आँखा रोगी जाँच्दै गाउँपालिका प्रमुख

डीआर पन्त

डडेलधुरा — एक दशकदेखि आँखा दुख्ने र नजिकको नदेख्ने समस्याबाट पीडित नवदुर्गा गाउँपालिका–४ की ६५ वर्षीया बेलमती बिष्टले हालै आँखाको नि:शुल्क उपचार पाइन् । गाउँपालिकाले आयोजना गरेको नि:शुल्क शिविरमा उपचार पाएपछि उनी दंग परेकी छन् ।

आँखा रोगी जाँच्दै गाउँपालिका प्रमुख

सोही गाउँकी ८७ वर्षीया लक्षी दमाईले पनि गाउँमै लागेको शिविरमा उपचार गराइन् । उनको आँखाको ज्योति गुम्नबाट जोगियो । नवदुर्गा गाउँपालिकाले ५ वटै वडामा आँखा जाँच गरी नि:शुल्क उपचार गर्दै आएको छ । सामान्य उपचार गाउँकै क्याम्पमा हुने गरेको छ भने मोतीबिन्दुलगायत अन्य गम्भीर आँखाका बिरामीलाई धनगढीस्थित नेत्रालयमा पठाइन्छ । ‘यस क्षेत्रमा आँखासम्बन्धी रोगका बिरामी धेरै रहेको जानकारीमा थियो,’ स्वास्थ्य अधिकृतबाट राजीनामा गरेर गाउँपालिका अध्यक्ष बनेका कविन्द्र बिष्टले भने, ‘हरेक वडा र गाउँ गाउँमा नि:शुल्क शिविर आयोजना गरेर आँखा रोगीको पहिचान र नि:शुल्क उपचार गराइरहेका छौं ।’ अनुमान गरिएभन्दा बढी आँखा रोगी देखिएको पनि उनले बताए ।


गत वर्ष गाउँपालिकाको वडा–४ मा मात्र एक हजार बढी आँखा रोगीको नि:शुल्क उपचार भएको थियो । आँखामा हुने रोगका विषयमा संवेदनशील नहुने, समय समयमा जाँच नगराउने, शरीरका अन्य भागभन्दा आँखाको हेरचाह कम गर्ने प्रवृत्तिका कारण आँखा रोगी बढ्दै गएको गाउँपालिकाले आयोजना गरेको शिविरमा सहभागी स्वास्थ्यकर्मीहरूले बताएका छन् ।


यो वर्ष गाउँपालिकाले हालसम्म १ हजार ३ सय बढीको आँखा परीक्षण गरिसकेको छ । अध्यक्ष बिष्टले भने, ‘१ हजार ३ सयमध्ये २ सय ३९ रोगीलाई उपचारका लागि धनगढी पठाउनुपर्ने देखिएको छ ।’ गाउँपालिकाले सामान्य चस्माले ठीक हुनसक्ने बिरामीमध्ये यस वर्ष मात्र ४ सय बढीलाई चस्मा वितरण गरेको जनाएको छ ।


‘आँखामा हुने समस्याको बेवास्ता गर्ने, जडिबुटीमा बढी भर पर्ने र समयमा चेकजाँच नगर्ने भएका कारण आँखा रोगीको संख्या बढ्न थालेको हो,’ गेटा आँखा अस्पतालका विशेषज्ञ सुरेशराज पन्तले भने ‘आँखामा हुने रोगमा

हेलचेक्र्याइँले कुनै पनि समय आँखाको ज्योति गुम्नसक्ने खतरा बढी देखिन्छ ।’


आँखा सबैभन्दा संवेदनशील अंग भएका कारण सामान्य समस्यालाई पनि वेवास्ता नगर्न आँखारोग विशेषज्ञ पन्तले आग्रह गरे । उनले भने, ‘सामान्य समस्या भए पनि स्वास्थ्य संस्थामा जाँच गरिहाल्ने बानीको विकास नहुँदासम्म आँखा रोगीको संख्यामा वृद्धि भइरहने देखिन्छ ।’ डडेलधुरामा मात्र नभई पछिल्लो समय प्रदेशमा आँखा रोगीको संख्या बढेको देखिएको विभिन्न आँखा अस्पतालहरूको तथ्यांकले प्रस्टिन्छ ।


प्रदेशका हरेक जिल्लामा हरेक वर्ष आधा दर्जनभन्दा बढी आँखा शिविर सञ्चालन हुने गरेका छन् । आँखा अस्पतालले मात्र नभई विभिन्न गैरसरकारी क्षेत्रका संघसंस्थाले पनि प्रदेशका हरेक जिल्लामा आँखा शिविर सञ्चालन गर्ने गरेका छन् । नि:शुल्क र स:शुल्क हुने यस्ता शिविरमा पनि ठूलो संख्यामा हरेक वर्ष आँखा रोगीहरूको उपचार हुने गरेको छ । यति धेरै शिविर र अस्पतालमा नियमित उपचार भइरहेको भए पनि आँखा रोगीको संख्या बढेको बढ्यै छ ।


गाउँपालिका अध्यक्ष बिष्टले भने, ‘आँखा रोगी मात्र नभई वृद्धवृद्धा र महिलालाई लाग्ने दीर्घकालीन रोगका बिरामी पहिचान र उपचारका लागि पनि गाउँपालिकाले कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ सर्वसाधारणले आर्थिक कारणले उपचार गर्न नसक्ने खाले रोगका बिरामीलाई यो कार्यक्रमले सहयोग पुग्ने उनले बताए ।


डडेल्धुरामा मात्र नभई सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा आँखा रोगीको संख्या बढे पनि उपचार नगर्दा बल्झिँदै जाने भएकाले समयमै उपचार गराउन चिकित्सकले सल्लाह दिएका छन् ।

प्रकाशित : माघ २३, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?