छ ? त्यही भएर पाल्नका लागि लग्ने भन्छौं ।’ बझाङमा दूध दिने जनावरलाई आमा सरह पूजा गर्ने प्रचलन भएका कारण मासुका लागि हो भनेर किन्न खोज्दा किसानहरूले गाली गर्ने उनले बताए । पशु चिकित्सकले परीक्षण नगरी भैंसी निकासी गर्न नमिल्ने भए पनि स्थानीय तह र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीहरूले नै मिलेमतो गरेर प्रत्येक महिना १ सयभन्दा बढी भैंसी जिल्ला बाहिर पठाउने गरेको पाइएको छ । ‘भैंसीहरू मासुको प्रयोजनका लागि योग्य छन् भनेर नगरपालिका र भेटेनरीका सुब्बा, खरिदारहरूले पत्र नै लेखेर दिन्छन्,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धितालले भने, ‘हामीले जति प्रयास गर्दा पनि रोक्न सकिरहेका छैनौं ।’


उनले भंैसी तस्करी गर्नका लागि भेटेनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रका कर्मचारीहरूले नै मिलेमतो गर्ने गरेको, मिति र भैंसीको संख्या उल्लेख नगरिएका र जतिबेला पनि प्रयोग गर्न सकिने खालको कार्यालयका छाप दस्तखत भएका लेटरप्याडहरू भैंसी तस्करहरूले प्रयोग गर्ने गरेको बताए । उनले भने, ‘लेटर प्याड नै किनेर राखेका हँुदा रैछन् । जति बेला जस्तो चाहियो त्यस्तै भर्ने गरेका रहेछन् ।’ यसरी किसानलाई झुक्याएर धमाधम दुधालु भैंसीहरू काट्नका लागि तराई र भारततिर तस्करी हुन थालेपछि पहाडी जिल्लामा रैथाने भैंसीको जात नै लोप हुने खतरामा रहेको जानकारहरू बताउँछन् । तीन वर्षअघि ३६ हजारको हाराहारीमा रहेका भैंसीको संख्या अहिले घटेर १७ हजार पुगेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ ।


भैंसी पाल्ने मानिसहरूको संख्या घट्न थालेपछि जिल्लाबाट स्थानीय जातका भैंसीहरू लोप हुने अवस्थामा पुगेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पशुपति नाथले बताए । चरन क्षेत्रको अभाव, युवाहरूको पशुपालनप्रति घट्दो आकर्षण र अधिकांश गाउँका पुरुषहरू भारततिर जाने चलन बढे सँगै ब्याउने र दुहुना भंैसीसमेत सस्तोमा मासुका लागि बिक्री गर्ने क्रम बढेको उनले बताए । जिल्लामा चिकित्सक उपलब्ध नहुने भएकाले पहिलेदेखि नै पशु प्राविधिकले सिफारिस दिने गरेको बताउँदै उनले भने, ‘दुर्गम जिल्लामा चिकित्सक बस्दैनन् । कानुनले नमिले पनि व्यावहारिक रूपमा पशु प्राविधिकले निकासीका लागि सिफारिस दिने गरेका हौं ।’ उनले जिल्ला प्रहरी प्रमुख (डिएसपी) ले भने जस्तै लेटरप्याडहरू बिक्री हुने कुराको भने खण्डन गरे ।


प्रकाशित : माघ १६, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?