२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

ज्यान जोखिममा राखेर बुढ्यौलीमा आमा

बझाङ — गत आइतबार खप्तड छान्ना गाउँपालिका ६, बडाकोटकी ४१ वर्षीया उजलीदेवी थापाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो । राति खाना खाएपछि उनलाई सुत्केरी व्यथाले च्यापेको थियो ।

ज्यान जोखिममा राखेर बुढ्यौलीमा आमा

एक घण्टा टाढाको पाटादेवल स्वास्थ्यचौकी लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भयो । उनले जन्म दिएकी छोरी भने स्वस्थ छिन् । नवजात शिशुको एक स्थानीय महिलाले स्याहार गरिरहेकी छन् ।


घर्किंदो उमेरमा ज्यानै जोखिममा राखेर गर्भवती हुनु उजलीको रहर थिएन । उनका दुई छोरा र एक छोरी छन् । जेठो छोराका नाति नै दुई वर्षका भए । उनका श्रीमान् मौसमी रोजगारीका लागि भारत जान्थे । एक/दुई वर्ष बिराएर श्रीमान् घर आउँथे । छोराबाट नातिसमेत भइसकेको अवस्थामा आफू गर्भवती भएको कुराले उजलीले निकै लज्जाबोध गरिरहेको र लाजकै कारण उनको ज्यान गएको स्थानीय बताउँछन् ।


‘बुढ्यौली उमेरमा बच्चा बस्यो, भनेर निकै तनावमा हुनुहुन्थ्यो,’ उजलीकी आफन्त दूधकला थापाले भनिन्, ‘लाजले गर्दा गर्भ जाँच गराउन पनि मान्नुभएन । स्वास्थ्यचौकीमा जान पनि मान्नुभएन । लाज मानेर ज्यान नै फाल्नुभयो ।’ लाजकै कारण लामो समयसम्म गर्भ रहेको कुरासमेत नभनेको र अरूले थाहा पाउँदासम्म गर्भपतन गराउने अवधि घर्किसकेको उनले बताइन् ।


गर्भावस्थामा पर्याप्त पोषणको अभाव र बुढ्यौलीका कारण उनको प्रसव असहज भएको र त्यसैका कारण ज्यान गएको जिल्ला अस्पतालका प्रमुख अनुप रेग्मीले बताए । उनले बच्चा सहज रूपमा जन्माए पनि सालको सानो टुक्रा पाठेघरमा अड्किएकाले रक्तस्राव भएको र त्यसैका कारण उनको ज्यान गएको बताए ।


जयपृथ्वी नगरपालिकाकी ३९ वर्षीया रामकला नेपालीको पनि दुई वर्षअघि मृत्यु भएको थियो । छोरा पाउने आशामा लगातार गर्भपतन गराएका कारण अत्यधिक रक्तस्राव भएर उनको ज्यान गएको थियो । रामकलाले सुरुमा जिल्ला अस्पताल बझाङमा नै आएर सुरक्षित गर्भपतन गराइन् । त्यसको केही महिनापछि उनको गर्भमा फेरि बच्चा बस्यो । भारतको पलिया गएर गर्भ परीक्षण गर्दा गर्भमा रहेको बच्चा छोरी रहिछन् ।


रामकला दम्पतीले धनगढीमा आएर सुरक्षित गर्भपतन गर्‍यो । दोस्रोपटक गर्भपतन गराएको एक महिनामा फेरि गर्भ रह्यो । जँचाउँदा फेरि पनि छोरी नै भएको बताएपछि उनले घरमै मेडिकलको औषधि खाएर गर्भपतन गराउन खोजिन् । त्यही नै उनको काल बन्यो । औषधि सेवन गरेर गर्भपतन गराउँदा अत्यधिक रगत बगेपछि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा उनको ज्यान गएको थियो ।


जयपृथ्वी नगरपालिकाकी चन्द्रकला ओलीको उमेर ४९ पुग्यो । हालसम्म उनले १२ सन्तान जन्माए पनि ५ वटा मात्र जीवित छन् । ९ वटा छोरी र ३ वटा छोरा जन्माएकी उनका २ छोरा र ३ छोरी मात्र जीवित छन् । चार वर्षअघि कान्छो छोरो जन्माउँदा उमेरले ४४ पुगेकी उनले प्रसवकालमा झन्डै ज्यान गुमाउन पुगेकी थिइन् ।


जिल्ला अस्पताल नजिक भएका कारण समयमै उपचार पाएर आफ्नो ज्यान बचेको सम्भँmदै उनले भनिन्, ‘रगतको खोलो देखेर बेहोस भइसकेकी थिएँ । कसरी बचाए थाहै भएन ।’ छोराको आशामा

बुढेसकालसम्म पनि सन्तान जन्माउन खोज्दा ज्यान जोखिममा परेको थाहा पाए पनि उनले भनिन्, ‘एकै छोराको क्या छोर्‍याइतो ? (एउटा मात्र छोरालाई के छोरा छ भन्नु ?)’


यस्तै जयपृथ्वी नगरपालिका ३ कै जुनकिरी खड्काले पनि ४५ वर्षको उमेरमा आठौं बच्चा जन्माइन् । ५ छोरा र ३ छोरीकी आमा उनलाई थप बच्चा जन्माउन रहर नलागेको भए पनि परिवार नियोजनको साधन प्रयोग गर्न लाज लागेकाले लगातार बच्चा जन्माउनुपरेको बताइन् । विभिन्न कारणले बुढ्यौलीमा गर्भवती भएर प्रसव अवस्थामा ज्यान गुमाउने वा ज्यान जोखिममा राखेर बच्चा जन्माउने यी तीन जना महिला बझाङका प्रतिनिधि पात्र मात्र हुन् ।


छोराको आस, परिवार नियोजनका साधनको प्रयोगबारे चेतनाको अभाव र यौन तथा प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न लजाउने स्वभावका कारण बझाङका धेरैजसो महिलाहरूले जोखिम मोलेर बुढ्यौलीमा गर्भधारण गर्ने गरेका छन् ।

प्रकाशित : माघ २७, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?