२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

रैथाने बीउ खोज्दै कृषक

डीआर पन्त

डडेलधुरा — बजारको सहज उपलब्धता, परिश्रम अनुरूपको मूल्य र राम्रो आय हुन थालेपछि पहाडी जिल्लाका अगुवा कृषक लोप हुन थालेका रैथाने जातका बीउ बिजन खोज्न थालेका छन् । 

चैतसम्म खान सकिने रैथाने जातको गाने मूला बजारमा भेटिंदैन । एउटा घरमा पाकेपछि टोलभरि नै वासना आउने पहाडी काउली बजार नआएको डेढ दशक भइसकेको छ । परम्परागत जातका कागती र सुन्तला पनि हराइसके । रैथाने जातको अदुवा र लसुन पनि पछिल्लो समय बजारमा पातलिएको छ ।


अमरगढी–१ का कृषक रामबहादुर ऐरले पछिल्लो समय ग्रामीण क्षेत्रमा परम्परागत बीउ बिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएको बताए ।


पहाडमा उत्पादित वस्तुको उसै पनि राम्रो बजार रहेको बताउँदै ऐरले भने, ‘पहाडकै रैथाने जातको उत्पादनले झन् राम्रो मूल्य पाउन थालेपछि हाइब्रिड र उन्नत जातका बीउ बिजन प्रयोग गरी व्यावसायिक खेती गर्ने कृषकहरू पनि रैथाने जातका बीउ बिजन खोज्न थालेका छन् ।’


तराईमा उत्पादन हुने र पछिल्लो समय बंगलादेशबाट आयात गरिएको मासभन्दा पहाडी क्षेत्रमा उत्पादन भएको मासले दोब्बर मूल्य पाउने गरेको छ । डडेलधुरा अजयमेरु–५ का अगुवा कृषक तेजबहादुर खड्काले भने, ‘मास मात्र होइन, रैथाने जातको भटमास, गहत, राजमा, बोडी र सिमी लगायतका वस्तुको माग पनि त्यत्तिकै बढ्न थालेपछि कृषकहरू उत्पादनमा लागेका हुन् ।’


डडेलधुरामा उत्पादन भएको राजमा, गहत र मास सिधैं राजधानी काठमाडौं पुग्न थालेको छ । ‘हाइब्रिड र सरकारले तोकेको उन्नत जातका बीउबाट धेरै उत्पादन हुने भए पनि बजारमा तीव्र प्रतिस्पर्धा, बिचौलियामार्फत बिक्री वितरण गर्नुपर्ने बाध्यता र उचित मूल्य पनि पाउन मुस्किल हुन थालेपछि कृषकहरू यसतर्फ आकर्षित भएका हुन्,’ उनले भने ।


सीमावर्ती क्षेत्रमा नेपाली बजारलाई लक्षित गरी भारतीय कृषकहरूले उत्पादन गरेको हाइब्रिड जातका उत्पादनसँग पहाडी क्षेत्रका कृषकहरूले प्रतिस्पर्धा गर्न निकै कठिन हुन थालेको कृषकहरूको भनाइ छ । त्यो भन्दा परम्परागत जातका बीउ बिजनबाट उत्पादित वस्तुको सानो बजार भए पनि मुनाफा राम्रो हुने गरेकाले लोप हुन थालेका परम्परागत बीउ बिजन पुन: प्रयोग हुन थालेको छ ।


‘सीमा क्षेत्रका भारतीय गाउँमा भइरहेको उत्पादनसँग कैलाली कञ्चनपुरको उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन भने पहाडी क्षेत्रको कुरा टाढाको हो,’ डोटी घटालका कृषक धनीराम जोशीले भने, ‘परम्परागत बीउ बिजनको प्रयोगबाट हुने उत्पादनको बजार पहाडी जिल्लामा पनि प्रशस्त रहेको छ ।’


सरकारले पनि रैथाने बीउ बिजनको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर कृषि नीति तय गरेको कृषि ज्ञान केन्द्र डडेलधुराका वरिष्ठ कृषि प्राविधिक टेकबहादुर बिष्टले बताए । रैथाने जातका बीउ बिजनको प्रयोग जैविक विविधताको संरक्षणसँग समेत जोडिएको विषय भएको उनको भनाइ छ ।


‘२०६१ सालमा बनेको कृषि नीतिमा पनि रैथाने र परम्परागत जातका बीउ बिजन संरक्षण तथा व्यावहारिक प्रयोगमा ल्याउन सकिने खाले कार्यक्रम तय गर्ने उल्लेख गरिएको छ,’ उनले भने । पहाडी क्षेत्रमा अहिले पनि परम्परागत र रैथाने बीउ बिजनको प्रयोग भइरहेकाले यसको संरक्षणमा कठिनाइ नरहेको पनि बिष्टले बताए । सदरमुकाम आसपासका कृषकहरूले ठूलो मात्रामा व्यावसायिक खेती गरिरहेका कारण हाइब्रिड र उन्नत जात प्रयोग गरे पनि ग्रामीण क्षेत्रमा भने रैथाने बीउ नै प्रयोग गरिरहेका छन् ।


नेपालमा मात्र नभई संसारभरि पछिल्लो समय रैथाने जातका बीउको प्रयोग र संरक्षणका लागि प्रयास भइरहँदा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भने अहिले पनि यिनै बीउ प्रयोगबाट कृषि खेती भइरहेको छ । रैथाने बीउ बिजन संरक्षण गर्न डडेलधुरालगायत धेरै पहाडी जिल्लामा बीउ बैंकहरूसमेत स्थापना गरिएका छन् ।


वरिष्ठ कृषि प्राविधिक बिष्टले भने, ‘रैथाने बीउको अधिकतम प्रयोग र विषादी कम गरी परम्परागत मल प्रयोग गर्ने हो भने कृषकले राम्रो आम्दानी हुने गरी सहज रूपमा उत्पादन गर्न सक्छन् ।’

प्रकाशित : माघ २४, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?