हडतालका कार्यक्रम फिर्ता लिने सहमति

भवानी भट्ट

कञ्चनपुर — तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिनमा निर्माण भएका अवैध संरचना भत्काउन माग गर्दै यहाँका युवा र विद्यार्थी सङ्गठनले आह्वान गरेको आम हडतालको कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

बुधवार साँझ अबेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा तीन बुँदे सहमति पश्चात् आम हडतालको कार्यक्रम फिर्ता लिने सहमति भएको हो ।


जिल्ला प्रशासनमा आयोजना गरिएको सर्वपक्षीय छलफलमा माघ मसान्तभित्र अवैध संरचना भत्काउन सहरी विकास मन्त्रालयमार्फत नेपाल सरकारलाई आग्रह गर्ने, मन्त्रालयबाट आएको छानबिन टोलीलाई सघाउ पुर्‍याउने र अवैध लिज र भौतिक संरचना निर्माणमा संलग्नलाई कारबाहीका लागि माग गर्ने तथा युवा विद्यार्थीले मङ्गलवारदेखि आह्वान गरेको आम हडतालको कार्यक्रम फिर्ता लिने सहमति भएको हो ।


यसै गरी वास्तविक खोका छाप्रावालालाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयसँग आग्रह गर्ने निर्णय भएको छ ।


आन्दोलनरत युवा र विद्यार्थी सङ्गठनले अवैध संरचना भत्काउन माग गर्दै मङ्गलवारदेखि कञ्चनपुर बन्द आहत गरेका थिए । दुई दिनदेखि लगातारको बन्दका कारण यहाँको जनजीवन प्रभावित हुन पुगेको छ । यातायात, शिक्षण संस्था र बजार बन्द हुन पुगेको छ ।

प्रकाशित : माघ १६, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?