कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भीमदत्तको नगरसभा स्थगित

भवानी भट्ट

कञ्चनपुर — कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहिष्कारपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको चौथो नगरसभा स्थगित भएको छ । शनिबार सुरु हुने भनिएको नगरसभा बहिष्कारपछि एक साता पछाडि धकेलिएको छ ।

नगरसभामा प्रस्तुत हुने विषयवस्तु समयमै अध्ययनका लागि उपलब्ध नगराएको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले सभा बहिष्कार गरेका हुन् । स्थानीय तह सञ्चाल ऐन २०७४ अनुसार सभा सुरु हुनुभन्दा ४८ घण्टाअगाडि नै विषयवस्तुबारे जनप्रतिनिधिलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।


नगर उपप्रमुख सुशीला चन्द सिंहको नेतृत्वमा वडाध्यक्ष र सदस्यहरूले सभा बहिष्कार गरे । ‘सभामा प्रस्तुत हुने विषयवस्तु नै जानकारी नभएपछि कसरी सहभागी हुने, कुन विषयमा छलफल गर्ने,’ उपप्रमुख सिंहले भनिन्, ‘यसमा जनप्रतिनिधि र कर्मचारी सबैको कमजोरी छ, कार्यपालिकाले निर्देशन दिएर पनि समयमै विषयवस्तु जनप्रतिनिधिले पाएनन् ।’ उनले वडाध्यक्ष र सदस्यहरूले विषयवस्तुकै जानकारी नपाएकाले बहिष्कार गरेको बताइन् ।


नगरसभामा नगरपालिकाले गरेको काम कारबाहीको समीक्षा गरिन्छ । नीतिगत रूपमा परिमार्जन गर्नुपर्ने विषयमा पनि छलफल हुन्छ । चौथो नगरसभामा कुन विषयवस्तुमा छलफल हुने हो भन्ने कुरा जानकारी नभएको जनप्रतिनिधिको गुनासो छ । माघ २१ गते बसेको नगर कार्यपालिकाको बैठकले माघ २७ गते नगरसभा गर्ने निर्णय गरेको थियो ।


माघ २५ गते पनि सभाको तयारीका विषयमा छलफल गर्न कार्यपालिका बैठक बसेको थियो । ‘त्यतिबेलासम्म कुनै पनि कार्यपालिका सदस्यले यस विषयमा कुरा उठाएनन्,’ भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले भने, ‘एक्कासि नगरसभा हुने दिन सभाहलमै प्रवेश नगरी बहिष्कार गरेर फर्किए ।’


प्रवक्ता पाण्डेका अनुसार नगरसभा हुनुभन्दा अघिल्लो दिन नै सबै वडा कार्यालयमा विषयवस्तु पठाइएको थियो । कांग्रेस निकट जनप्रतिनिधिहरूले ४८ घण्टाअघि नै उपलब्ध हुनुपर्नेमा जोड दिएको उनले बताए । स्थानीय तह सञ्चालन ऐनमा विशेष अवस्थामा ८ घण्टा अगाडि उपलब्ध गराए पनि हुने व्यवस्था छ ।


शनिबार स्थगित भएको नगरसभा फाुगन १ गते सारिएको छ । प्रवक्ता पाण्डेयका अनुसार बहिष्कार गरेका जनप्रतिनिधिहरूकै सल्लाहमा फागुन १ गते सारिएको हो । विगतमा पनि जनप्रतिनिधिहरूले नगरसभामा प्रस्तुत हुने विषयवस्तु अध्ययनका लागि निर्धारित समयमा उपलब्ध नगराएको भन्दै विरोध जनाउँदै आएका थिए ।

प्रकाशित : माघ २८, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?